coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साहिर जसले कहीँ कसैबाट प्रेम पाएनन्

भारतका तीन कवि सदा स्मरणमा रहे– सुमित्रानन्दन पन्त, जयशंकर प्रसाद र सूर्यकान्त त्रिपाठी निराला। तीनै कविको नाम विभिन्न पक्षसँग जोडिँदै आएका छन्।

संयोगले यी तीनको नाम नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटासित एक प्रसंगमा जोडियो। देवकोटा र यी त्रिदेवको अन्तरसाक्ष्यलाई पं. राहुल सांकृत्यायनले बारम्बार उल्लेख गरेका छन्।

पन्त, प्रसाद र निरालाको समयमै मैथिलीशरण गुप्तको आगमन भयो, जसलाई भारत सरकारले पछि राष्ट्रकवि पदवी दिएर खुम्च्यायो, यही राष्ट्रकवि पदवी गोपाल सिंह नेपालीलाई पनि दिइयो।

गुप्त र नेपालीले हिन्दी साहित्यमा उधुम मच्चाइरहेका बेला अर्का कवि, शायर देखिए– साहिर लुधियानवी।

पन्जाबको लुधियानामा जन्मेका साहिरको लेखन अघि बढिरहेका बेला ‘ताजमहल’ कविता प्रकाशनमा आयो, सन् १९४३ पछि।

आगराको ताजमहल कवितामा चर्चाभन्दा परको विषय रहेन। साहिरको ताजमहलबारे हाम्रा देवकोटाले पनि सुने। कविता पढेपछि महाकवि देवकोटा धेरै प्रभावित भए।

त्यसपछि देवकोटा निबन्धकार शंकर लामिछाने, कवि माधव घिमिरे र श्रीप्रकाश घिमिरेसहित ताजमहल हेर्न पुगे, इन्द्रेनी साहित्य प्रतिष्ठानमै हुँदा।

साहिरको ‘ताजमहल’ यसरी सुरु हुन्थ्यो–

ताज मेरे लिए एक मजहरे उल्फत ही सही,

तुझको इस वादी ए रंगी से अकिदत ही सही।

ताजमहल कविता त्यो समय यति लोकप्रिय थियो कि कविता पढेपछि ताजमहल हेर्न नजाने कोही हुँदैनथे, जो जान्थे अति भावुक भएर फर्कन्थे। वा, यसो भनौँ ताजमहल हेर्न जाँदा एकपटक फेरि मान्छेहरू साहिरको ताजमहल कविता सम्झिन पुग्छन्।

२७ लहरको यो कवितामा अन्तिम पंक्तिमा साहिरले आफ्नी चौथो पत्नीको निधनमा ताजमहल बनाउने राजा (शहन्शाह) लाई हल्का कलमी प्रहार गरेका छन्।

एक शहन्शाह ने दौलत का सहारा लेकर,

हम गरीबों की मोहब्बत का उडाया है मजाक।

अर्थात् एक राजाले धनको सहारा लिएर हामी गरिबहरूको प्रेमलाई मजाक उडाए।

यो कविता छापिएको समय भारत स्वतन्त्रताको आवाजमा जुर्मुराउँदै थियो, मुगल साम्राज्यको युगपछि भारत त्यो बेला ब्रिटिस शासकको अधीनमा थियो।

भनिन्छ, हाज्रासित छुटेका बेला भर्खर साहिरको अमृतासित प्रेम सुरु मात्र भएको थियो। यसपछि उनले लेखेको नज्म चर्चामा आयो, जुन पछि चलचित्र गुमराह (१९६३) मा प्रयोग गरिएको थियो– ‘चलो एक बार फिर से अजनबी बन जाएँ हम दोनों।’

कवितामा देखिएको विद्रोह र विद्रोहको आगोले सबैलाई पोल्थ्यो, तर त्योभन्दा बढी यो कविताको जोडले लाहोरकी पन्जाबी मूलकी कवि अमृता प्रीतमलाई छोयो, अमृता यो कविता पढेपछि साहिरसित अनाम प्रेम गर्न थालिन्।

