६ चैत्र २०८० मंगलबार
कला

युरोपको सगरमाथामा थकाल्नी दिदीको अनुहार

नियात्रा

दामोदर पुडासैनी किशोर

म बस्ने कोठाबाट जेनेभा शहर बिजुली बत्तीमा दुलहीझैँ सिंगारिएको देखिएथ्यो । जेनेभा शहर र वरिपरिका काँठक्षेत्रमा झरिझुट्ट रूपमा तारा र जूनलाई जिस्क्याउँदै रङ्गीविरङ्गी प्रकाश ओकल्दै जेनेभा तालभरि तैरेको लहरयुक्त लालिमा फुलिरहेको देख्न सकिन्थ्यो । नजिकै रहेका हिमालहरू शान्त र सौम्य मुद्रामा जूनभन्दा बढी शीतलता र शालीनताका ऊर्जा कोरलिरहेका देख्न सकिन्थ्यो ।  

प्रातभ्रमणको निहुँमा गोपालजी र म जेनेभा लेकनजिकैको गुलाफ बगैचाभित्र घुसेका थियौँ । गोपालजी स्विट्जरल्यान्डको गरिमाका कथाहरू खोस्रँदै हुनुहुन्थ्यो । म साथ दिइरहेथेँ उहाँको खोस्राइमा । स्विट्जरल्यान्ड पनि विश्वका अन्य विभिन्न क्षेत्रझैँ प्राचीनकालमा शोषक र शोषितका गाथाहरू समेटिरहेको थियो । प्राचीन राजा, महाराजा र शासकहरू आफूले अह्राएको काममा अटेर गर्ने वा आफ्नो विरोधमा जुर्मुराउनेहरूलाई आफ्ना दरबारहरूमा कैद गर्थे । त्यस्ता निरपराध कैदीहरूलाई दुःख दिईदिई हत्या गर्दथे । असहाय र निरपराध मान्छेहरूलाई दिइएको यातना र उनीहरूको क्रन्दन त्यस्ता शासकहरूका लागि मनोरञ्जन हुन्थ्यो, गीत र सङ्गीत हुन्थ्यो । बेलायती कवि लर्ड बाइरनले त्यसै वस्तुतथ्यलाई आधार बनाएर जेनेभामै बस्दा ‘सिलो दरबारका कैदीहरू’ नामको एउटा कविता लेखे । त्यो कविता जीवन्त र विश्वप्रसिद्ध छ । गोपालजीलाई त्यो कविता कण्ठस्थ आउँथ्यो । उहाँ र मैले गुलाफ बगैचा घुम्दै लर्ड बाइरनको त्यो सुन्दरतम रचना र त्यसबेलाका कैदीहरूका दुःखद गाथालाई कोट्यायौँ ।

भर्खर हिउँले खाएकोले गुलाफ–बगैचामा गुलाफका असङ्ख्य बिरुवाहरू मुना छोडिरहेका थिए, प्रसून निकालिरहेका थिए । सबेरै भएकोले पनि होला, बगैचामा त्यति धेरै मान्छेहरू थिएनन् । मान्छेका नग्न मूर्तिहरू गुलाफका फूलहरूजस्तै उभिएका थिए । तपार्इं एक महीनापछि यस बगैचामा आउनुभएको भए विश्वभरका सुन्दर र सुन्दरीहरूको दर्शन पाउन सक्नुहुन्थ्यो’ – गोपालजी भन्दै हुनुहुन्थ्यो ।

स्विट्जरल्यान्ड विश्वकै सुन्दर, शान्त र शीतल देश भएकोले सारा यूरोपेलीहरूको गन्तव्यस्थल बन्न पुग्यो । कहिलेकाहीँ लडाकु र योद्धाहरूलाई पनि सुरक्षित स्थानको आवश्यकता पर्छ । धनले पुलपुलिएकाहरूलाई पनि सुरक्षित स्थानमा धन राख्ने थलोको आवश्यकता पर्दछ । यूरोपका ठूलाबडा, धनाढ्य र शासकहरूले स्विट्जरल्यान्डलाई सुरक्षित स्थानको रूपमा एवं सबैको लागि मोजमस्ती र सौन्दर्यपानको थलोको रूपमा राख्ने अघोषित समझदारी कायम गरे । फलतः उनीहरूद्वारा सङ्गृहीत धन स्विट्जरल्यान्डका बैङ्कहरूमा जम्मा गर्ने र फुर्सदमा त्यो पहाडी र हिमाली राज्यको शीतलतामा जिन्दगीलाई बहारमा फिजाउने थलोको रूपमा विकास गरे । आज पनि स्विट्जरल्यान्ड प्रणाली, प्रजातन्त्र, असल शासन र प्राकृतिक छटाको सदुपयोग गर्दैै अब्बल दर्जामा अघि बढेको छ । स्विट्जरल्यान्ड यतिखेर मीठा चकलेट निर्माण गरेर विश्वभर चखाउँछ, राम्रा र भरपर्दा घडीहरू बनाएर विश्वभर समयप्रतिको सजगता दर्शाउँछ, बैङ्किङ व्यवसायमा विश्वास र आर्जनको अनुपमन नमूना प्रस्तुत गर्दछ र विश्वभरका पाहुनाहरूलाई प्रकृतिको काखमा लडीबुडी गराउँदै खुशी बाँडेर कोरली गाई दुहुन्छ । प्रकृतिलाई दुहुनो गाई बनाउने कला स्विट्जरल्यान्डबाट अलिकति मात्र पनि हामीले सिक्न सक्यौँ भने हामं्रो समृद्धि धेरै कोसमाथि उठ्न सक्तछ । त्यसमा शङ्का छैन । उनीहरूले हिमालभित्र ढुंगा काटेर होटल रेस्टुरेन्ट बसाएका छन्, पहाडका पोथ्रा र पोखरीहरूलाई अलिकति वैद्युत रङ्ग दिएका छन्, हिमालका चुचुराहरूमा केवल कारले जेलेका छन् । प्रकृतिलाई पौरखले छोपेर नै स्विट्जरल्यान्ड सुलुत्त अग्लेको छ समृद्धिको शिखरमा’– गोपालजी स्विट्जरल्यान्ड–बसाईको आफ्नो लामो र सटीक आकलन बाँड्दै हुनुहुन्थ्यो मलाई गुलाफ–बगैचामा ।

