१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

लोकराज भट्टका ३ कविता

कविता

लोकराज भट्ट

तमसुक

मेरा तागतले ठड्याएका महलहरूमा  

मिठो निन्द्रा पिउँदैछन् धेरैका सन्ततिहरू  

आफ्नै घरको छानो

वनमाराका भुक्काहरूले हरियो भैसक्दा पनि

पौरख बिहिन भएको छु अचेल।  

 

बैंशमा घाँटी ठड्याएर बोकेका

देबस्थलका खाँबाहरू

उचालेका भडाँरका भराईनाहरू  

सम्झाई रहन्छन् कुप्रिनुको ब्यथा

दुखाई रहन्छन् मक्किएको शरीर।  

 

सम्झिउँ भने दुःखको धरातल

मेटिएका छैनन् डोला बोकेका काँधका डामहरू

हेराँै भने आफ्नै पीडाका आकृति  

पुरानै आकारमा छन् हत्केलाका ठेलाहरू

उमेरको प्रवाह नगरी  

हिडाँै भने युगको पुरानो बाटो

फुटिसके खुट्टाका पैतालाहरू।  

 

बदलिएला भनेको दुःखको स्वरुप

उल्टै ओखलमाथी मुसल बजारिएसरी  

लगातार बजारिंदैछ जिन्दगीमाथी

झल्याकझुलुक हुन्छन् आँखामा

आँटेर बिताएका उनै दिनहरू  

 

हरेकसाल जब म मच्चाउथें बहर

ऊ छुपु–छुपु रोप्दै

फाँको चपाएर कटाउँथी असार।  

 

नीलो आकाशमा टुक्रा–टुक्रा

बादलका गुल्टा देखिए जस्ता

सेतो गामुनमा

प्रष्ट देखिन्थे टाढैबाट टालाहरू  

प्यारीलाई नौलो गामुन र चोलो किनिदिन पाए  

कति खुसी हुँदि हो बिचरी,

कहिल्यै सकिएन किन्न।  

 

हामीले टेको दिएर थामेकाथ्यौं  

मालिकका असार र कात्तिकलाई

चैतको भोकमा कसैले थामेनन् हाम्रा दुःख

अभावमै टालिएको गामुनको फालले

जहानले पुछिरही आँखामा बर्सिएको झरी।  

 

मैले कयौ हलगोरु फटाएँ आजसम्म

फटाउन सकिएन दुःखको तन्ना

कयौका आँगनमा बोकेर पुर्याइएको थिएँ खुसी

आफ्नै जहानका परेली ओभानो बनाउन सकिएन

फाँको चपाएर के टारिँदो हो पेटको जलन

ग्यासट्राइटीसले ग्रस्त छे श्रीमती।  

 

हिँड्दाहिँड्दै जिन्दगीको घुम्ती

घुमिरह्यो उही चक्र  

मालिकको उपकार गर्दैमा

बाउबाजे सकिए, म सकिएँ

धमिराको टोकाइले  

घरका झ्यालढोका सकिए

सकिँदै गर्दा अनेकथरी  

हाम्रो दुःखको मुलजरो

मालिकको सन्दुकमा राखेको तमसुक त

नखुईलिएछ,  नमैलिएछ  

जस्ताको त्यस्तै छ अझैसम्म पनि ।

 

रेडियो नबजेको साँझ

दुखिनी बौजु

एक्काइसौं शताब्दीको टल्किने टुकी

अझै पुगेनछ तिम्रो घरमा

छानोमाथी सवार बिजुलीको तार देख्दा

कति पुलपुलाउदो हो तिम्राबच्चाहरूको मन्

ती बच्चाहरूलाई के थाहा

अध्यारो घरमा कस्तो छ अभावको कहानी  

एकातिर साबुन नदेखेका लत्ताहरूले  

गिज्याइरहेछन् तिम्रो गरिबीलाई

अर्कोतिर झिँजो आइरहेछ

महङ्गीको बजारबाट।  

 