साहिरको ताजमहल कविता फ्रेमसहित अमृता प्रीतमको घरको भित्तामा टाँगिएको थियो भन्ने उनका निकटवर्ती मित्रले उल्लेख गरेका छन्। सन् १९४७ मा जब भारत–पाकिस्तान विभाजनको संघारमा पुग्यो, अमृता पाकिस्तान छाडेर भारत आइन्।

भनिन्छ, अमृता आफ्नो पतिको घर छाडेर भारत आउँदा काखमा उनको दूधेबालक छोरा र छातीमा साहिरको कविताको फ्रेम थियो। सन् १९४३ देखि १९४५ सम्मको साहिरको सक्रिय साहित्यिक जीवनमा लेखिएको यो कविता पछि सन् १९६१ मा बनेको फिल्म ‘ताजमहल’मा पनि प्रयोग गरियो। मान्छेले कविता सुन्नका निम्ति ताजमहल फिल्म हेर्न गए, ताजमहल नदेखेकाले पनि यो फिल्म  हेरे।

ताजमहल फिल्मको यो गीतबाट साहिरले पहिलोपटक सर्वश्रेष्ठ गीतकारको रूपमा फिल्मफेयर पुरस्कार पाए। ताजमहल कविताले गर्दा उनले अमृताको अपार प्रेम र श्रद्धा पाए, तर अमृताले ताजमहल कविता पढेपछि कहिल्यै आगरामा गएर ताजमहल हेर्ने मन गरिनन्। साहिरसितको असफल प्रेमपछि उनको चित्रकार इमरोजसित विवाह भयो। इमरोजसँग विवाह गरेपछि पनि उनी ताजमहल हेर्न कहिल्यै गइनन्।

साहिर र अमृता

साहिर र अमृताको प्रेमकथा विभिन्न कथा र शीर्षकमा भारतमा लेखिन्छ, पढिन्छ र भनिन्छ। भारतमा मात्र होइन नेपाल, बांग्लादेश र पाकिस्तानमा समेत चर्चाको विषय बन्छ, यी दुईको प्रेमकथा।

साहिरसितको प्रेमका बारेमा अमृता प्रीतमले आफ्नो आत्मकथा ‘रसीदी टिकट’मा खुलेर लेखेकी छिन्, ‘यही प्रेम प्रसंगले यो आत्मकथा उनकै शब्दमा बेबाक मानिन्छ।’ बेबाकको अर्थ हुन्छ विना रोकटोकको स्वच्छन्द धाराको।

आजकाल बेबाकलाई मुम्बईया भाषामा बिन्दास भन्ने गरिन्छ। अमृताको आत्मकथा ‘रसीदी टिकट’ आजको अर्थमा एउटा बिन्दास आत्मकथा हो। यस आत्मकथामा तीन–चार प्रसंगले अमृताको जीवनको इमानदारी र आफ्नोपन झल्काउँछ।

अमृता साहिरसित प्रेममा हुँदा विवाहित थिइन्। पहिलो असफल विवाहपछि दुई सन्तान च्यापेर उनी संघर्षमा उत्रिन्, अल इन्डिया रेडियो अनि अन्य साहित्यिक संघ–संस्थामा। साहिर त्यतिबेला मुम्बईको फिल्म उद्योगमा आफ्नो नाउँ लेख्ने ठाउँ खोजिरहेका थिए।

भारत–पाकिस्तान विभाजनपछि महिला वेशभूषामा पाकिस्तानबाट भागेर भारत आएका साहिरले सुरुमा लगभग एक वर्ष दिल्लीमै बसेर उर्दू पत्रिका ‘शाहराह’ र ‘प्रीतलडी’को सम्पादन गरे।