जेनेभा शहर घाम लाग्दा पनि सुन्दर, घाम नलाग्दा पनि सुन्दर । गुलाफ–बगैचाकै छेउमा लमतन्न सुतेको जेनेभा तालको नीलो पानीमा जीवन उत्साहित हुन्छ, मरेको मन तैरन्छ, डुबेको तन तैरन्छ । जिन्दगीदेखि भागेकाहरू जेनेभा तालमा पुगेपछि नयाँ जिजीविषाको खेती गर्न थाल्छन् । वरिपरिका काँठमा ऊक्लेपछि जीवनलाई भारको रूपमा नहेरी हिउँका भुवाझैँ हल्का र सफेद देख्न थाल्छन् । वास्तवमा मान्छे पानीको फैलावटमा अनन्त खोज गर्न सक्छ, हावाको व्यापकतामा आफ्ना पाखुरीहरू बढाउन सक्छ र सक्छ उचाइमा चढेर हरेक उचाइलाई आफूभन्दा होचो सावित गर्न । मैले त्यस्तै अनुभूति पोखराको फेवातालमा लहरिएर र कालीगण्डकीको किनारैकिनार मुक्तिनाथ र कागबेनीका पाटाहरूमा सगालेको थिएँ । गोसाईकुण्डमा डुबुल्की मारेर लौरीबिना र केरुङ घाटीहरूमा आफ्ना पाइलाको छाप राख्दा स्वर्गसँग साक्षात्कार गरेको महसुस  गरेको थिएँ । इलामको माइपोखरीमा पौड्दा होस् वा अर्घाखाँचीका ठाडा दहमा सुस्ताउँदा होस् जिन्दगीलाई सामान्य र सरल जिन्दगीभन्दा बढी ओजपूर्ण तुल्याउनुपर्दछ भन्ने ज्ञान पाएको थिएँ प्रकृतिका कुना–कन्दराबाट । जेनेभामा ती सबै स्मृतिहरू जागेर लहर उभिए मेरो मानसपटलमा ।

गोपाल थापाजीसँग एक घण्टा गुलाफ बगैचामा घुम्नुले एउटा विश्वविद्यालयमा भएको गहन अन्तरक्रियामा सहभागी भएजस्तो भइरहेथ्यो दुवैलाई । अङ्ग्रेज कवि लर्ड बाइरन त्यसै लट्ठिएका होइनन् जेनेभाको सामीप्य पाई मैले मनमनै अडकल गरेँ । सन् १७८८ मा बेलायतमा जन्मेका कवि बाइरन आफ्नो जीवनको अट्ठाइसौं वर्षमा सन् १८१६ मा जेनेभा पुगेका थिए । ममतामयी आमाको मृत्युको पीडा उनमा असह्य भएपछि बेलायतबाट उनी जेनेभा भित्रेका थिए । ताल, पहाड र हिमालनजिक बस्दा उनले प्रकृतिलाई नै आमाको रूपमा पाए । शीतल छहारी मिल्यो उनलाई जीवनको गर्मी चिस्याउने । दिनहुँजसो जेनेभा तालको शयर गर्ने, डुङ्गा खियाउने नाविक र माझीहरूका जीवनगाथा र उनीहरूका भोगाइहरू नियाल्ने उनको दिनचर्या बन्यो । नाविकले दरबारका कैदीहरूको हत्याको कालो कथा सुनायो । उनले त्यस दरबारको भ्रमण गरे । दरबारभित्र असहाय मान्छेहरू, दुःखी र गरीबहरूको चीत्कार सुनेजस्तो लाग्यो । दरबारका भित्ता र भुइँहरूमा आलो रगतका धाराहरू बगिरहेजस्तो लाग्यो । असहाय मान्छेहरू मृत्युवरणको समयमा पनि जीवनको भीख मागिरहेथे । त्रूmर शासकहरू खुँडा र हतियारहरूले घाँटी रेटिरहेथे । कोलाहल निरन्तर फैलेको थियो, चीत्कार अनन्त फैलिएको महसूस भइरहेथ्यो दरबारका चोटा, कोठा र वरिपरि ।कवि बाइरनले तिनै दृश्यको कल्पनालाई कवितामा उतारे ‘सिलों दरबारका कैदीहरूमा ।

‘तपाईं जसरी भए पनि कवि लर्ड बाइरन बस्नुभएको घरमा पुग्नुपर्छ र उहाँले त्यो कविता रचना गर्दा बस्नुभएको स्थल हेर्नुपर्छ’ – गोपालजीले गुलाफ बगैचाबाट बाहिरिँदा भन्नुभयो । म पनि त्यो स्थल हेर्न उत्सुक थिएँ अति नै । तर भ्रमणदलका साथीहरूको लागि साहित्य र साहित्यकार भनेपछि उपहासको विषय हुन्थ्यो । मेरो प्रस्ताव ठाडै इन्कार गर्नुभयो उहाँहरूले । बेलायतमा पुग्दा शेक्सपियरको गाउँमा जान नपाउनु र जेनेभामा लर्ड बाइरनको साधनास्थलको दर्शन गर्न नपाउनाले उहाँहरूसँग अलि चित्त दुख्यो मेरो । बजारका सपिङ कम्प्लेक्समा बेफ्वाँकमा पाँच घण्टा रल्लन उहाँहरू उत्सुक हुनुहुन्थ्यो । तर कविको घरहरूमा दर्शन गर्नु अभिशाप भन्दै मलाई उडाउनुभयो उहाँहरूले । मैले ‘कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणि’ भन्ने लेखनाथ पौड्यालको कविता संम्भेmँ ।

