सर्लाही, रौतहट र पर्सा जिल्लाको सम्पूर्ण मतगणना सकिएको छ। चार-चार निर्वाचन क्षेत्र रहेको तीन वटै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वर्चस्व देखिएको छ।
सर्लाही, रौतहट र पर्सा जिल्लाका पुराना दिग्गजहरुले सिट जोगाउन नसक्दा रौतहट क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने घरानाले पैतृक विरासतलाई भने जोगाउन सफल भएको देखिएको छ।
सर्लाहीमा रास्वपाको क्लिनस्विप
सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिनस्विप गरेको छ। सर्लाहीमा तीन नयाँ र एक पुरानो अनुहारलाई मतदाताले अनुमोदन गरेका छन्।
सर्लाही १ मा रास्वपाकी उम्मेदवार नितिमा कार्की ४४,१८१ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन्।
त्यस्तै सर्लाही २ मा रास्वपाका रबिन महतो विजयी भएका छन्। उनले लगातार ६ पटक चुनाव जितेका नेकपाका नेता महेन्द्र यादवलाई पराजित गरेका हुन्। रास्वपाका महतोले ४२,५१२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका निकटतम प्रतिद्वन्द्वी यादवले ८ हजार ५२३ मत प्राप्त गरेका हुन्। यादवलाई महतोले ३३ हजार ९८९ मतान्तरले पराजित गरे।
सर्लाही ३ मा रास्वपाका नरेन्द्र साह कलवार ४६,८९० मतसहित विजयी भएका छन्। उनले नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै जित हात पारेका हुन्।
यसैगरी सर्लाही ४ मा रास्वपाका डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै जित निकालेका छन्। डा. सिंहले ३५,६८८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८ सय ३१ मत ल्याए। दुवै चर्चित उम्मेदवारबिच १२ हजार ८ सय ५७ मतको फराकिलो अन्तर कायम भएको छ।
सर्लाहीबाट निर्वाचित चार प्रतिनिधि सभा सदस्यमध्ये डा. सिंह मात्र पुराना अनुहार हुन्। कार्की, महतो र कलवार पहिलोपटक निर्वाचित भएका हुन्।
रौतहटमा सबै नयाँ अनुहार, एउटामा जोगियो विरासत
चार निर्वाचन क्षेत्र रहेको रौतहटबाट सबै नयाँ अनुहारलाई मतदाताले अनुमोदन गरेका छन्। चार क्षेत्रमध्ये एउटामा नेपाली कांग्रेसका उम्मेदवारले पैतृक विरासत जोगाएको छ भने तीन वटामा रास्वपाले वर्चस्व स्थापित गरेको छ ।
रौतहट १ मा रास्वपाका राजेश चौधरी विजयी भएका छन्। चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी अजयकुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्।
एकपटक गौर नगरपालिकाको नगर प्रमुखमा मधेशवादी दलबाट निर्वाचित भएका एमालेका गुप्ता दुईपटक संविधान सभा र दुईपटक प्रतिनिधि सदस्यमा गरी चारपटक पराजित भएका छन्।
चौधरी पहिलोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा चित्त बुझाएका छन् भने नेपाली कांग्रेसबाट पूर्वमन्त्री अनिलकुमार झा ८ हजार ५७४ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।
रौतहट २ मा नेपाली कांग्रेसका डा. मोहम्मद फिर्दोश आलमले जित निकालेका छन्। डा. आलमले २९ हजार ५२५ मत ल्याएर जित निकाल्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका किरण साहले १८ हजार ४४२ मत ल्याएका हुन्।
नेपाल प्रहरीको प्राविधिक इन्स्पेक्टर पदबाट राजीनामा दिएर पिताको विरासत सम्हाल्न राजनीतिमा आएका डा. फिर्दोश पूर्वमन्त्री मोहम्मद आफताब आलमका जेठा छोरा तथा शेख इद्रिसका नाति हुन्।
डा. फिर्दोश आलमले रौतहटको राजनीतिमा आफ्नो पैतृक विरासतलाई मात्र जोगाएका छैनन्, मधेश प्रदेशबाट नेपाली काग्रेसको बिउ जोगाउने प्रतिनिधि पनि बनेका छन्। मधेश प्रदेशबाट डा। आलम नेपाली काँग्रेसबाट निर्वाचित हुने एक मात्र प्रतिनिधि सभा सदस्य बनेका छन्।
रौतहट ३ को मतगणना अन्तिम चरणमा चलिरहँदा रास्वाका धिरज पटेल निकै अगाडि छन्। पटेललाई दश हजारको अन्तरले जसपा नेपालका गोविन्द चौधरीले पछ्याइरहँदा रास्वाका पटेल निर्वाचित हुने निश्चित भइसकेको छ।
रौतहट ४ मा रास्वपाका गणेश पौडेल निर्वाचित भएका छन्। पौडेलले ३६ हजार ८७६ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनालाई २१ हजार ११ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्। तिमल्सिनाले १५ हजार ८६५ मत प्राप्त गरेका छन्।
पर्सामा पनि नयाँ अनुहार
चार निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा रास्वपाले क्लिनस्विप गरेको छ। पर्साबाट निर्वाचित हुने सबै नयाँ अनुहार रहेका छन्।
पर्सा १ बाट हरि पन्त निर्वाचित भएका छन्। यसै गरी पर्सा २ बाट सुशीलकुमार कानु विजयी भएका छन्। कानु नवयुवा जनप्रतिनिधि हुन्।
पर्सा ३ मा रामाकान्तप्रसाद चौरसिया निर्वाचित भएका छन्। नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका पूर्वमन्त्री सुरेन्द्र चौधरीलाई चौरसियाले १३,३१३ मतले पराजित गरेका हुन्।
पर्सा ४ मा रास्वपाका उम्मेदवार टेक बहादुर शाक्य २८००६ मत प्राप्त गरी विजयी बनेका छन्।
सर्लाही, रौतहट र पर्सामा पुराना दलहरुको गढलाई भत्काउँदै रास्वपाले वर्चस्व कायम गरेको छ ।
प्रकाशित: २४ फाल्गुन २०८२ १०:१६ आइतबार