वर्ष दिन लामो आर्थिक संकटपछि उनी हुत्तिएर मुम्बई पुग्छन्, जहाँ साहित्यकार कृष्ण चन्दर, राजेन्दरसिंह बेदी, मजरुह सुल्तानपुरी, शैलेन्द्र, मजाज लखनवी, राजेन्द्र कृष्ण, मेंहदी अलि खान, अलि सरदार जाफरी, शकील बदायूंनी पहिल्यैदेखि स्तम्भ भएर बसेका थिए।

साहिर दिल्लीबाट घना अपेक्षाका साथ गीतकार प्रेम धवनको घर पुग्छन्।

मुम्बईमा प्रेमधवन र कृष्ण चन्दरको सहयोगले सन् १९५१ मा ‘नौजवान’मा उनले बे्रक पाए र पहिलो गीत लेखे, ‘ठण्डी हवाएँ लहरा के आएं...।’

त्यसपछि फिल्म उद्योगमा गीत लेखनमा साहिरको शालीन युग सुरु हुन्छ।

साहिरले त्यसपछि एसडी बर्मन, रवि, एन दत्ता, चन्द्रगुप्त, खड्ढयाम एकसे एक संगीतकारसित काम गरे। उनको नाम एकसे एक फिल्मसित जोडियो।

प्रसिद्ध गीतकार जाँ निसार अख्तरले भनेका छन्, ‘साहिरले फिल्ममा यस्तो गीत दिए, जो सत्तामुखी र ढोंगी समाजप्रति आक्रमक थियो। त्यो एउटा ठूलो कदम थियो, जुन साहिरले हिम्मत (मनको आँट) ले उठाए। उनी हाम्रा फिल्म जगत्का अर्का खालका गीतकार जस्तो गन्हाउने तालमा डुबेर बसेनन्।’

अख्तरले भनेजस्तै साहिरले बलिउडमा जम्मा २० वर्षको करिअरमा एक सय १३ वटा फिल्ममा गीत लेखे, तर एक थोपा उनले सम्झौता गरेनन्। भनिन्छ, फिल्म जगत्मा स्रष्टाको हैसियतले अझै उच्चाकर्षण बनाउनमा उनको योगदान अहं छ।

बलिउड फिल्म उद्योगमा एउटा हिरोले पाउने भन्दा ठूलो सफलता पाएपछि साहिरमा बोहेनियजम् सुरु भयो भन्ने उनका समकालीनको टिप्पणी छ।

बोहेमियनिजम् एउटा रोग हो। अरुबाट टाढा रहने र आफ्ना सुपरिचितका घेरामा मात्र रहने यो रोग १९औँ शताब्दीमा चित्रकारबाट सुरु भएको मानिन्छ। यस रोगका बारे साहित्यकार निर्मल बर्माले लेखेका छन्, ‘१४औँ शताब्दीदेखि लिएर जब बोहेमियामा पहिलोपटक यान हुसले चर्चका अन्धविश्वासीहरू र अमानवीय क्रियाकलापका विरुद्ध आवाज उठाएका थिए, हाम्रो आफ्नो शताब्दीसम्म आएर जुलियस फुचिकले फाँसीको तख्ताबाट फासिजम्को पाशविक, बर्बर दर्शनलाई अस्वीकृत गर्ने टेस्टामेन्ट प्रस्तुत गरे। यो ६ सय वर्षमा चेक साहित्यले एउटा लामो गन्तव्य तय ग¥यो।’

चेक साहित्यमा आएको यो उतारचढावले मानवीय जीवनमा वैविध्य र बहुमुखी कम्प्लेक्सलाई पछि बोहेमिनियजम् क्यारेक्टर भनियो। यो कम्प्लेक्स कवि साहिरमा पनि देखियो। सायद यही कारण उनी चाहेर पनि आफ्नी प्रेमिकासित नजिक हुन सकेनन्।

अमृताले उनलाई भरपूर माया गरिन्, लेखिन् पनि आफ्नो कथा, कविता र जीवनकथामा। तर साहिर उनको हुन सकेनन्। साहिरसित उनको एकेक प्रसंग चर्चामा रहे, एकेक भेट यादगार रहे।