जेनेभा पुगेपछि मँ ब्लँ हिमाल चढ्नु निकै महŒवपूर्ण हुन्छ । मँ ब्लँ हिमालको अधिकांश भाग फ्रान्समा पर्दछ तापनि त्यसलाई इटाली र स्विट्जरल्यान्डले पनि छोएको छ । ४८०७ मिटर उचाइ भएको मँ ब्लँ यूरोपकै उच्च शिखरहरूको अग्र पङ्क्तिमा पर्दछ । वेलावेलामा लामो समयसम्म कुहिरोले छोपिरहने भएकोले घाम लागेको बेलामा मँ ब्लँ युरोपकै उच्च शिखरहरूको अग्रङ्क्तिमा पर्दछ । वेलाबेलामालामो समयसम्म कुहिरोले छोपिरहने भएकोले घाम लागेको बेलामा मँ ब्लँको दर्शन पाउनुलाई ‘भाग्यमानी’ भन्न बेर लगाउँदैनन् जेनेभावासीहरूले । जेनेभाबाट मँ ब्लँ पुग्दा बीचबीचमा प्राकृतिक छटाले सिँगारिएका सयौँ गाउँहरू, असंख्य हिमालहरू, नदीहरू र तालहरू देख्न पाउने हुँदा स्वर्गीय आनन्द लिने अवसर पनि मिल्दछ । हामीले अघिल्लो दिनमै नियोग–प्रमुख ज्ञानचन्द्र आचार्यसँग छलफल गरेर मँ ब्लँ जाने तारतम्य मिलाएका थियौँ । त्यसअनुसार नियोगका कर्मचारीहरू महेश केसी र वेदनिधि अधिकारी मँ ब्लँ यात्राको लागि तारतम्य मिलाउन खटिनुभएको थियो । बिहान साढे नौ बजे जेनेभाबाट मँ ब्लँको लागि यात्रा शुरू गर्दा गोपालजीले सम्झाउनुभयो – न्यानो र बाक्ला कपडा, टोपी, गलबन्दी र पीभीटीएमलान नबिर्सनुहोला नि । – जनार्दनजी अकमक्क पर्नुभयो । के हो पीभीटीएम भनेको ?’ उहाँको जिज्ञासा शान्त पार्दै म बोलेँ – पासपोर्ट, भीसा, टिकट र मनि क्या ।’ हुन पनि विदेशमा यात्रा गर्ने कुनै पनि पर्यटकले ती चार कुराहरूको सम्बन्धमा हरक्षण सजग हुनुपर्दछ। नत्र हन्डरको भुमरीमा फस्न कत्ति बेर लाग्दैन ।

हामीहरू जेनेभाबाट हिँड्दा पारिलो घाम लागिरहेथ्यो । ‘आज भने खूब राम्रो साइत छ मँ ब्लँ जान’ – महेशजीले भन्नुभयो । यात्रा शुरू गरेको १० मिनेटमै हाम्रो कार स्विट्जरल्यान्ड छोडेर फ्रान्समा प्रवेश गरिसकेको थियो ।

यात्राको अवधिभर ख्यालठट्टा मजाक र छेडछाड खूबै चल्थ्यो आपसमा । म कारको अघिल्लो सिटमा बसेको थिएँ । महेशजी, जनार्दनजी, उद्धवजी र कर्णजी पछिल्लो सिटमा बस्नुभएको थियो । म कविता रच्दै थिएँ वरिपरिको प्राकृतिक छटामा मग्न हुँदै ।  

साथीहरू एकापसमा छेडछाड गर्नमै मस्त थिए । म फ्रान्स र स्विट्जरल्यान्डका हिमाल, पहाड, झर्ना, खोला, ताल, तलैया, घरिघरि चहकिलो घाम, घरिघरि घामलाई गुटुमुटु पार्ने बादलका दृश्यहरूमै मुग्ध थिएँ । सडकको छेउदेखि टाढाटाढासम्म चिटिक्क मिलेका गाउँहरूको सौन्दर्य बेग्लै थियो । हिमालको काखमै सर्प बेरिएको जस्तो सडकबाट हुइँकनुको मजानै बेग्लै हुने । सडकक बीचबीचमा कतैकतै मानवनिर्मित ढिस्काहरू  थिए । तिनमा रङ्गीविरङ्गी फूलहरू ढकमक्क फुलेका हुँदा मान्छेको मनमै खातका खात फूलबाट वास्ना चल्न थाल्थे । सम्म स्थलबीच शोभायमान हरिया मैदानमा आफूलाई मृग बनेर डुल्न मन लाग्ने । चौरहरूमा घोडाहरू चरिरहेथे र भेडाहरू एउटै लहरमा लर्कन पारेर डुलिरहेथे । गाउँको बीचबीचमा चिटिक्क मिलेका अङ्गुर फार्म थिए । अङ्गुरका बोटहरूलाई काँटछाँट गरेर सबै एकनास पारिएको थियो । त्यहाँ सुन्दरता मात्र थिएन, सिर्जना पनि थियो, सिर्जनामा श्रम फुल्दै थियो ।

होन  नदी पार गरेपछि पहाडमै ठोक्किएला जस्तो भयो । काठमाडौँको नागार्जुन जत्रो पहाड  हिउँले ढकमक्क ढाकिएको, काखमा बस्ती, बस्ती र हिमालबीच बादल । स्विट्जरल्यान्ड पहाड र हिमालले सजिएको स्वर्ग हो, झन्डैझन्डै नेपालजस्तै । प्रकृतिलाई आफ्ना पाखुरीले पुलकित बनाएका थिए स्विट्जरल्यान्डवासीले । त्यसो त युरोपकै सर्वोच्च शिखर जङ्फ्रो  पनि स्विट्जरल्यान्डकै प्रसिद्ध शहर इन्टरलेकन नजिक पर्दछ ।

