१८ पुस २०८२ शुक्रबार
image/svg+xml
कला

विदेश

कथा

लोचन रिजाल

 

जापानवाट आज आफ्नो पुरानो मित्र देवेन्द्र खड्का आउने खबरले सुरेन्द्र यादव दङ्ग प¥यो, उसले खुसी हुँदै आफ्नी श्रीमतीलाई, “मेरो स्कुले साथी आज जापानबाट आउँदैछ । ऊ एयरपोर्टबाट सिधै हाम्रोमा आउने अरे ! आज यतै बसेर भोलि विराटनगर जान्छु भन्दै थियो । उसलाई पनि खाना बनाइराख्नु” यति भनेर सुरेन्द्र खुसी हुँदै देवेन्द्रलाई भरै राति सुत्न दिने कोठाको चाँजोपाजो मिलाउने तरखरमा लाग्यो ।

उसबेला देवेन्द्र र सुरेन्द्र दुवै जनाको विराटनगरको बसाइमा उनीहरू छिमेकी नै थिए । स्कुलदेखि कलेज अनि युनिभर्सिटीसम्मको अध्यन अवधिभर उनीहरूले कहिल्लै छुट्टिनु परेको थिएन । पढाइलाई बिट मारेपछि देवेन्द्र खड्का जापान गयो र सुरेन्द्र यादव विराटनगरमै बसेर आफ्नो बुबाले गरिरहेको कारोवारलाई सम्हाल्न थाल्यो । त्यतिबेला सुरेन्द्रको सानो वर्कशप थियो ।

दिनहरु बित्तै गए केशहरू पाक्दै गए, सन्तान बढ्दै गए अनि थालेको कारोवारले पनि अलिअलि साथ दिंदै गयो । तर पनि पर्याप्त थिएन । बढ्दो पारिवारिक आर्थिक भारलाई धान्न धौधौ नै थियो । यसैबिच सुरेन्द्र यादवका मातापिता परलोक गए । सुरेन्द्र बूढो हुँदै गयो । अनि सुरेन्द्रका तीन भाइ छोरा जवान भए । यसबेला तीनैजना छोराले भिन्दाभिन्दै काममा हात हालेको दश वर्षजति भयो । विराटनगरको घर पुरानो भएकोले यादव परिवारले हाल काठमाडौंमा घर बनाएर बस्न थालेको पनि अब त झन्डै पाँच वर्ष हुन आँट्यो ।

काठमाडौंको आकाशमा घरीघरी वोइङहरूको उडान र अवतरणका बेलाका ध्वनिहरूले सुरेन्द्रको कानलाई चनाखो बनाउँथ्यो र ऊ एक नजर आकाशतर्पm दौडाउँथ्यो किनभने आज उसको मित्र आउने दिन ।

साँझ छ बज्यो । पर्खाइको घडीको सुई पनि रोकियो । दुई मित्रको भेटले यादव परिवारै प्रसन्न देखिए । भलाकुसारी चल्न थाल्यो । देवेन्द्रका आँखाहरू घरीघरी त्यस घरको वनाबट र सजावटतर्फ दौडन्थ्यो र लोभिन्थ्यो । उसले मनमनै सोच्यो– नेपालमै बसेर यसले यस्तो राम्रो घर कसरी बनायो होला ? यो मान्छे विदेश पनि गएको छैन । यसका छोराहरू पनि यतै छन् । देवेन्द्रलाई सारै कौतुहल भयो । सोधिहाल्न पनि उसले केही असहज मानिरहेको थियो र पनि मन थाम्न नसकेर कुरा कोट्यायो “मित्र ! तिम्रा छोराहरू के काम गर्छन् ?”

सुरेन्द्रले मधुर स्वरमा भन्यो, “मेरा तीन भाइ छोरा छन् । विदेश जानलाई तीन जनामा कसैको पनि भिसा लागेन र उनीहरू आफ्नै घरको मानो खाएर यतै जेनतेन काम गर्दैछन् । जेठो छोरा चिया बेच्दछ र माहिलो छोराको एउटा रक्सीको पसल छ र कान्छो सिगरेट बेच्छ अनि मचाहिं कहिलेकाहीँ उनीहरूलाई नै सघाउँछु । विराटनगरमा भएको पुरानो वर्कशपको कारोवारलाई हटाइदिएको छु । अब त बूढो पनि भइयो । धेरै खट्न पनि सक्दिन । बुढेसकालमा अनेक रोगहरूले पनि हेप्दोरहेछ ।