यति हुँदाहुँदै पनि अमृता र साहिरको प्रेम कहिल्यै टुंगिएन। यद्यपि साहिरको जीवनमा गायिका सुधा मल्होत्रा आइसकेपछि अमृताले इमरोजसँग अचानक विवाह गरिन्। यसपछि पनि साहिर र अमृताको चर्चा चलिरह्यो।

यी दुईका बारेमा एउटै शीर्षकमा अनेक कथा उपकथा लेखिए तर अमृता र साहिरको प्रेम सेलाएन। प्रेम यस्तो चिज रहेछ, यसको सुरुवातको दिन निश्चित रहेछ, तर अन्त्यको सीमा कसैले नदेख्दो रहेछ।

भनिन्छ, साहिरको जीवनमा अमृताबाहेक प्रेमिकाका रूपमा अन्य तीन महिला आए– महिन्दर चौधरी, ईश्वर कौर र सुधा मल्होत्रा।

मुरलीप्रसाद मनोहरि सिंहले लेखेका छन्, ‘साहिरको जीवनमा चार महिला आए– महिन्दर चौधरी, ईश्वर कौर, अमृता प्रीतम र सुधा मल्होत्रा। यो ध्यान दिनुपर्ने कुरा हो, यी चार महिलामा दुई सिख हुन् भने दुई हिन्दु। यी चारै प्रेम प्रसंगको गफ गोष्ठीहरूमा खुब अतिरञ्जित तरिकाले रस लिइलिई चर्चा गरिँदै आयो। अनि यो मानिन्छ कि उनी नास्तिक थिए र जन्मजात मुसलमान। अतः उनको कुनै प्रेम प्रसंग विवाहमा परिणत हुन सकेन। तर अमृतासित उनको गहिरो नाता पछिसम्म बनिरह्यो। अमृताको जीवनमा इमरोज आइसकेपछि पनि यो अपरिभाषित नातामा कुनै चिरा पर्न सकेन।

अमृता र साहिरको यो सम्बन्धलाई ज्याँ पल सात्र्र र सिमोन द बुआको सम्बन्धलाई जस्तो गरेर पनि उनका अनुयायी वा पाठकले हेर्ने गरेका छन्।

एक हिसाबले यो एउटा ठूलो सम्मानको दृष्टिले हेरिएको एउटा उदारणीय प्रेम हो।

साहिरसित अलग्गिएको साल अमृता नेपालस्थित भारतीय राजदूतावासको निम्तामा  काठमाडौं आएकी थिइन्। उनले त्यो घटनालाई सम्मानका साथ उद्धृत गरेकी पनि छिन्।

‘हिजो नेपालले मेरो त्यो कलमको ठूलो सत्कार ग-यो, जसबाट मैले तिम्रा लागि प्रेमको गीत लेखेँ। त्यसैले मैले जति फूल पाएँ, मैले ती सारा फूल तिम्रो नाउँमा चढाइदिएँ।’

२७ जनवरी १९६० मा लेखेको यस पत्रमै इमरोजको नाउँ अदृश्य रूपमा उल्लिखित छ। अमृताको प्रस्थानपछि साहिरको जीवनमा खालिपन भर्न गायिका सुधा मल्होत्रा आइसकेकी थिइन्। गायिका मल्होत्रा र साहिरको सम्बन्ध धर्म र जातका कारणले किनार लाग्यो, साहिर फेरि एक्ला भए।

साहिरको जीवनमा सबभन्दा अहं भूमिका निर्वाह गर्ने अर्की महिला हुन्– सरदार बेगम, उनकै आमा।

आफ्नी आमा सरदार बेगमसित बस्नका लागि साहिरले आफ्नो जमिनदार पिता चौधरी फजल मुहम्मदको सारा जायजेथा लात मारेर आएका थिए।