हिमाल, पहाड, नदी, खोल्सा खोल्सी, झर्ना र गाउँहरूसँग लुटपुटिदै सुरुङ्गमार्गहरूबाट छिर्दै, पुलहरू तर्दै मँ ब्लँ  हिमालको फेदीमा बिहान ११ बजेतिर पुग्यौँ । हिमालैहिमालको फेदीमा सल्लाका रूखहरू थिए । सल्लाका जङ्गल र शहर पूरै हिउँले ढाकिएको थियो । हो, त्यही शहर मँ ब्लँ हिमाल चढ्ने प्रवेशद्वार थियो र शहर सामोनिक्स  नामले चिनिन्थ्यो । सामोनिक्स शीतल, शान्त, सुन्दर पहाडमा फुलेको लाहुरे फूलजस्तो थियो । बजारको बीचबीचबाट हिमानी बगिरहेथे । बजारबाट वरिपरि जतासुकै अग्ला र सेता हिमालको दर्शन पाइन्थ्यो । हाम्रो भाग्यले नै होला सामोनिक्स पुग्दा सामोनिक्समा मात्र नभई वरिपरिका सबै हिमालहरूमा हिउँजत्तिकै घाम छताछुल्ल फिजिसकेको थियो । हिमालका छेउकुनाबाट निस्केर कतैकतै कुहिरोले पनि हिमाल र घामसँग आँखा लडाइरहेको थियो । मान्छेहरूको भीड थियो सामोनिक्समा । केवल कारबाट हिमालको काखमा लुटपुटिन चाहनेहरू र स्की खेल्न चाहनेहरू सबैमा खुशीको सीमा थिएन ।

सामोनिक्समा गाडीबाट ओर्लंदा घाम लागे पनि औधी जाडो थियो । संसारका विभिन्न भागबाट पुगेका मान्छेहरू बाक्ला र न्याना कपडाहरूमा सजिएका थिए । ४८०७ मिटर उचाइको मँ ब्लँ पुग्न ३८४२ मिटर अग्लो अल्ग्युली दि मिदी  नामको शिखरसम्म केबलकारमा जान सकिने भएकोले टिकट किनेर प्रवेश ग¥यौँ । करीब पचाससाठी जना पर्यटकलाई एटै केवल कारले बोक्यो र सिधै उकालो लाग्यो । उकाली चढ्दा हिमाल छोइएलाझै भइरह्यो । यात्रुहरू  गद्गद् थिए । मेरो छेउमै फ्रान्सकी मिचेल फ्लावियन नामकी एउटी अधबैसे थिइन् । मलाई मेरो देश सोधिन् । ‘नेपाल’ मेरो उत्तरमा उनी साह्रै उत्तेजित बनिन् र भनिन् – ‘ए ! तपार्इं त सगरमाथाको देशबाट आउनुभएको रहेछ, मलाई पनि सगरमाथा चढ्ने ठूलो धोको छ ! तपाईले त धेरैपटक चढ्नुभएको होला हैन सगरमाथा ?’  आजसम्म चढेको छैन भन्ने मेरो जवाफमा उनले भनिन् – आफ्नै देशमा भएर पनि सगरमाथा नचढेको ? एल्ग्यूली दि मिदीमा भेटिएका फ्रान्सेली, बेलायती, चिनिया र जापानी पर्यटकहरूबाट पनि मैले पटकपटक यसै प्रश्नको सामना गर्नुप¥यो । कठै ! हामी सगरमाथामुनि बत्तीमुनिको अँधेरो बनेका छौँ । सगरमाथा चुम्ने सपना सपनै बनेको छ बहुसङ्ख्यक नेपालीको लागि । अरूले सोध्दा बिहा नभए पनि जन्ती गएको छु भन्नेबाहेक सगरमाथाको काखमा लुटपुटिन कहाँ पाएका छौँ र हामीहरूले !

सामोनिक्सबाट ५ मिनट केवल कार चढेपछि एकपटक रोकियौँ । पुनः अर्को केवल कार चढेर सीधै उकालो चढ्यौ । समुद्री सतहभन्दा ३८४२ मिटर अग्लो अल्ग्युली दि मिदीको टाकुरामा गएर केवल कार रोकियो । एकाएक स्वर्गमा प्रवेश गरेझैँ लाग्यो । नीलो आकाश ओढेर सारा धरती सेताम्य बनिरहेथ्यो । धूलो–धूवाविना कलिलो घाम शीतल प्रकाश छरिरहेथ्यो । क्षणक्षणमा हिउँजस्तै सेतो बादल उड्दथ्यो धरतीबाट आकाशतिर र क्षणक्षणमा हिउँका केस्रा र ढिक्काहरू ओर्लन्थे आकाशबाट धरतीतिर । स्वर्गीय आनन्दमा संसारैबिर्सन पुगेँ । मेरो मुटु तान्यो हिमालले, मनलाई च्याप्यो हिमालले । मेरा कविताहरू हिउँजस्तै आकार लिइरहेथे मैले बोकेको कागजमा ।

मँ ब्लँवरिपरि ४६३८ मिटर अग्लो माउन्ट रोज  ४४६५ मिटर अग्लो माउन्ट माउदित  र अन्य धेरै चुचुराहरू मुस्कुराइरहेका थिए । बेलाबेलामा बतास चल्थ्यो हिउँका कणहरू बोकेर । बतास मान्छेलाई उडाउलाझैँ गर्दथ्यो । मँ ब्लँवरिपरि कयौँ हिमाली सुरुङहरू बनाइएका छन् हिउँ काटेर । एक ठाउँमा ढुङ्गा काटेर होटल पनि बनाइएको छ । हिउँले ढाकेको ढुङ्गा काटेर बनाइएको विशाल होटलभित्र पस्दा गर्मी महसुस हुने । हिउँमा खेल्दा खेल्दै होटलभित्र पसेर आफूलाई मन लागेको खानेकुरा खाँदै पिउँदै फेरि हिउँमा लुटपुटिन पुग्नेहरू हजारौँ भेट्टिन्छन् । होटलको तातोभन्दा हिउँको सुन्दरताको तातो अझ न्यानो बनेर मभित्र कोषकोषमा घुलिइरहेथ्यो । रोमाञ्चक उत्तेजना पैदा भइरहेथ्यो शरीर र मनमा । अति सुन्दरताको रसपानमा मान्छे समाधिको अनुभूति गर्दछ र बिर्सन्छ सम्पूर्ण भूत र भविष्यहरू । अनजानमै समाधिमा बसेजस्तो अनुभूति भइरहेथ्यो मलाई मँ ब्लँ हिमालमा पुग्दा ।

