१५ माघ २०८२ बिहीबार
image/svg+xml
विचार

दश अर्ब मानिसको खाना

विश्वले आठ अर्ब मानिसलाई खुवाउन अहिले नै संघर्ष गरिरहेको सन्दर्भमा सन् २०५० सम्म १० अर्ब मानिसलाई कसरी खुवाउने? प्रश्न अहिले पेचिलो बनेको छ। विश्वको बढ्दो जनसंख्याको पोषण आवश्यकता पूरा गर्न केवल वनस्पतिमा आधारित खाद्य उत्पादनमा ठुलो वृद्धि मात्र पर्याप्त छैन, सँगसँगै खाद्य असुरक्षाको चक्रव्यूहमा कोही पनि नफस्ने गरी खाद्यान्नको न्यायोचित वितरण पनि उत्तिकै आवश्यक छ।

त्यसो त यो लक्ष्य हासिल गर्नु अत्यन्तै कठिन छ। हालको खाद्य प्रणाली यसअघि नै दबाबमा छ। हाल करिब ६७ करोड ३० लाख मानिस हरेक रात भोकै सुत्छन्। सन् २०१५ मा हामीले दुईवटा डरलाग्दो भोकमरी (गाजा र सुडानमा) देख्यौं, यो भोकमरी द्वन्द्व, जलवायुजन्य आघात र तीव्र रूपमा बढेका खाद्य मूल्यका कारण उत्पन्न भएका थियो। यही समयमा १.६६ अर्ब हेक्टर जमिन, जसमध्ये ६० प्रतिशत कृषि योग्य भूमि पर्छ,  क्षतिग्रस्त भइसकेको छ। त्यो क्षति हामीले अवलम्बन गरेका गलत  अभ्यासकै कारण भएको हो।

विश्वव्यापी भोकमरी पर्याप्त खाद्यान्न उत्पादन गर्ने क्षमताको अभावका कारण मात्र होइन। यसको मूल कारण कृषि उत्पादनलाई कुशलतापूर्वक नगर्नु  र समान रूपमा वितरण नगर्नु पनि हो।

यसैगरी, अझै पनि विश्वका २० देश र भूभागमा भोकमरीका लागि  द्वन्द्व र असुरक्षा प्रमुख कारण बनेका छन्, जसका कारण करिब १४ करोड मानिस तीव्र खाद्य असुरक्षामा धकेलिएका छन्। पछिल्ला ३३ वर्षमा अनेकन् प्राकृतिक विपत्तिले कृषि क्षेत्रमा विश्वभर अनुमानित ३.२६ ट्रिलियन अमेरिकी डलर बराबरको क्षति पुर्‍याएको छ।

यो हिसाबले बर्सेनि औसतमा वार्षिक ९९ अर्ब डलर क्षति हुने गरेको छ। यो विश्वको कृषि उत्पादनको करिब ४ प्रतिशत हुन आउँछ। यसका साथै आपूर्ति सम्बन्धी व्यवधानका कारणले बढेका खाद्यान्न मूल्यले करोडौं मानिसलाई भोकमरीतर्फ  धकेलेको छ। त्यसो त यी सबै एकपटकका झट्का मात्र होइनन, यी कुरा अब नयाँ सामान्य अवस्था बन्दै गएका छन्।

बढ्दो मागलाई सम्बोधन गर्न दशकौंदेखि कृषि क्षेत्रले उच्च उत्पादन दिने बाली विकास गर्दै आएको छ। यो अवधिमा सबै उपलब्ध विकल्पको ‘झन् धेरै’ प्रयोग गरिएको छ– उदाहरणका लागि झन् धेरै मल, झन् धेरै विषादी र झन् धेरै पानीको प्रयोग भएको छ तर यस प्रवृत्तिले अनावश्यक फोहोर उत्पादन, नदी प्रदूषण, माटो क्षय र हरितगृह ग्यासको बढ्दो उत्सर्जन निम्त्याएको छ। अब हामीले झन् धेरै राम्रो बाटो खोज्नुपर्छ र विज्ञानले त्यो बाटो देखाउन सक्छ। हामीसँग प्रयोग हुने स्रोतलाई उत्तम बनाउने र उत्पादनलाई विविध बनाउने आवश्यक ज्ञान र उपकरणहरू यसअघि नै  उपलब्ध छन्।

