विष्णु भण्डारी आचार्य
त्यत्रो नौ जनाको परिवारले खाएको बिहानबेलुकाको जुठाभाँडा,परिवारैका लुगा धुँदा,र पूरै घरको सरसफाइ गर्दा झण्डै चार घण्टा लाग्ने गर्थ्यो ।
ज्याला थोर भए पनि के गर्ने,यो लकडाउनमा कस्ले काम लाउला र हातमुख जोर्नु, घरमा छोराछोरी भोकै हुन्छन्। दुई पैसा कसैबाट सहयोग पाइएला छैन।
यो महामारीमा काम पनि कसैले दिदैनन्। दैवी विपत्तिको मार पनि हामी गरीव दुखीमाथि नै बज्रिन पुग्छ।लकडाउन थिएन त एउटा छोडी अर्को काम खोजेर गरिन्थ्यो।
– कोरोना त सारेर आइनस् माइली भन्दै साहुसाहुनीले अलग्गै रहेर काम गर्न आदेश दिन्थे । यसरी अछुतजस्तो व्यवहार गर्दा नमिठो लाग्थ्यो माइलीलाई।
एकदिन त साहुजीले मुख फोरेरै भने– हेर है माइली, तँ अब काम गर्न आउने भए कोरोना चेकको रिपोर्ट लिएर आउनु । तँ कति ठाउँ जान्छेस् काम गर्न ! काँकाँ पुग्छेस् , सारेर आउन नि बेर लाउँदिनस् । होइन भने यो कोरोना साम्य नहुन्जेल काममा नआए नि हुन्छ ।
– खुत्रुक्कै पारे, अब के गर्ने होला ! काँबाट लेराउने कोरोना रिपोर्ट ! कस्ले चेक गर्छ ! केही थाहै नभएकी मलाई ।
काम सकेर गएँ हजुर म घर भन्दै अँध्यारो मुख लाएर घरतिर लागी माइली ।
साउनीले फेरि दोहोरयाएर भनिन् – सम्झिस होला नि माइली भोलि आउँदा के लिएर आउने भनेर ! जसरी पनि लिएर आउनू नि ।
सम्झेकी छु हजुर , मेरो पनि हजुरहरूको जस्तै परिवार छ । मलाई नि हजुरहरूलाई जस्तै आफ्ना छोराछोरी र परिवारको माया लाग्छ । यो रोगले गरीव– धनी केही छुट्याउदैन भन्छन् । हजुरहरूको पनि रिपोर्ट चाहिन्छ है मलाई, कतै मलाई पो सर्ला कि !
प्रकाशित: २७ मंसिर २०७७ ०६:५२ शनिबार