सँगै गएका अरू साथीहरू हिउँको हावा र हिउँदेखि तर्सनुभयो । उहाँहरू गुफाभित्र बसिरहनुभयो ।मलाई त्यहाँबाट फर्कन मन थिएन । महेशजी र अधिकारीजी पनि हिउँमा खेल्न धेरै हौसिनुभएको थियो । एकपटक त उहाँहरूले जाँघे मात्र लगाएर हिउँमा लडीबुडी खेल्नुभयो । त्यसैले हामीहरू हिउँको गोरेटोमा डोरी समात्दै उकालीओराली गर्न थाल्यौँ । हिउँसुरुङ नाघेर एउटा थली परेको ठाउँबाट असख्य मान्छेहरू स्की खेलिरहेका देखियो । हङकङबाट गएका पाँच–छजना युवा र युवतीको समूहसित भेट भयो । नेपाली भनेपछि सगरमाथा सम्झेर यहीँ तस्वीर खिचौँ भन्ने प्रस्ताव राखे उनीहरूले । तस्वीर खिचियो । अलि माथि चढेपछि डेनमार्ककी एउटी युवती हिंड्दाहिँड्दै चिप्लिन् । मैले नसमातेको भए उनलाई जिउँदो भेट्न गाह्रो पथ्र्यो होला शायद । उनी हर्षले विभोर भइन् र ज्यान बचाइदिएकोमा ग्वाम्लाङ्ग अँगालो हालिन् । तपाईं त मेरो देवता बनेर आउनुभएको रहेछ – उनले धन्यवाद दिँदै भनिन् ।‘देवता छन् भने तपाईं लड्ने र मैले समातेर बचाउने किन नाटक रचेका होलान् ?’ – मेरो प्रश्नले उनी खित्का छोडेर हाँसिन् र बोलिन् – तपार्इं सहयोगी मात्र नभई साँच्चै रमाइलो मान्छे पनि हुनुहुँदोरहेछ । यस्तो रमाइलो परिवेश छ, तपाईंजस्ती हिमपरी भेटिएको छ, अनि कोही नरमाइलो बन्न सक्छ ?’ मेरो हाँसोमा उनको हाँसो अरू थपियो ।

मँ ब्लँ हिमाल र वरिपरिको अरू सेरोफेरो पूरै स्वर्गजस्तै थियो । त्यहाँ पुग्ने जोसुकै पनि जिन्दगीको सबैभन्दा रमाइलो महसुस गर्न सक्तथ्यो । हिउँमा टेक्दा जुत्ताहरू फसफस तलसम्म धसिन्थे । अलि भिरालो क्षेत्रमा चिप्लने डर थियो । भिरालो बाटामा डोरीको व्यवस्थाले गर्दा सुरक्षापूर्वक हिँड्न सकिन्थ्यो । बेलाबेलामा मोटामोटा काला कागहरू उडिरहेका देखिन्थे । सेतो हिउँमा काला कागहरूले कावा खाइरहेको दृश्य हेरिरहूँ जस्तो लाग्दथ्यो । जतिसुकै चिसो भए पनि हिमाली सुन्दरतामा मान्छे मात्र नभई चराहरू समेत आह्लादित बनेको उदाहरण अब्बल बनिरहेको थियो त्यहाँ ।

उद्धवजी, जनार्दनजी र कर्णजी चिसोले आत्तिएर छिटो तल झरौँ भन्दै हुनुहुन्थ्यो । जनार्दनजी उच्च रक्तचापको बिरामी पनि भएकोले श्वास–प्रश्वासमा अप्ठेरो परेको कुरा बताउँदै हुनुहुन्थ्यो । उहाँहरू तीनजनालाई सामोनिक्समा गएर आराम गर्नुस् भन्दा मान्नुभएन । महेशजी, अधिकारीजी र मलाई भने त्यस हिउँमा जत्ति लडीबुडी खेले पनि धित मरेको थिएन ।

हामी नेपालीहरू हिमाली अधिराज्यमा जन्मे पनि हिमाली क्षेत्रका बासिन्दाबाहेक अरूमा हिमशिखरहरूको आरोहणको अनुभव साह्रै कम छ । आन्तरिक पर्यटनको त्यति विकास भइनसकेको, घुमफिरको नाममा एक दुईवटा धार्मिक तीर्थहरूमा र आफ्ना नातेदारहरूकहाँ पुग्नेबाहेक अन्यत्र जाने परिपाटी नभएकोले पनि हिमालहरूमा हाम्रा पाइलाहरूले स्पर्श गर्न सकेका छैनन् । फुर्सदका दिनमा नजिकका गाउँघर, पहाड र हिमालमा पुगेर प्रकृतिसँग साक्षात्कार गर्नुको सट्टा गफ चुटेर, जुवा तास खेलेर वा अर्काको कुरा काटेर समय कटाउनेहरूको जमात पनि हामीकहाँ कम छैन । सधैँ छाक टार्न धौधौ पर्नु र घुमफिरको लागि थोरै खर्चवर्च पनि नजुट्नु हाम्रो लागि घुमफिर योजनामा घातकसिद्ध भएको छ । गोसाईकुण्डको वरिपरि पुग्दा, वा मुस्ताङ बैतडी र डडेलधुरामा यात्रा गर्दा एकदुईपटक हिउँको रासमा पाइला घुसाउनुबाहेक हिउँसँगको साक्षात्कार त्यति लामो थिएन मसँग । टाढाबाट हिमशिखरहरूको दर्शन गर्नु बेग्लै कुरो हो । सन् २००१ मा जापानको भ्रमण गर्दा टोकियो, साइतामा, अन्नाका, ओशाका जस्ता शहरहरूमा हिउँका भुवा छिचोल्दै यात्रा गरेको सम्झदा मन चङ्गा जस्तो फुरफुरिन्छ । यात्राको क्रममा अमेरिका, बेलायत, जर्मनी, बेल्जियम, फ्रान्स, अस्ट्रियाजस्ता मुलुकहरूमा पनि हिमलालित्य नभेटेको होइन । तर मँ ब्लँ हिमालमा भने बेसरी हिउँसँग लाप्पा खेल्न पाएको थिएँ, लडीबुडी गर्थेँ, उफ्रन्थें, चिप्लन्थे, खुशी नै खुशी थियो । साँच्चै आमाको काखमा लुटपुटिएको महसुस गरिरहेथेँ म, मँ ब्लँ हिमालका अङ्गअङ्गमा । मैले जिन्दगीका सबै थकाई बिर्सिएँ रेशारेशामा मन घुसाएर । जिन्दगीमा सर्वोत्कृष्ट आनन्द मिल्ने भएर नै मान्छेहरू विश्वभरिबाट नेपालका हिमालहरू चुम्न ओइरो लाग्ने रहेछन् । मैले सगरमाथाभन्दा करीब आधा उचाइको मँ ब्लँ हिमालबाट सगरमाथा, माछापुच्छ«े, कञ्चनजंघा लगायत नेपालका सवै हिमालहरूलाई र त्यति धेरै सुन्दर हिमालले सजिएकी आमा नेपाललाई मनमनै प्रणाम गरेँ । मँ ब्लँमा पुग्नेहरू रमाएर हिउँसँग खेल्दै तस्वीरमा आफू र हिमाललाई कैद गरिरहेथे । म भने कविता कोर्नमै मस्त थिएँ । कहिले एउटा चुचुरामा, कहिले अर्को खोचमा, कहिले अर्को थाप्लोमा पुग्थेँ म र कविताका हरफहरूमा लहर थप्थेँ ।