यो कथा यहीँ अन्त भएन।

भारत–पाकिस्तान विभाजनपछि मुसलमान भएका कारण सरदार बेगम पाकिस्तान गइन्, साहिर पनि जन्मभूमि देश छाडेर आमाको पछिपछि पाकिस्तानको लाहौर लागे। फेरि आमा हिन्दुस्तान फर्केपछि साहिर पनि आमासित फर्के।

साहिरको जीवनमा अर्की प्रमुख महिला आइन्, जसले उनको जीवनको वायुमण्डल खलबल्याइदिइन्। ती महिला जो उनको जीवनको पहिलो प्रेम थिइन्, अनि पहिलो धोखा पनि। ती महिला, जसको चर्चा साहिरको जीवनमा दोहोरिएर कहिल्यै भएको देखिँदैन– न उनको जीवनमा न उनको कथामा, न उनले लेख्ने गरेको गीत, नज्म वा गजलमा !

जसको चर्चा आज हुन बाँकी छ, ती महिला हुन्, हाज्रा मसरुर। साहिरकी पहिलो प्रेमिका हाज्रा मसरुरको सन् २०१२ सेप्टेम्बर १५ का दिन  पाकिस्तानमा निधन भएपछि बल्ल उनको यो प्रेमकथाभित्रका अदृश्य पक्ष चर्चामा आए।

हाज्रा लखनऊमा जन्मेकी र मुम्बईमा हुर्केकी हुन्, आफ्नी दिदीसित। हाज्राको विवाह अहमद अलि खान सित भयो, उनका दुई कथा संग्रह ‘चाँद की दुसरी तरफ’ र ‘तीसरी मञ्जील’ प्रकाशित छन्।

मुम्बईको प्रगतिशील लेखक संघ पिडब्ल्युएमा यी दुवैको परिचय भयो, यी दुवै यस संस्थाका सदस्य थिए। यही प्रोगे्रसिभ राइटर्स एसोसिएसनले यी दुईको मगनी गरिदिए, प्रगतिशील शैलीमा जुन साहिरलाई चित्त बुझेको थिएन।

यतिवेला साहिर आजाद की राह ( सन् १९४५ ) नामक् सिनेमा मार्फत् संघर्षको मैदानमा थिए भने हाज्रा आफ्नो कथा साहित्यमा अग्र भूमिकामा थिए।

हाज्रा  र साहिरको विवाह गर्ने सर्तमा मगनी भइसेको थियो, तर अन्तिम घडीमा यो नाता साहिरले तोडे। यसको सानो कारण थियो, ताजमहल कवितामा उच्चरित एउटा उर्दू शब्द मकाबिर।

साहिरले आफूले लेखेको कविता ‘ताजमहल’ कुनै विशिष्ट सभामा वाचन गर्नु थियो, मुम्बइएको साबु सिद्दीकी हलमा।

उनको मातृभाषा पञ्जाबी भएकाले उनको उर्दूको स्वरोच्चारण पक्का थिएन। उनले प्रेमपूर्वक आफ्नी मुस्लिम प्रेमिकालाई शुद्ध उच्चारणका निम्ति फोनमा सोधे। हाज्राले जिस्किँदै ‘तिमीले जस्तो उच्चारण गरेको हो त्यो नै सही हो’ भनिन्। आफ्नी मंगेतर हाज्राको अनुमति पाएर गर्वले उनले त्यो कविता भारी सभामा पढे।

तर घटना सोचेभन्दा उल्टो भयो, सभामा आएका वरिष्ठ कविले टिप्पणी गर्ने क्रममा साहिरको मजाक उडाउँदै भने, ‘बच्चा यो कविता राम्रो छ, तर तिमीलाई उर्दू बोली शुद्ध बोल्न आउँदैन रहेछ। तिमीले मकाबिर शुद्ध उच्चारण गरेको भए यो कविता तिम्रो हो भन्ने धेरै आधार हुन्थ्यो।’

यस टिप्पणीले साहिरको भारी सभामा अपमान भयो। उनले यो कुरा हुबहु आफ्नी मंगेतरलाई सुनाए र त्यही दिनबाट आफ्नो सम्बन्ध तोडेको पनि जानकारी दिए। हाज्राले ‘मकाबिर’लाई ‘मबाकिर’ पढ्नु भनेकी थिइन्।

