९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

बाबाको डायरीमा आश्मा

बालएकाङ्की

 ललिता ‘दोषी’  

 पात्रहरू

         आश्मा अर्याल –१२ वर्ष

          सुयोग कार्की –१३ वर्ष

           प्रसन्न  श्रेष्ठ –१४ वर्ष

       उत्साह राना –१२ वर्ष

       गरिमा लामा –१२ वर्ष  

       सक्षम थापा –१२ वर्ष  

       रवि भट्ट  – ४३ वर्ष  आदि

       स्थान – स्कुल

       समय – ९.४५ बजे बिहान

(प्रार्थना गानपछि नमुना मछिन्द्रको चौर खालीजस्तै थियो । विद्यार्थीहरू प्रायः कक्षाकोठामा थिए । सात कक्षामा पढ्ने आश्मालार्ई डोरसात कक्षाकै सक्षम अलि अँध्यारो मुख लगाएर कक्षाकोठाभित्र पसेको सक्षमलाई देखेर सबै अचम्म पर्दै  हेरेको हे¥यै भए ।)

प्रसन्न–  (बेन्चबाट जुरुक्क उठेर जीउ तन्काउँदै) लौ न, म आज सपना त देखिरहेको छैन ? के उल्का हो यो ?

सुयोग –   (ठूलो स्वरमा) पश्चिमबाट घाम झुल्केपछि कसलाई सपनाझैँ नलाग्गा र भन्या ?  

उत्साह  –  (बेन्चबाट उठेर गएर सक्षमको हातबाट आश्माको हात छुटाउँदै,  साथीहरूलाई हेर्दै उस्तै ठूलो स्वरमा)  अब घाम उदाएर पो के नै गर्नु छ र ? (सक्षमलाई हेरेर झोक्किँदै) आश्मासँग टाढा नै बस् मूर्ख, तँलाई  स्कुलबाट नै निकाल्ने कुरा भइरहेको छ । यही आश्माले बचाउँदै आएकीले अहिलेसम्म अडेको छस्, बुझिस् ? (हातको हाउभाउ पनि देखाउँदै ।)  हिजो त म यो झारे स्कुलमा पढ्दै पढ्दिन भन्थिस् त ! आज फेरि केको नाटक हो हँ यो तेरो ? आश्मा –   (नम्र स्वरमा) साथीहरू, भैगो चुप लाग । सुयोगलाई केही नभन । उनले म तिमीलाई डो¥याउँछु भन्दा मलाई पनि कतै सपनामा छु कि भनेजस्तै नै लागेको थियो सुरुमा तर म आज साह्रै खुसी छु । सुयोग पनि अब ज्ञानी भएर राम्ररी पढ्छन् ।  सप्रिन चाहनेलाई मौका दिनुपर्छ बुझ्यौ ? 

गरिमा  –  (ठूलो स्वरमा बेन्चबाटै) यो सप्रिनु भनेको चाहिँ बगेको खोला फर्किनुजस्तै हो ।  

रवि सर –  (कक्षाभित्र पस्दै) लल सबै आआफ्नो बेन्चमा बस त । हैन कहाँ बग्यो खोला ? म  अलिकति ढिलो हुँदा यसरी हल्ला गरेर बस्ने हो त ? ल छिटो सबैले आआफ्नो गृहकार्य झिकेर अगाडि राख ।

प्रसन्न  –  (रवि सरको कुरा सकिनेबित्तिकै ) सर आज त शुक्रबार । हामीले कक्षामा रमाइलो गर्ने दिन होइन र आज त ?  

रवि सर  – (पहिलो बेन्चको छेवैमा बसेको सक्षमलाई हेरेर थोरै मुस्कुराउँदै) ओहो ! सक्षम पनि आज पहिलो बेन्चमा आश्मासँग बसेको  ?