हिउँमा लुटपुटिँदा मेरो ज्याकेटका बाहिरी दुई खल्तीमा झन्डै आधाआधा माना हिउँको धूलो पसेछ, चिनीजस्तै । तर शरीरको तातोभन्दा बाहिरी चिसो बढी भएकोले पग्लेको रहेनछ । अल्ग्युलीग्लेदि मिदीमा हिमालभित्र रहेको होटलमा पसेर खल्तीका सबै हिउँ फ्याँकेँ । होटलमै चियाचमेना गरेर केहीबेर मँ ब्लँमै रमाउने विचार गरेका थियौँ म र महेशजीले । ‘जाऊँ न सर अब त’ भन्नुभयो कर्णजीले । खाना पनि सामोनिक्स मै खाने तय ग¥यौँ र फक्र्यौँ दिउँसो २ बजेर ३७ मिनट गएपछि ।

सामोनिक्सतिर फर्कँदा बिहान जस्तै केवल कार समात्यौँ । मँ ब्लँलाई बिदाइको हात हल्लाउँदै सर्र झर्दै थियौँ । हिमालको मध्यभागमा एउटा सानो घर देखियो । छेउमा दुईजना मान्छेहरू गीत गाउँदै नाचिरहेका थिए । शान्ति, सुन्दरता र सन्तोष भेटेपछि मान्छे गीत नगाई सक्तैन । मैले पनि केवल कारमै गाइदिएँ रामकृष्ण ढकालले गाउँने गरेको गीत

“हिमचुलीमा हिउँ प¥यो थाकखोलामा पानी

आऊन मेरो छेउ बस मेरी मनकी रानी”

मेरो भाका सुनेर मेरो छेउमै उभिने जापानी जोडी र नर्वेली जोडी पनि मुस्कुराए र बोले – नाइस

स्थानीय भाषामा ‘मँ’ को अर्थ पहाड  र ‘ब्लँ’ को अर्थ ‘सेतो’ हुन्छ मँ ब्लँ वास्तवमै सेतो नै सेतोको एकाकार रूप थियो । मेरो मन पनि सेताम्य भएको थियो सामोनिक्समा ओर्लँदा ।

बिहानदेखि खाना नखाएकोले भोकले निकै अत्याएको थियो । सामोनिक्स पुग्दा मुक्तिनाथबाट एकैपटक कागबेनीबजारमा झरेभैmँ लागिरहेथ्यो । त्यो सुन्दर शहर सामोनिक्समा रहेको एउटा चिनिया होटलमा खाना खायौँ । शाकाहारी भएकाले मैले मासका टुसा, च्याउ, हरियो लसुन प्याजको तरकारी र भात खाएँ । अरू साथीहरूले पकापक कुखुरा र अरू केकेको मासु पक्याउनुभयो । नेपालमा कुखुरा र चराहरूबाट सार्स रोग सर्छ भन्दै रायोको सागभन्दा कुखुरा सस्तो भएको बेलामा साथीहरूले सामोनिक्समा त्यसको कुनै परबाह गर्नुभएन । फ्रान्समा बस्दा समेत कुखुरा खान डराउनुभएथ्यो उहाँहरू । तर भोकको अगाडि सबैको डर टाढा थियो, टाढै भइदियो । ‘हैन सार्स छैन यतातिर ?’ मेरो प्रश्नको जवाफमा मेरो प्लेटमा रहेको काठच्याउको अचार आफ्नो प्लेटमा हाल्दै जनार्दनजीले बोल्नुभयो – ‘सार्सलाई यही च्याउले छोप्छ क्या ! ।’

सामोनिक्समा रहेको चाइनिज होटलका साहुनी दिदीबहिनीहरू पाहुना सत्कार गर्न साह्रै सिपालु थिए । उनीहरू टुटेफुटेका अङ्ग्रेजी भाषा बोल्दथे । खाना, तरकारी, सलाद, सस, अचार थपीथपी खुवाउँथे । एउटी दिदीले मैले नमागेको हरियो सलाद ल्याइदिनुभयो । ‘यो मैले मागेको थिइनँ’ – भने मैले । ‘तपाईं शाकाहारी भएकाले थप सागपात र फलफूल ल्याइदिएको मूल्य पर्दैन’ – कति मायालु हुनुहुन्थ्यो ती दिदी । हिँड्ने बेलामा सलादको पनि मूल्य दिन अनुरोध ग¥यौँ हामीले । दिदीले मान्दै मान्नुभएन रकम लिन । मैले थाक टुकुचेमा रहेको होटलकी थकाल्नी दिदीलाई सम्भेmँ । गतवर्ष मेरी अर्धाङ्गिनी पार्वती, छोरा दीपेन्द्र, छोरी प्रसून र म मुस्ताङको यात्राबाट फर्कंदा थाक टुकुचेको याक होटलमा वास बसेका थियौँ । होटलकी थकाल्नी दिदीले साँझमा शरीर मालिस गर्न तेल दिनुभयो । रात अबेरसम्म थकाल्नी दिदी र दाइले सुखदुःखका कुराकानी गर्नुभयो । भोलिपल्ट बिदा हुने वेलामा बाटामा हिँड्दा थकाइ लाग्छ खाँदै जानू भनेर फलफूल र चाउचाउको पोको समेत हातमा थम्याइदिनुभएको थियो । मैले सामोनिक्सकी चिनिया दिदीको अनुहारमा हाम्रो थाक टुकुचेकी थकाल्नी दिदीको अनुहार देखेँ ।

