भारत, मध्य प्रदेशस्थित इन्दौरको भागीरथपुरामा दूषित पानी पिउँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। पाइपलाइनमा चुहावट भएर सीवरको पानी मिसिएपछि प्रकोप फैलिएको हो।
तर प्रदेश सरकारको स्वास्थ्य विभागले आधिकारिक रूपमा चार जनाको मृत्यु भएको भनेको छ। भारतीय सञ्चारमाध्यमले १५ जनाको मृत्यु भएको दाबी गरेका छन्।
जानकारी अनुसार दुई हजार ४५६ भन्दा बढी व्यक्ति प्रभावित भएका छन्। करिब २७२ जना अस्पतालमा भर्ना भएका थिए, जसमध्ये धेरैलाई डिस्चार्ज गरिएको छ। तर अझै २०० को हाराहारीमा उपचार भइरहेको छ। ३२ जना सघन उपचार कक्षमा छन्।
इन्दौर उच्च अदालतमा दायर सार्वजनिक हितको याचिकामा सरकारले स्थिति प्रतिवेदन पेस गरेको छ। प्रतिवेदनमा दूषित पानीबाट चार जनाको मृत्यु भएको उल्लेख छ। तर वास्तविक संख्या बढी भएको बताइएको छ। थप सुनुवाइ जनवरी ६ मा हुनेछ।
ल्याब परीक्षणले पानीका नमुनामा इकोलाई, फेकल कोलिफर्म, क्लेबसिएला र कोलेरा कारणी ब्याक्टेरिया पुष्टि भएको छ। चुहावट पुलिस चौकी नजिकको शौचालयमुनि भएको थियो।
यसैबिच, मुख्यमन्त्री मोहन यादवले उच्चस्तरीय बैठक बोलाएका छन्। बैठकमा १६ वटा नगर निगमका मेयर, आयुक्त र कलेक्टरहरूले भर्चुअल बैठकमा भाग लिएका थिए। मुख्यमन्त्री यादवले इन्दौर नगर निगमका आयुक्त दिलीप कुमार यादवलाई हटाएका छन् भने अतिरिक्त आयुक्त रोहित सिसोनियालाई निलम्बन गरेका छन्। दोषीमाथि कडा कारबाही गर्ने आश्वासन दिएका छन्।
मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने बताइएको छ। स्वास्थ्य विभागका टोलीहरूले घर–घरमा सर्वेक्षण गरिरहेका छन्। प्रभावितहरूलाई ट्यांकरबाट सफा पानी उपलब्ध गराइएको छ।
प्रकाशित: १९ पुस २०८२ १०:२४ शनिबार





