२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

कोरोना

लघुकथा

त्रिलोचन ढकाल

कोरोना भाइरसका त्रासले देशमा लागू गरेको लकडाउन  तीन दिनदेखि अन्त्य गरेको छ सरकारले ।

शिक्षक रामेशको दिनचर्या भने उस्तै छ । उनी दिउँसो घरको सेरोफेरोमा तरकारी बारीमा रमाउँछन । साँझ पर्नुभन्दा अगाडि बेलुकाको हिंड्डुलमा निस्कन्छन् । उनी प्रायः एक्लै हिंड्छन ।

उनी मन्द गतिमा हिंड्दै गर्दा हल्ला सुनियो । अलि अगाडिको प्रतीक्षालयबाट आएको रहेछ हल्ला । उनी उहीँ पुग्छन । त्यहाँ आठदश जना मानिस देख्छन् । उनीहरू तास खेलिरहेका रहेछन्  । कोही अगाडि बसेर तास पछारिरहेका छन् । कोही पछाडि टाँसिएर यसो गर र उसो गर भनिरहेका छन । त्यो देखेपछि रामेशले भने, ‘कोरोनाले सिर्जना गरेको भयानक समयमा किन भीडभाड गर्नु भएको ?’  

–लकडाउन त सकियो नि सर ।

– लकडाउन सकिए पनि कोरोना झन् बढिरहेको छ । अब झन होसियार हुनुपर्छ ।

– तैपनि सर हामीले भीडभाड गरेको होइन । तास खेलेको हो ।

– यसो मनोरन्जन पनि गर्नुपर्‍यो नि सर ।

– कति घरमा कोचिइरहनु ? उकुसमुकुस भयो र बाहिर निस्केको ।

– हाम्रो गाउँमा कोरोना आएको छैन क्यारे सर । त्यो पनि पहाड  उक्लन सक्तो रहेनछ । उतै शहरमा र सम्म ठाउँमा दौडेको छ ।

– लौरो लगिदिऊँ न सर त्यसलाई । यता पनि आउँथ्यो कि ?  हामीले त दर्शनै पाइएन । कस्तो छ कस्तो ।

– होहो सर होहो, लौरो लगिदिनु न कोरोनालाई ।

हँस्सीमजाक गर्दै पालैपालो बोले सबैले ।  

– यो मजाकको विषय होइन । हत्यारा भाइरसको कुरा हो । सन्सारमा गनेरै नसकिने मान्छे मारेको छ । थाहा छ नि तपाईहरूलाई ?

– एकपटक मर्नै पर्ने हो क्यारे सर । मरे मरिएला त ।

– घरमा छोराछोरी र बूढा बाआमा पनि होलान् नि ? उनै मरे भने कस्तो हुन्छ ।  तपाईहरूले भाइरस लगेर सार्नुहुन्छ र बालबच्चा मार्नुहुन्छ ।

वातावरण स्तब्ध भयो । तास फ्याँकेर सबै घरतिर गए ।

प्रकाशित: १२ श्रावण २०७७ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App