सामोनिक्समा एक घण्टा बिताएपछि हामी जेनेभातर्फ फक्र्यौँ । जति हेरे पनि हेरिरहूँ हुने, हेर्दा धित नमर्ने तिनै हिमाली दृश्यहरू आइरहे आँखाभरि । करीब एक घण्टा गुडेपछि फ्रान्स र जेनेभाको सिमाना एउटा सडकले छुट्याएको भेट्टियो । ‘त्यो माथिको डाँडा सालेभ हो सर ! त्यहाँबाट जेनेभा शहर पूरै देख्न सकिन्छ, जाने हो ?’ – महेशजीको प्रश्न । ‘समय बाँकी नै छ जाऊँ न त । जेनेभा राम्रोसँग हेर्न पाइने हो भने’ – मेरो जवाफ । आधा भाग हिउँको खास्टो ओढेर मुस्कुराइरहेको देखिन्थ्यो सालेभ ।

त्यहाँको प्रकृति मलाई कविता लेख्न लगाइरहेथ्यो । गाडीको अघिल्लो सिटमा बसेर लेख्दै थिएँ म । ‘हैन सर आज एउटा पनि हाइकु सुनेको छैन । हाइकु  सुनौँन’ – कर्णजीले आग्रह गर्नुभयो । अरू साथीहरूले पनि होमा हो मिलाउनुभयो । मैले अघिल्लो दिन जेनेभा तालको किनारमा लेखेको तीनओटा हाइकु सुनाएँ –

१. हरिया फाँट

आँखा झार्दै बादलु

बैँसालु घाम

२. आकाश छेड्यो

पानीको फोहराले

उन्मत्त ताल

३. दर्कंदो झरी

डुब्न लागेको घाम

मनमा तिमी

कर्णजी र जनार्दनजी जेनेभा र फ्रान्सको बीचबाट सालेभ जादैँ थियौँ भन्ने भावको हाइकु खोज्दै हुनुहुन्थ्यो  । तर पटकपटकको प्रयासमा पनि अक्षरको ठिक्क आकार भेट्नुभएन उहाँहरूले । कहिले बढी हुने कहिले कम । ‘अक्षर मात्र मिलाएर मात्र पनि हाइकु हुँदैन ।’– मैले भने । एउटा हाइकु बनाउनुस् त सालेभ जाँदाको – उहाँहरूको आग्रह थियो । मैले सुनाइदिएँ –

सालेभछँटा

बायाँ रङ्गीन फ्रान्स

दायाँ जेनेभा

वा ! तपाईं त साँच्चै कवि हुनुहुन्छ । हामीले ४० मिनेटदेखि बनाउन नसकेको हाइकु तपाईंले दुई मिनटमै तयार गरिदिनुभयो । – उहाँहरू खुशी हुनुभयो ।

अङ्गुरबारीको बीचबीचमा रहेका गाउँहरू र गाउँको बीचबीचमा रहेका सडक हुँदै सालेभतिर उकालो चढ्दै थियौ हामी । गाउँहरू पूरा सुनसान थिए । हाम्रा गाउँहरूमा भए मान्छेहरू आँगन, पिँढी, फलैँचा, चौतारीमा बसेर गफ मारिरहेका भेटिन्थे । तर त्यहाँ त कोही देखिँदैनथ्यो घरबाहिर । सडकहरू धेरै थिए । तर सालेभ जाने वास्तविक सडक खुट्याउन गाह्रो परिरहेथ्यो हामीलाई । करीब सवा घण्टा गाउँगाउँ चहार्दा पनि न सालेभ जाने सडकको पहिचान हुन्छ न भेटिन्छ गाउँमा मान्छेनै । कि गाडीभित्र, कि घरभित्र रहन्छन् त्यहाँका मान्छेहरू । बल्लतल्ल एउटा घरनजिकैको बगैचामा एउटी अधबैँसे महिला काम गरिरहेकी देखियो । त्यहीँ नजिकै गाडी रोक्नुभयो अधिकारीजीले । हातमा एप्रोन, पाउमा गमबुट लगाएकी ती महिला अङ्गुरको बिरुवा रोप्दै हुनुहुन्थ्यो । उहाँले सालेभ जाने बाटो त धेरै टाढाबाट छुटिसकेको जानकारी दिनुभयो मीठो बोलीमा । फर्केर सालेभ जाने हो भने अझ दुईअढाई घण्टा लाग्ने जानकारी पायौँ । दिन धेरै बाकी नभएको हुँदा सालेभ जानु सम्भव नभएकोले त्यो कार्यक्रम टुङ्ग्यायौँ । तैपनि धेरै उचाइमा पुगिसकेकोले गाडीबाट ओर्लेर जेनेभा शहरको दर्शन ग¥यौँ । वरिपरि हिमाली डाँडायुक्त उपत्यकामा हरियो पछ्यौरी ओढेर जेनेभा तालको शीतलता र शान्ति समेट्दै मुस्काइरहेथ्यो जेनेभा शहर । हिमाल, नदी, ताल, हरियाली, उचाइ, समथर आदि प्रकृतिका सबै वेशभूषाबीच समृद्ध शहर बनेर बाँचिरहेछ जेनेभा । गाउँमा हओस् वा शहरमा जतासुकै शान्ति समृद्ध र सद्भावमा बाँचेको छ जेनेभा । हामीहरू सालेभ जाने बाटो नभेटेर हराएका थियौँ तापनि जेनेभाको सौन्दर्य र त्यहाँका मान्छेको सद्भावको मीठो अध्यायमा हराएको थिएँ म । मैले एकटक लगाएर जेनेभा शहर हेरेँ, जेनेभा वरिपरिका सौन्दर्यशाली, हिमाल, पहाड र झरनाहरू हेरेँ । नजीकै उभिएकी अधबैँसेले मुस्काउँदै मसँग केहीबेर कुराकानी गर्नुभयो । सोध्नुभयो – जेनेभा शहर साँच्चै राम्रो लाग्यो ? शहर राम्रो लाग्यो कि यहाँका मान्छेको मन ? तपाईको मन अङ्गुरभन्दा अझ मीठो पाएँ मैले – मेरो जवाफमा भर्खर पाक्न लागेको कालो अङ्गुरको गुलाबी रङ्गजस्तै गाला बनाउनुभयो लाउराले । करीब १५ मिनट शहरको दृश्यावलोकनपश्चात् गाडी चढ्यौँ हामी । फर्कनेबेलामा अधबैँसेले मलाई भन्नुभयो – ‘नबिर्सनुहोला’ । तपाईं पनि – मैले भनेँ र बिदाइको अभिवादन गर्दै फर्केँ ।  

