५ माघ २०८२ सोमबार
image/svg+xml
विचार

चुनौतीपूर्ण समाजवादी यात्रा

नेपाली कम्युनिस्टहरूको धु्रवीकरण र एकताको सन्देश मुलुकमा तीव्र गतिमा छाउन थालेको छ। नेपाली कम्युनिस्ट आन्दोलनको तेस्रो संकटपूर्ण महाधिवेशनपछि गठित चौथो महाधिवेशनको पृष्ठभूमिमा क्रमशः मसाल, एकताकेन्द्र, माओवादीमा विकसित कम्युनिस्ट आन्दोलनको एउटा हिस्सा र पूर्वी कोर्डिनेसन, झापा विद्रोह, माले, एमालेको पृष्ठभूमिका कम्युनिस्ट आन्दोलनबाट विकसित एकीकृत समाजवादीको अर्को हिस्सा र अन्य कम्युनिस्ट घटकसहित १० वटा कम्युनिस्ट पार्टीहरू गत २०८० असोज १९ मा विधिवत रूपमा एक भई सोही दिन राजधानीको भृकुटीमण्डपमा एकता सम्मेलन सम्पन्न भयो।

कात्तिक २८ गते संविधानतः निर्वाचन आयोगबाट विधिवत रूपमा नेपाली कम्युनिस्ट पार्टी दर्ता भएको प्रमाणपत्र प्राप्त भयो। नेपाली कम्युनिस्ट आन्दोलनका हिमायती र आफ्नो आबद्धता जनाउनेहरूका लागि यो निकै खुसी र हर्ष साबित भएको छ। पूर्वमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका पूर्वअध्यक्ष माधवकुमार नेपालको पहलबाट नेपाली कम्युनस्टिहरूको पुनः एकता र एकीकरणको यो यात्रालाई नेपाली कम्युनिस्टहरूले विगतका टुटफुट पुनरावृत्तिको त्रासबिचमा स्वागत गरेका छन्।

नेपाली कम्युनिस्ट आन्दोलनको उत्पत्ति र यात्रा कठिनाइपूर्ण छ। २००६ मा गडन भएपछि नेपाली कम्युनिस्ट पार्टी नेता, नेतृत्व, प्रवृत्ति, पात्र, सबल पक्ष र दुर्बल पक्षबिच गुज्रँदै आएको छ। नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास त्यति धेरै लामो छैन तर रोचक र तीव्र विकासक्रम छ।

२०३६ सालमा विद्यार्थी राजनीतिबाट कम्युनिस्ट आन्दोलनमा आबद्ध हुँदा नेपाली कम्युनिस्ट आन्दोलनका पृष्ठभूमि जम्मा ३० वर्षको थियो। अहिले हामीले आफ्नै आँखाले देखेको र भोगेको ४६ वर्ष पार गरेको आधा शताब्दी सन्नीकटमा नजिकबाट अध्ययन विश्लेषण गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको यात्रा निकै ताजकी, अध्ययनयोग्य, कष्टपूर्ण र यो आन्दोलनको भावी यात्रा कस्तो हुन्छ भन्ने मनमनै खुलदुली चलिरहन्छ।

सामन्ती एकाधिकारवाद, सबै खाले विभेद र अन्याय–अत्याचारको धरातलमा उभिएको राणा शासन र पञ्चायती शासकलाई कमजोर बनाउँदै गणतन्त्रसम्मको यात्रामा देश छ। संकटपूर्ण यात्रामा अगाडि बढ्ने कम्युनिस्ट विचार, राजनीति र दर्शनले नेपाली जनतामा परिवर्तनको चेतना खुुलाएको छ तर नेपाल यस्तो देश भयो, प्रत्येक परिवर्तनलाई संस्थागत उपलब्धिमा बदल्न सकिरहेका छैनौं। कम्युनिस्टहरूको योगदानतिर फर्केर हेर्दा उपलब्धिको ग्राफ न्यून छ। क्षतिको ग्राफ बढी देखिन्छ। यो हुनुमा २०४६ सालको जनआन्दोलनपछिका परिघटनालाई हेर्नुपर्ने हुन्छ।