पछि साहिरको यस कवितालाई वरिष्ठ कवि जोश मलिहावादीले सच्याइदिए।  

उर्दूमा ‘मकाबिर’को अर्थ हुन्छ, समाधि। यही कविता हाज्रा र साहिरको प्रेमको समाधि बन्न पुग्यो।  

हाज्रा मसरुरको निधन हुँदा बल्ल उनको यो आत्मकथाको अंश छापियो, जहाँ उनीहरू दुईबीच के सम्बन्ध थियो र के कारण टुंगियो भन्ने उल्लेख छ। यसपछि मात्र साहिरको जीवनको अर्को महत्वपूर्ण पाटो बाहिर आयो।  

हाज्राले पाकिस्तानबाट ‘प्राइड अफ पाकिस्तान’ नामक पुरस्कार पनि पाएकी छिन्। साहिरसित छुटेपछि यिनले पाकिस्तानको राष्ट्रिय दैनिक ‘डान’का प्रधान सम्पादक एहमद अलि खानसित विवाह गरिन् र बाँकी जीवन पाकिस्तानी भएर बिताइन्। उनी झुक्किएर कुनै पनि प्रसंगमा साहिरको रचनामा कतै चर्चामा आइनन्।

भनिन्छ, हाज्रासित छुटेका बेला भर्खर साहिरको अमृतासित प्रेम सुरु मात्र भएको थियो।

यसपछि उनले लेखेको नज्म चर्चामा आयो, जुन पछि चलचित्र गुमराह (१९६३) मा प्रयोग गरिएको थियो– ‘चलो एक बार फिर से अजनबी बन जाएँ हम दोनों...।’

यो गीतलाई फिल्ममा प्रयोग गरिनुअघि उनले धेरै सभा–समारोहमा तालीका साथ पढ्ने गरेका थिए। यो गीतको रचना गर्भमा धेरैले अमृता प्रीतमसितको प्रेमलाई पनि जोडेका छन्, त्यो यकिन होइन।

साहिरको जीवनमा अमृताभन्दा पहिल्यै आएकी प्रेमिका थिइन्, ईश्वर कौर। कौरलाई सम्बोधन गरेर ‘किसी को उदास देखकर’ उनले लाहौरको दयालसिंह कलेजमा सुनाएका थिए।

तुम्हें उदास सा पाता हुं मैं कई दिन से,

न जाने कौन से सदमे उठा रही हो तुम,

मैं जानता हुं कि दुनिया का खौफ है तुमको,

मुझे खबर है ये दुनिया अजीब दुनिया है।

कौरको विवाह साहिरकै साथी हाफिज लुधियानवीसित भयो। उनले हाफिजसित एउटा अनुमति मागे, ‘विवाह तिमीसित भए पनि ईश्वरको फोटो मसित राख्ने अनुमति देऊ।’

ईश्वर र हाफिज विवाह गरेर मुम्बई गए, त्यस दिनदेखि साहिर ईश्वरको एक झलक पाउन मुम्बई जाने तयारी गर्न थाले, तर त्यो सम्भव भएन।

कैयौँ वर्षपछि साहिर मुम्बई पुगे र ख्याति कमाए, तर ईश्वर यस दुनियाबाट गइसकेकी थिइन्।

साहिर जीवनमा कुनै प्रेममा सफल भएनन्, त्यो उनीभित्रको अन्तर्मुखीपन नै उनका निम्ति बाधक भयो सायद।

साहिरका निकटवर्ती मित्र अहमद राहीले भनेका छन्, ‘साहिर गहिरो एक्लोपनमा अनुवाद भइरहन्थे। मेरो विचारमा यो हालत सायद त्यतिबेला पैदा भयो होला, जब उनको पहिलो प्रेमिका महिन्दर चौधरीको निधन भयो।’