सुयोग   – हो भन्या सर ! अस्ति न आश्मालाई जानीजानी धकेल्दा झन्डै आश्माको हात भाँच्चिएको थियो बाबै ! यो आश्मा त देवी नै हुन र पो... । आश्माको ठाउँमा म भएको भए मैले जान्या थे यसलाई  तर के गर्नु ? मैले यो मूर्खलाई पिट्न लाग्दा उल्टै मेरो हात समातेर सक्षमले जानेर लडाएको होइन भन्दै पिट्नै दिइनन् । यो  साप हो भन्ने थाहा पाउँदापाउँदै पनि आश्मा दूध पिलाउँछिन् सर यसलाई ।

रवि सर –  (सक्षमतिर हेरेर) तिमी किन यस्तो बदमास भएको भन त सक्षम ?  हेर त,  सबै साथीहरू तिम्रो विपक्षमा छन् ।  

सक्षम  –  (रुन्चे स्वरमा) हो म साप नै त थिएँ । म यिनीसँग भेट नभएको भए साँच्चै साप नै हुन्थ्यो तर  अब... ।

आश्मा –   (सक्षमको हात मुसार्दै, सरको आवाज आएतिर हेरेर नम्र स्वरमा) सर ! साथीहरू जति सम्झाए पनि बुझ्दैनन् । तर सक्षम भने पङ्ख हालेर माथि उड्न चाहन्छ न् । भने उनलाई उड्न पो दिनुपर्छ । हामी सबैले उसको  पङ्ख काटिदियौँ भने त उनी खै कसरी पो उड्लान् र ? 

समीक्षा  –  (उठेर  ठूलो स्वरमा ) आश्मा तिमी कसरी यस्तो भन्न सक्छ्यौ भन त ? अस्तिन तिम्रो फ्रकमा चुइगम टाँस्ने, तिमीलाई पुच्छर हाल्ने अरू कोही नभएर यही मूर्ख हो । आफू पनि पढ्दैन । तिम्रो सबैले प्रशंसा गर्दा सधैँ डाहले भुतुक्कै हुन्छ । यस्तामाथि पनि अझै दया गछ्यौ  ? 

रवि सर  –  (सामान्यभन्दा अलि चर्को आवाजमा सम्झाउने पारामा) हेर विद्यार्थीहरू सक्षम  साँच्चि नै असल बन्न चाहेको पनि हुन सक्छ । पहिला उनको कुरा सुन्नुपर्छ हामीले । (सक्षमतिर हेरेर फेरि) ल सक्षम, अब तिमीले आफू सुध्रिन्छु भनेर सबै साथीहरूसँग माफी माग्नुपरयो ।

सक्षम  –  ( सुँक्कसुँक्क गर्दै उठेर अगाडि गएर) धन्यवाद सर । हो म आज बोल्नु नै पर्छ नत्र मेरो बाबाको सपना चकनाचुर हुन्छ । अनि  मलाई पनि यो विद्यालयमा पढ्न झनै  गाह्रो हुन सक्छ । जब म विद्यालय आएको पहिलो दिन नै बाबाले ऊ तिनी आश्मा हुन् । उनले बाहिरी आँखा नदेखे पनि उनको मनको आँखा विशाल छ भन्नुभयो । त्यसोभन्दा मलाई खै किन हो किन साह्रै रिस उठेको थियो । झन् यिनले बेलाबेलामा साथी तिमीले पढाइमा ध्यान देऊभन्दा झनै रिस उठ्थ्यो । स्कुलभरि सधैँ यिनको मात्र प्रशंसा आश्मा यस्तो आश्मा उस्तो अरू कुरा नै छैन । झन् नरेश सरले तिमी आश्माबाट केही सिक नत्र भविष्य अन्धकार छ भन्दा मेरो  त दिमाग नै घुम्यो । म रिसाउँदै घर पुगेर तन्ना तानेर ल्याङफ्याङ पार्दा डायरीबाट कार्पेटभरि बाबाले आश्मालाई अँगालो मार्नुभएको अनि पुरस्कार दिनुभएको चार छ फोटाहरू छरिएको देख्दा ममा उत्सुकता जाग्यो । (यति भनेर सक्षम चुप लाग्छन् ।)  

रवि सर –   (अगाडि उभिरहेको सक्षमलाई  ढाडस दिँदै) अनि ? तिमीले डायरी पढ्यौ त ?  