२०४६ सालको जनआन्दोलनले नेपालको राजकीय शक्तिको एकाधिकार राजाबाट जनताले आधा हिस्सामा ल्याएकै हुन् तर राणा शासनमा प्रजापरिषद् र २००७ सालयता नेपाली कांग्रेस नामबाट गठित यो दलको एकाधिकारवादी सोचका कारणले मुलुकलाई त्रिकोणात्मक द्वन्द्वमा प्रवेश गर्न बाध्य तुल्यायो।

नेकपा एमाले संसदीय गोलचक्कर र अर्को शक्ति नेकपा (एकता केन्द्र) माओवादीको गठनसँगै जनयुद्धको घोषणा गरी सशस्त्र युद्धमा प्रवेश गर्न बाध्य हुनु नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ यात्रा थियो। २०६२/६३ मा बृहत् शान्ति सम्झौताको माध्यमबाट मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ राज्य प्रणाली निर्माण गर्न सफल भयो। संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेसी समानुपातिकसहित नयाँ राज्य प्रणालीलाई सम्बोधन गर्ने नयाँ संविधानको अभ्यास र कार्यान्वयनमा मुलुक प्रवेश गर्‍यो।  

नेपाली कम्युनिस्ट आन्दोलनको यो ७६ वर्षको लामो यात्रामा विभिन्न प्रवृत्ति र पात्र जन्मे। तेस्रो महाधिवेशनदेखि यताको अवस्थालाई २०४६ सालको जनआन्दोलनसम्म हेर्दा कम्युनिस्टहरूले यो मुलुकमा जनअधिकार स्थापनाका लागि लामो त्याग, तपस्या र बलिदान गरे।

तेस्रो महाधिवेशनमा केशरजंग रायमाझीको राजापरस्त नीति र लामो समयसम्म मनमोहन अधिकारीको चीन निर्वासन, मोहनविक्रम र निर्मल लामाको जेलयात्राको घटनाक्रमले नेपाली कम्युनिस्ट आन्दोलनले निकै चुनौती ब्यहोर्नुपर्‍यो। निर्मल लामा र मोहनविक्रम जेलमुक्त, झापा आन्दोलनको भ्रूणले मुलुकमा कम्युनिस्ट आन्दोलनको नयाँ काँचुली फेर्दै गयो।

पूर्वी कोर्डिनेसन कमिटीको गर्भबाट जन्मेको मालेको झापा आन्दोलन, चौथो महाधिवेशनको गर्भबाट जन्मेको सर्लाहीको भकारी फोर आन्दोलन, जुगेडी र पूर्तिघाट लगायतका स्थानहरूमा भएको क्रान्तिकारी संघर्षको उपजलाई दबाउन पञ्चायती शासकहरूले निकै कसरत गरे।

२०४२ सालको पञ्चायतको रजतजयन्तीमा पञ्चायती व्यवस्थालाई निर्विकल्प घोषणा गरेका थिए। तर त्यसको चार वर्षपछि २०४६ सालमा पञ्चायत ढल्यो। यो बेलासम्म हजारौं क्रान्तिकारीहरूलाई हत्या, यातना र बेपत्ता पारियो।

सबै जनपक्षीय परिवर्तनकारीले इतिहासतर्फ फर्केर कहाँ उपलब्धि भयो, कहाँ कमजोरी रह्यो, हामीले सत्य बोल्न जरुरी छ। नेपाली कम्युनिस्टहरूले २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा पहिलो पटक प्रधानमन्त्रीसहित सरकार गठन गर्न सफल भए। कम्युनिस्टको नेतृत्वमा गठन भएको सरकारले २००६ सालदेखि घोषणा गरेका न्यूनतम कार्यक्रम पनि कार्यान्वयन गर्न सकेन भन्ने आम जनगुनासो रह्यो।

सशस्त्र युद्धको पृष्ठभूमिमा शान्ति प्रक्रियामा आएको माओवादीको नेतृत्वमा गठन भएको सरकारले समेत नेपाली समाजको पिँधमा भएको जनताको भावनालाई सम्बोधन गर्न सकेन भन्ने भ्रमपूर्ण गुनासो बाक्लै रूपमा देखा परेको थियो।