उनको पहिलो प्रेमिका महिन्दर चौधरी उनकै काखमा मरेको कुरा उनले आफ्नो कविता ‘मरघट’मा लेखेका छन्।

२५ अक्टोबर १९८० मा साहिरले यो जगत् छाडे। उनले नेपाली मूलका फिल्म निर्देशक बीएस थापाको फिल्म ‘लक्ष्मी’का निम्ति अन्तिम गीत लेखे।

मात्र ५९ वर्षको जीवनमा उनले एक सय १३ वटा फिल्ममा गीत लेखे। उनका कैयौं गीत हिट भए। भारतका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरू साहिरको एउटा कविताबाट सर्वथा प्रभावित रहे र उनले उल्लेख गरिरहे–

ये कूचे ये नीलामघर दिलकशी के,

ये लुटते हुए कारवां जिन्दगी के,

कहाँ है कहाँ है,

जिन्हें नाज है हिंद पर वो कहां है।

साहिरको यो प्रश्न अझै पनि जारी छ। साहिरका गीतको चर्चा वा उद्धृति गरिरहने अर्का व्यक्ति हुन्– महान् विचारक ओशो।

ओशोले आफ्नो सुरुवातका प्रायः प्रवचनमा साहिर नज्मको व्याख्या वा चर्चाबाट आफ्नो डिस्कोर्स थाल्ने गरेका छन्। उनले इतिहासको हरेक व्याख्या होस् वा मानव नियतिको विवरणी दिने बेला साहिरको नज्मको साथ लिएका छन्। ओशोले मन पराउने एउटा गीतको शेर यस्तो छ–

जाने वो कैसे लोग थे जिनको प्यार को प्यार मिला,

हमने तो कलियाँ मागी काँटो का हार मिला।

यो गीतको चर्चा गर्दै नेपाली निबन्ध साहित्यका शिखर पुरुष शंकर लामिछानेले भनेका छन्, ‘अ राइट सङ रोट बाई राइट पर्सन...।’

यो गीतमाथि लेखिएको निबन्धमा शंकर, भूपी, अम्बर एकसाथ भएर प्रेम दिवस मनाएका थिए, चोभारको डाँडामा।

अम्बर गुरुङले डेढ दशकअघि ‘गोधूलि’ नामको एउटा अल्बमको विमोचन गर्दै भनेका थिए, ‘गीत भनेको यस्तो हुनुपर्छ, जाने वो कैसे लोग जस्तो।’

अम्बरले फेरि थपे, ‘अ राइट सङ रोट बाई राइट पर्सन।’

यो गीतको कथा यति मात्रै होइन, कुनै समय संगीतमा आउनुअगि दार्जिलिङमा अम्बर गुरुङ कुनै साउन्ड सर्भिसमा साउन्ड म्यानका रूपमा काम गर्थे। एक दिन उनी कुनै विवाहमा साउन्ड पु¥याउन गएछन्, तर साउन्ड सिस्टम बिग्रेर उनले त्यो विवाहमा रातभर गीत गाउनुपर्ने अवस्था आएछ। त्यो विवाहमा सहभागी भएका एक जन्ती कर्म योञ्जन त्यो घटना सम्झिँदै भन्छन्,

‘त्यो विवाह कस्तो भयो भने अग्रवालजीको साउन्ड सर्भिसबाट आएको साउन्ड सिस्टम बिग्रेपछि साउन्ड पु¥याउन आएका अम्बर दाजु आफैँले जाने वो कैसे लोग थे जिनको प्यार में प्यार मिला गाउनुप-यो। किनकि उहाँलाई त्योबाहेक अरु गीत सायद याद थिएन कि ? अचम्मको कुरा विवाहमा त्यस्तो गीत उहाँले गाउनुप-यो।’

वास्तवमा साहिर प्रेमका वक्ता थिए, तर उनले कहीँ कसैबाट प्रेम पाएनन्। यो नै सायद उनको खोज थियो।

प्रकाशित: २७ भाद्र २०७७ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App