हामी चढेको गाडी होन  नदीको किनारैकिनार जेनेभा शहर पसिसकेको थियो । होन नदी जेनेभाको बीचबाट बग्दछ र जेनेभा तालको निकासमा मिसिएर बाहिरिन्छ । हामी नदी र ताल छोडेर संयुक्त राष्ट्रसङ्घको लागि नेपालको स्थायी नियोगको कार्यालयमा ।

स्विट्जरल्यान्डको चकलेट प्रसिद्ध छ । छोरी प्रसूनको चकलेट–प्रेम मलाई रमाइलो लागिरहेथ्यो । चकलेट भनेपछि हुरुक्क हुन्छिन् पोक्ची ! – म मनमनै छोरीको अनुहार सम्झेर मुस्कुराएँ । फ्रान्स र बेल्जियमबाट केही चकलेट किनेको थिएँ । स्विट्जरल्यान्डमा पनि केही चकलेट किन्ने विचारले बजारतिर बाहिरिएँ । साथमा जनार्दनजी पनि आउनुभयो । गाडीमै घुम्ने विचार ग¥यौँ । वेदनिधि अधिकारीजीले साथ दिनुभयो हाम्रो प्रस्तावलाई । गाडीमै घुम्यौँ । साँझ ६ बजिसकेकोले सबै डिपार्टमेन्ट स्टोरहरू बन्द भैसकेका रहेछन् चकलेट किन्न सकिएन ।

साँझ पर्दै थियो । शहरमा फाट्टफुट्ट बत्ती बल्दै थियो । शहरको एउटा व्यस्त टोलबाट गुड्दै थियो हाम्रो गाडी । रुद दे बन  नामको त्यस टोलमा जतासुकै होटल र रेस्टुरेन्टहरू थिए । तिनका ढोकामा र भित्रतिर राता बत्तीहरू झिलिमिली बलेका देखिन्थे । रेस्टुरेन्ट र होटलको अघिल्तिर विभिन्न रूप, रङ्ग र उमेरका युवतीहरू सिँगारिएर कोभन्दा को कम भन्दै हाउभाउको प्रदर्शन गर्दै थिए । “यो यौन बजार हो सर” वेदनिधिजीले बताउनुभयो –– ‘यिनीहरू सबै ग्राहक कुरेर बसिरहेका ।’ म झस्केँ । मैले त तिनीहरू अरु नै काम विशेषले बसेका होलान् भन्ने सोचेको थिएँ । तीमध्ये कतिपय युवतीहरू पारदर्शी कपडामा पारदर्शी छाता ओडेर उभिएका थिए । तिनीहरूलाई देख्दा देहव्यापारमा लागेका जस्तो लाग्दैनथ्यो, खेलाडी जस्ता लाग्थे । कतैकतै काली र मोटी थसुल्लीहरू पनि हाउभाउ कटाक्ष गर्दै ग्राहक डाक्दै थिए । बीचबीचमा यौन पसल  लेखिएका पसलहरू थिए । त्यहाँ रबरले बनाइएका नारी र पुरुषका अङ्गहरू, यौनमूलक चलचित्रका क्यासेटहरू र यौन उत्तेजना बढाउने औषधिहरू बेच्न राखिएका देखिन्थे । पारदर्शी छाता ओडेर घुँडासम्म पुग्ने छालाको बुट पहिरेका दुई खेलौनाले गाडीभित्र बसेका हामीलाई हातैले आह्वान गरे । नितम्बको केही भाग मात्र छोपिने मिडी र स्तनको आधा भाग मात्र घेरिने वस्त्र पहिरेका ती पुतलीहरूले हिउँलाई हिङ बराबर पनि मानेका थिएनन् ।

‘जनार्दनजी ! तपाईंलाई पुतलीहरूले निम्ता गरे । – मैले जिस्क्याएँ ।

म बूढालाई के वास्ता गर्थे ! तपाईंजस्तो युवकलाई बोलाएका हुन् क्या – जनार्दनजी हाँस्नुभयो ।

नजाने गाउँको बाटै नसोध्नू भनेझैं मैले अधिकारीलाई फर्कने सङ्केत गरेँ । गाडीबाटै दायाँबायाँ हेर्दै रुद दे वनबाट नियोग–प्रमुख श्री ज्ञानचन्द्र आचार्यको निवास पुग्यौँ । त्यहाँ आचार्य–दम्पती हामीलाई कुरिरहनुभएको थियो । मिनिस्टर काउन्सेलर गोपाल थापाजी तथा तृतीय सचिव दधिराम भण्डारीका दम्पत्ती पनि उपस्थित भइसक्नुभएको थियो ।  

प्रकाशित: २७ श्रावण २०७७ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App