नेपालमा गणतन्त्र स्थापना भएपछि लगभग सबै वामपन्थी दलले सिद्धान्त र निष्ठामा माक्र्सवादी चिन्तन र लेलिनवादी संगठनात्मक पद्धतिलाई आत्मसात गरेजस्तो देखाए पनि संसदीय संरचनामै घुमफिर गरिरहे। उनीहरूले नेपालमा विकसित राज्यसंयन्त्रलाई उत्पीडित जनताको पक्षमा अझै पनि सोझ्याउन सकिरहेका छैनन्।

नेपालको संघीय अभ्यासलाई जनतामा अनुभूति दिलाउन नसकेको कारणले संघ र प्रदेश सरकारको उत्तरदायित्व कमजोर भएको छ। यस्तो अस्थिर अभ्यासले समकालीन नेपालको राजनीतिक अवस्था दिन प्रतिदिन क्षय र अक्रमण्यतामा परिणत हुने खतरा बढ्दै गएको छ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न वैचारिक अस्पष्टताका कारणले पुराना सबै दललाई एउटै डालोमा राख्ने प्रयत्न भइरहेको छ। यस्तो अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनको प्रभावकारिता र जनस्तरमा देखिनुपर्ने विश्वसनीयता संसदीय स्वार्थको घेरामा घुमिरहेको छ। विचार, सिद्धान्त, दर्शन र योगदानको विषय इतिहासका पानामा कैद हुन बाध्य भएको छ।

यो मुलुकका उत्पीडित जनताले सबै प्रकारका कठिनाइ भोग्नुपरेको तितो सत्य जगजाहेर छ। नेपालका कम्युनिस्टहरूले गरेको योगदान, त्याग, तपस्या र बलिदानलाई संस्थागत गर्न कम्युनिस्टहरूबिच एकता गर्न नसक्नु नै मुख्य कमजोरी हो।

 मुलुकका ठुला कम्युनिस्ट दल एमाले र माओवादीबिच एकता भई दुईतिहाइको नजिक पुग्दाको क्षण नेपाली कम्युनिस्टहरूमा खुसीको क्षण थियो तर दुई वर्ष नहुँदै जुन विभाजनको सिकार भयो, त्यसले पालैपालो नेपाली कांग्रेसलाई च्यापेर कम्युनिस्टहरू सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा पुर्‍यायो। जेनजी आन्दोलनबाट विकसित परिघटनामा कम्युनिस्ट प्रधानमन्त्री बेपत्ता हुन बाध्य हुनुपरेको र राजधानीको हेडक्वाटरबाट टाढा जान बाध्य भएको घटनामा कम्युनिस्ट पार्टीको पगरी मात्र गुथेको व्यक्तिको अहम्ता, एकाधिकावादी सोच र नोकरसाही कार्यशैली कारक देखिन्छ।

अब नेपाली कम्युनिस्ट आन्दोलनलाई समाजवादी आन्दोलनमा अगाडि बढाउने यात्राको कार्यदिशा निर्माण गर्ने कार्यभार वर्तमान नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा आएको छ। यो कार्यभार पूरा गर्न विभिन्न कालखण्डका छरिएर बसेका कम्युनिस्टहरूलाई एकत्रित गर्ने, विगतका टुटफुट, विभाजन, तिक्तताको अनुभवलाई सच्याउँदै बृहत् नेपाली कम्युनिस्ट एकतालाई सैद्धान्तीकरण गर्ने काम गर्नुपर्छ।

कम्युनिस्ट आन्दोलनको विविध प्रवृत्तिलाई नियन्त्रण गर्ने, कम्युनिस्ट आन्दोलनको नकारात्मक प्रवृत्तिबाट जनतालाई बचाउने र शिक्षा दिने, नेपाली विशेषतासहितको समाजवाद स्थापनाको आन्दोलनलाई सशक्त र तीव्र बनाउने चुनौती छँदैछ। प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपालमा श्रमजीवि र उत्पीडित जनताप्रति उत्तरदायी हुने समाजवादको निर्माण गर्ने अभिभारा नेपाली कम्युनिस्टहरूको काँधमा आएको छ।  

प्रकाशित: १ माघ २०८२ १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App