मित्रको कुरा सुनेर देवेन्द्र भ्mन चकित भयो । नालीबेली सोध्न पनि नमिल्ने सके रिसाउने पो हो कि ? तर रहस्य पनि जान्ने इच्छा भैरहेको थियो उसलाई । देवेन्द्रका मनमा फेरि कुराहरू ओइरिन थाले, “नाथे चिया, सिगरेट अनि रक्सी बेचेर यत्रो आलिसान भवन बनाउन कसरी सम्भव होला र ? सुरेन्द्रले पक्कै पनि कुरा लुकाइरहेको छ । भन्न चाहेन ?” देवेन्द्र चूपचाप बस्यो । आपूm जापानमा पच्चीस वर्ष बसेर पनि खासै कमाउन नसकेको पीडा सोच्न थाल्यो ।

बेलुकाको खाना खान बस्दा दुई मित्र अनि सुरेन्द्रका छोराहरू पनि सँगै बसेर खाना खान थाले । खाँदै जाँदा देवेन्द्रले उताको आफ्नो जीवनशैलीलाई स्मरण ग¥यो । सन्तानको नाममा रहेको एउटा छोराले पनि एक जापानी केटीसँग कोर्ट म्यारेज गरेर अन्तै बस्न थालेको घटना आँखामा नाच्न थाल्यो । बाबुछोराको भेट सालमा एकचोटि “फादर्सडे”मा मात्र हुने गर्दछ । कहिलेकाहीं त फोन सम्पर्कले नै सन्तोष मान्नुपर्ने अवस्था पर्छ । यहाँको जस्तो उता बाबुछोरा सँगै बसेर रमाइलो मानी खाना खान पाउनु भन्ने कुरा त दुर्लभ नै रह्यो । अरू त के श्रीमतीसँंग पनि सँगै बसेर खाना खाँदै पारिवारिक सुख पाउने सम्भव रहेन । सधंै काम अनि एकाकी जीवन । यता भने सुरेन्द्रकी श्रीमती र बुहारीहरू पनि हँसिलो मुद्रामा भान्सामा उपस्थित भएको देवेन्द्रले देख्यो । कसलाई के थपिदिनुपर्छ भनेर उनीहरू निगरानीमा थिए । यताको संंस्कार देखेर देवेन्द्रलाई आफ्नो जीवन निरस रहेछ भन्ने लाग्यो ।

रातको दश बज्यो । देवेन्द्रलाई सुत्ने कोठामा पु¥याएर सुरेन्द्र आफ्नो कोठामा गयो । एकैछिनपछि सुरेन्द्रका दुई भाइ छोराले “गुडनाइट अंकल” भनेर विदा लिए । कान्छो छोराले चाहिं एउटा जगमा पानी ल्याएर टेवुलमा राख्दै, “अंकल ! केही प¥यो भने मलाई बोलाउनु ल ! भन्दै जानै लागेको बेला देवेन्द्रले उसलाई एकछिन रोकेर सोध्यो, बाबु ! तिमी के काम गर्छौ ?

“अङ्कल ! म सिगरेटको कारोवार गर्छु । जनकपुर चुरोट कारखानाबाट उत्पादन चुरोट वागमती अंचलदेखि पूर्व सबैतिरका जिल्लाहरूमा म नै वितरण गर्छु, यी फेतहरूमा मेरो डिलरसिप छ । माहिलो दाइले पनि बियर र रक्सी वितरण गर्छ । उसलाई भ्याई नभ्याई छ । जेठो दाइको पनि चियापत्तीको ठूलो कारोवार छ । बिहान अफिस गएपछि बेलुकासम्म उसलाई खाने र बोल्ने फुर्सद हुँदैन । बुबाले उसलाई खान खान पालो दिनुहुन्छ र निकैबेर त्यहीं बसेर दाइलाई सघाइदिनुहुन्छ । यस्तै छ अङ्कल हाम्रो गतिविधि । भगवान्का कृपाले जेनतेन गुजारा चलाइरहेका छौँ । विदेश जाने सपना पनि अधुरै रह्यो ।