एक प्रमुख प्राथमिकता भनेको दक्षता सुधार  हो। सन् १९९० देखि २०२० को अवधिमा मलको प्रयोग ४६ प्रतिशतले बढ्यो र विषादीको प्रयोग दोब्बर भयो तर बालीले मलका पोषक तत्त्वमध्ये केवल ३०–६० प्रतिशत  र विषादीको २०–७० प्रतिशत मात्र प्रभावकारी रूपमा सोस्छ। बाँकी मात्रा नदीमा बग्छ, माटो बिगार्छ अथवा हरितगृह ग्यास उत्सर्जन गर्छ।

अनुसन्धानले देखाएको छ कि नाइट्रोजनको उच्चतम प्रयोग भएको अवस्थामा उत्पादन १९ प्रतिशतसम्म बढ्न सक्छ र मलको प्रयोगलाई १५ देखि १९ प्रतिशतले घटाउन सकिन्छ। सटिक छर्काइ, जैविक विषादी र अवशेष निगरानीजस्ता सुधारिएको विषादी व्यवस्थापनले रासायनिक फोहोर घटाउँदै जैविक विविधतालाई जोगाउँछ। एग्रो–इकोलोजिकल अभ्यासहरू, जस्तै अन्तरबाली, बाली चक्र र खेती प्रणालीमा रुखको एकीकरणले माटोको स्वास्थ्य सुधार्छ, बाह्य ‘इनपुट’माथिको निर्भरता घटाउँछ र दीर्घकालीन सहनशीलतालाई बलियो बनाउँछ।

अर्को महत्त्वपूर्ण प्राथमिकता खाद्य प्रणालीको विविधीकरण  हो। उत्पादन वृद्धिमा केन्द्रित दशकौंको प्रयासले विश्वलाई गहुँ, चामल र मकैजस्ता केवल तीन बालीमाथि खतरनाक रूपमा निर्भर बनाएको छ। आज विश्वको अधिकांश क्यालोरी यिनै बालीबाट प्राप्त हुन्छ। यसप्रकारको एकल–बाली निर्भरताले किरा, रोग र जलवायु परिवर्तनको जोखिम बढाएको छ। समाधान ती बालीहरूमा छ, जसलाई हामीले लामो समयदेखि हेलाँ गर्दै आएका छौं।

 परम्परागत र कम प्रयोग गरिएका यस्ता प्रजातिमा कोदो, पोषक तत्त्वले भरिपूर्ण दलहन, स्थानीय फलफूल र  तरुल हुन्। यी बालीले पर्याप्त पोषणसँगै जलवायु सहनशीलताजस्ता थप लाभ दिन्छन्। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सुरु गरेको ‘फ्युचर स्मार्ट फुड’ (एसियामा) र ‘अफ्रिकाका लागि १०० बाली’ जस्ता पहलहरूले यी बिर्सिएका बालीले आहार विस्तार, किसानको आम्दानी वृद्धि र क्षतिग्रस्त माटो पुनर्स्थापनालाई एकैसाथ कसरी सम्भव बनाउँछन् भन्ने देखाएका छन्।

अन्ततः हामीले गर्नुपर्ने कुरा भनेको प्रभावकारी प्रविधिहरूलाई ठुलो स्तरमा विस्तार गर्नु हो। डाटा विश्लेषण र सटिक कृषि उपकरणहरूले खेती प्रणालीलाई तीव्र रूपमा रूपान्तरण गरिरहेका छन्। ड्रोनहरूले अत्यन्तै सटिकताका साथ बिउ रोप्न र आवश्यक इनपुट पुर्‍याउन सक्छन्। एआई प्लेटफर्महरूले उपग्रह तस्बिर प्रयोग गरेर समयमै र सन्दर्भअनुसारका सिफारिस दिन सक्छन्। रोबोटहरूले झार पहिचान गरी लक्षित रूपमा स्प्रे गर्छन्, जसले सामूहिक रूपमा ठुलो स्तरमा विषादी प्रयोग गर्ने आवश्यकता हटाउँछ। डिजिटल माटो परीक्षण र मौसम स्टेसनहरूले किसानले गर्ने दैनिक निर्णयमा सहयोग पुर्‍याउँछन् र ‘ब्लकचेन’ प्रणालीहरूले साना किसानलाई पारदर्शी र ‘ट्रेसेबल’ बजारसँग जोड्न सक्छन्।