सक्षम   – (सानो स्वरमा ) पढेँ नि सर ! आज मलाई मेरो बाबाले यहाँ ल्याउनुको रहस्य भन्छु । तिमीहरूलाई थाहा नै छ । ‘सङ्गत गुनाको फल शीर्षकमा निमावि तहको देशव्यापी वकृत्वकला प्रतियोगिता भएको थियो । त्यो प्रतियोगितामा आश्माले भाग लिएकी रहिछिन् । निर्णायकहरूमा मेरो बाबाको पनि प्रमुख भूमिका रहेछ । जब आश्माले बोल्न थालिछन्, आश्माको बेजोड प्रस्तुति सुनेर उपस्थित प्रायः सबैका आँखाहरूजस्तै मेरो बाबाका आँखाहरू पनि भरिएछन् । उहाँले दुईतीनपल्ट आँखा रुमालले समेत पुछ्नुभएछ । त्यो दिन  पनि उनी धेरै नम्बरले अरूभन्दा अगाडि आइछन् । आश्मालाई लिएर कार्यक्रममा जानुभएको नरेश सरले उनी हाम्री विद्यार्थी हुन् भन्दा मेरो बुबाले आश्मालाई गम्लङ अंगालो हालेर स्याबास् भन्नुभएको रहेछ । त्रिचन्द्र कलेजको प्रोफेसर र साहित्यकार मेरो बाबाको म एक्लो छोरो हुँ । विवाह गरेको धेरै वर्षसम्म बच्चा नभएर बल्लबल्ल बच्चा हुँदा मेरो बाबाआमा कति खुसी हुनुभएको रहेछ । तर म...। (सक्षम फेरि रुन थाल्छन् ।)  

रवि  –  (मुसुक्क हाँस्दै) तिमीले यति भनेपछि म आज रहस्यको ढोका खोल्छु ।

  खास कुरा के भने सक्षम अर्को स्कुलमा दुई विषयमा मात्र पास भएका रहेछन् । एउटा कुहिएको आलुले बोरा नै बिगार्छ भनेर स्कुलबाट नै निकाल्ने कुरा भएको रहेछ । जब आश्माले बोल्दा धन भनेको खाक हो, सङ्गत भनेको लाख हो भन्ने शब्दले उहाँलाई साह्रै छोएछ । मलाई उहाँले आश्माको सङ्गत पाए भने उनी सप्रिएलान उनकै कक्षामा राखिदिनु भन्नुभएको थियो । नभन्दै आश्माले ढुङ्गालाई देवता बनाइन् । धन्य आश्मा तिमीलाई !  

आश्मा –  (मायालु स्वरमा) हवस् सर ! मलाई त केही गरे जस्तो लाग्थेन  । बरु डायरीका अरू कुराहरू सुन्न मन लाग्यो ।  

सक्षम –  ( रुन्चे स्वरमा)  बाबाले लेख्नुभएको रहेछ यदि आश्माजस्ती छोरी भएकी भए  म कति खुसी हुन्थेँ होला । म अरूलाई  उज्यालो बाँड्दै हिँड्छु । मेरै घर भने अँध्यारो छ । सक्षम  सप्रिएन भने हामी बाँच्नु बेकार छ । यस्तैयस्तै लेखिएको रहेछ । आश्माले गर्दा नै म यहाँ आएको रहेछु भन्ने  बुझेँ । मेरो बाबाको  डायरीभरि प्रायः आश्माकै नाम रहेको पनि थाहा पाएँ । अब म पनि आश्माजस्तै बन्छु भन्दा बाबा धेरै खुसी हुनुभयो । मैले उहाँको ओठमा मीठो हाँसो देखेँ । आश्मा, तिमीलाई धेरैधेरै धन्यवाद !

रवि  –  (सबै विद्यार्थीहरूले एकोहोरो सक्षमलाई हेरे । रवि सरले आश्मा र सक्षम दुवैलाई एउटाएउटा कलम उपहार दिँदै ) स्याबास्  आश्मा ! तिमीले उनी यहाँ किन आए भन्ने नबुझी उनलाई नयाँ जीवन दियौ । हाम्रो मान राख्यौ । तिमीहरू सबै हाम्रो देशको गौरव बन्नू ।  

सबै विद्याथी –  (हाँसेर एकै स्वरमा) आश्मा सुयोज जिन्दावाद ! हो जिन्दावाद !  

                               (यत्तिकैमा शुक्रबारको पहिलो कक्षा सकिन्छ ।)

(नोट  –  यो एकाङ्की  प्रमुख पात्र आश्मा अर्याल साहित्यकार,सङ्गीत प्रशिक्षक, समाजसेवी र पत्रकार समेत हुनुहुन्छ । लेखिका ललिता दोषी’ ले यो उहाँबाट प्ररित भएर प्रस्तुत गर्नुभएको बालएकाङ्की हो । )

प्रकाशित: २२ मंसिर २०७७ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App