“भगवान् जे गर्छन् भलो नै गर्छन् । विदेश नगएकै वेश भयो । यस्तो राम्रो स्वर्गझैंको पारिवारिक सुख छोडेर किन जानुप¥यो विदेश । नगएकै ठिक छ । बरु पन्द्र बीस दिनका लागि घुम्न जानु भनेको भिन्दै कुरा हो । म त विदेशीमोहभित्रको चक्करमा फसिहालें । अब उम्किनै गाह्रो छ । उता काम गरेर खान त राम्रोसँग पाइन्छ तर पारिवारिक सुखलाई भने तिलाञ्जली दिनुपर्छ । त्यस्तो जिन्दगी के जिन्दगी  यति भनेर देवेन्द्र गम्भीर भयो । उसको आँखाबाट चुहिन आँटेको आँसुलाई रोक्न ऊ असफल प्रयास गर्दै थियो ।

भोलिपल्ट बिहान सबेरै कान्छी बुहारीले चिया र केही बिस्कुट टेबुलका राखिदिएर “अंकल चिया ल्याएकी छु” यति भनेर ऊ भान्सा कोठातर्पm लागी । देवेन्द्रले जापानमा आफ्नी श्रीमती या बुहारीका हातबाट चिया पकाएर नल्याएको कति वर्ष भयो होला भनेर उसले सम्झन खोज्यो । अहँ भेउ पाएन । सायद धेरै वर्ष भयो होला ।

बिहान नौ पैतालीसको फ्लाइटबाट देवेन्द्र विराटनगर पुग्यो । घर पुगेर नब्बे कटिसकेका आफ्ना वृद्घ मातापितालाई ढोगेर घरको अवस्थालाई राम्रोसँग अवलोकन ग¥यो । पुरानो अवस्थाको घर अब त टालटुल गर्न पनि सम्भव नहोलाजस्तो उसले बुभ्mयो । साच्चै घर जीर्ण थियो । उसले देख्यो बाबुआमाको हालत र घरको हालत दुवै उस्तै रहेछ ।

आजभोलि गर्दागर्दै पन्द्र दिन बित्यो । देवेन्द्रको फर्किने बेला भयो । बाबुआमालाई छोरो अहिले नगइदिवोस् जस्तो लाग्नु स्वाभाविकै हो । उनीहरूको प्राणले अब त छोराको काखको आशा गरिरहेको हो कि भन्ने लाग्दथ्यो । बाबुआमाको मनले हरेस खाइसकेको थियो । किनभने तीनचार दिनदेखि आमाले “अहिले यति चाँडै नजान बाबु ! अब हाम्रो केही भरोसा छैन’ भनेर धेरैचोटि सम्झाउँदै थिइन् ।

देवेन्द्रको फोनमा घण्टी बज्यो । उसले नम्बर हे¥यो । जापानबाट उसकी श्रीमतीको रहेछ । “मलाई सञ्चो भएन । काममा पनि जान सकेकी छैन । छोराबुहारीलाई दुईचार दिनका लागि यतै आइद्याओन भनेर मैले कतिचोटि बोलाएँ उनीहरूले हामी भ्याउँदैनौँ डयाडलाई चाँडै फर्किन भन्नु भन्छन् । के गर्नु मैले त पकाएर खानपनि नसक्ने भएकी छु । तिमी चाडै आउन ।” श्रीमतीको कुरा सुनेर देवेन्द्रलाई आपूmले टेकेको जमीन हल्लिएभैंm लाग्यो । अब के गर्नु ? बाबुआमालाई हेर्छ मन कटक्क खान्छ । उता श्रीमतीको कुरा सम्झन्छ जान हतार लाग्छ ।

देवेन्द्रको मनमा उग्र तुफान चलिरहेको थियो । छोराको चेहरा चिन्ताले प्रभावित भएको उसका मातापिताले तुरुन्तै अनुमान लगाइहाले । आखिर छोराछोरीको भित्री पीडा बुझ्ने आमाबाबुबाहेक अरू को हुन्छ र ! छोराको मानसिक दशा देखेर बाबुआमाले आफ्नो मनलाई दह्रो बनाउन आफैं बाध्य भए ।आखिर, “डल्लोको भर टपरीलाई र टपरीलाई डल्लोको भर” भनेझैं जसो त होला हामी दुई छँदै छौँ भनेर मनमा गाँठो पार्दै आमाचाहिंले घरको मूलढोकामा साइतका लागि दुईवटा घडामा पानी राखेर छोराको निधारमा टीका लगाइदिइन् । त्यसबेला वृद्घ मातापिताका आँखाहरूबाट बलिन्द्रधारा आँसु चुहिरहेको थियो ।  

प्रकाशित: २९ मंसिर २०७७ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App