यी उपकरणलाई व्यापक रूपमा प्रयोग गर्न कृषि विस्तार सेवामा ठोस लगानी, विज्ञान–आधारित नीतिगत परिवर्तन र किसानहरूलाई इनपुट अनुकूलनमा सहयोग गर्नेलगायत ज्ञान–साझेदारी प्लेटफर्महरू आवश्यक पर्छन्। साथै, निरन्तर नवप्रवर्तनलाई स्थानीय अभ्याससँग जोड्न सरकार, लगानीकर्ता, निजी क्षेत्र र किसानहरूबिच  घनिष्ठ सहकार्य अपरिहार्य छ।

उद्देश्य स्पष्ट छ– कृषि क्षेत्रले कम स्रोतबाट बढी उत्पादन गर्नुपर्छ, हरेक थोपा पानीबाट बढी बाली, हरेक किलोग्राम मलबाट बढी क्यालोरी र हरेक हेक्टर जमिनबाट बढी पोषण प्राप्त हुनुपर्छ र यो हरेक मौसम, हरेक स्थानमा लागु हुनुपर्छ। यसका लागि सबै ठाउँमा एउटै किसिमले लागु हुने औद्योगिक मोडललाई विस्थापित गरेर स्थानीय माटो, पानी, बाली र जलवायुअनुसार विकास गरिएका सहनशील प्रणालीहरू अपनाउनुपर्छ। बजार असफल हुने स्थानमा सार्वजनिक लगानीमा गरिने अनुसन्धानले नेतृत्व गर्नुपर्छ, ताकि सटिक कृषि प्रविधिमा सबैको समान पहुँच सुनिश्चित होस्। निजी क्षेत्रको नवप्रवर्तनले प्रभावकारी समाधानलाई अझ ठुलो स्तरमा विस्तार गर्न मद्दत गर्न सक्छ। अब बाधा ज्ञान होइन, राजनीतिक इच्छाशक्ति र उपयुक्त प्रोत्साहन व्यवस्था हुन्।

लगातारको द्वन्द्व, खडेरी र बजारको अव्यवस्थाका बाबजुद पनि स्थिर उत्पादन र किफायती मूल्य सम्भव छ। सहनशील माटो, विविध बाली प्रणाली र सटिक व्यवस्थापन नै महत्त्वपूर्ण विषय हुन्। सबैले पर्याप्त र पोसिलो खाना खान पाउने, किसान समृद्ध हुने, माटो पुनर्जीवित हुने, पानी सफा बग्ने, जैविक विविधता पुनःस्थापित हुने र कृषि–खाद्य प्रणालीबाट न्यूनतम हरितगृह ग्यास उत्सर्जन हुने विश्वको कल्पना कुनै आदर्श कल्पना मात्र होइन। यो सम्भव छ।

 यो नयाँ कृषि मोडल अँगाल्दा प्राप्त हुने यथार्थपरक परिणाम  हो।अन्तिम प्रश्न भनेको हामीसँग पहिल्यै उपलब्ध ज्ञान, विज्ञान र प्रमाणित उपकरणहरू प्रयोग गर्छौं कि गर्दैनौं भन्ने हो। भविष्यका पुस्ताले समाधान थिए कि थिएनन् भनेर हामीलाई सोध्ने छैनन्, उनीहरूले त्यो समाधानको कार्यान्वयन गर्न किन यति ढिलो गरियो भनेर सोध्नेछन्। त्यसैले छनोट हाम्रो हातमा छ र यसको सुरुवात विज्ञानलाई व्यवहारमा उतार्नुबाट हुन्छ।

–युर्दी यास्मी संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनअन्तर्गतको वनस्पति उत्पादन तथा संरक्षण विभागका निर्देशक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: ५ माघ २०८२ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App