झर्को नमान

तिम्राबच्चाहरू अरुका जस्ता छैनन्

फाटो लगाइदिएका छन्

नखाइदिएर रँगेल्दैनन् साँझ

भोकै भए पनि चुपचाप निदाइदिन्छन्

अध्यारो घर कुनामा

गुन्द्रीमाथी सपनाहरू ओढेर निदाइरहन्छन्।  

 

झ्यालबाहिर हेर्दा देख्दैछौ

वरवर निष्पट्ट भएर  

आईरहेछ अध्यारो रात

तिमी बाहेक  

सरकारी बत्ती बालेर

निदाइरहेका छन् सबै घरहरू  

ओटालोमा ओछ्याइएको गुन्द्रीमाथी

मिठो निन्द्रामा घुरिरहेकाछन् तिम्रा बच्चाहरू।  

 

तिमी दुःखको मलम सोच्दै

बिरहीका भाकाहरू बज्लानकी भनेर

बजाउन खोज्दैछौ साथी जस्तै रेडुवा

 

देश जस्तै टुट्दै थामिँदै  

टुक्रा–टुक्रा भएको छ एरियल

बेहालसँग छोडेर सिमाना

चुँडालिएको छ तानी

बाँकी रहेको भन्नु त्यही एउटा भोलुम हो

त्यो पनि एकनासले निमोठिरहेकी छौ तिमी

सेल सकिए होलान्

तार चुँडालियो होला

नभए खराब भयो होला रेडुवा

खराब भएको रेडुवाले  

बुझाउन सक्दैन गरीबहरूको मन।  

 

दुखिनी बौजु भैगो

ननिमोठ रेडुवाको भोलुम

बच्चाहरू बिउँझिन सक्छन ।

 

पुरा जिन्दगीको आधा हक

दिदी !

तिमीले धान कुट्ने ओखल

दाउरा जाने वन  

तिमीलाई देख्दा बाँईं गर्ने मालिगाई

पिठ्युँमा झुण्डिएर कचकच गर्ने भाई

सबै यहीँ छन्

तिमी त गैजान्छु पो भन्छौ।  

 

पाईला मिलाएर गोरेटोमा

सिकाएकी हौ बचपनको लोरी

गट्टा खेलेर सुन्तलाको बोटमुनी

उडाएकी हौ धुलो

यही आँगनमा बिताएकी हौ

गांैथलीका बचेरा जस्तो कलिलो उमेर

यही गाउँमा फूलाएकी हौ

दारिमका फूलजस्तो सुनौलो आयाम।  

 

तिमी गए पछि त

उराठ लाग्नेछ गाउँको गोधुली

उदास देखिने छ डाँडामाथीको आकाश

समयमा बल्ने छैन् अगेनामा आगो

आमाको आँखामा बढीरहने छ आँशुको वजन।  

 

सधैंका लागि बिरानो मानेर जन्मघर

सम्झिँदै हौली

आफ्नै बेहोसीमा सङ्गीनीहरूले बगाएका आँशु

डाँडाको धुरी ननाघुन्जेल

नजरले भेटेसम्म

फटफटाई रहने पछ्यौरीको फट्को  

धुवाँ उडिरहने घरको माने झ्याल  

हाम्रै बिस्कुन खाएर

कम्पाखिमा गुड बुन्ने भगेराहरू।  

 

चेलीलाई पठाई सकेपछि पराइघर

लुकीलुकी रुने सबैका बा उस्तै हुन्

बाले भनेको नमान्नु

देखिनौ

नबेच्नु भनेर मैले जति रोईकराई गरे पनि

बाले बेचि पठाएको कोरेली

कहिल्यै आएन फर्किएर

तिमी पनि गएपछि नफर्किने त होला?

 

सुनेको छुँ

पराई भइसकेकी चेलीका

स्वतन्त्र भएर चाहेको बाटो हिँड्नलाई

आफ्ना खुट्टाहरू आफ्ना हुँदैनन्  

स्वतन्त्र भएर हल्लाउन

आफ्ना हातहरू आफ्ना हुँदैनन्  

मनपरी जिस्किन र रमाउन

आफ्ना साथीहरू आफ्ना हुँदैनन्  

आफ्नो खुसीले केही हेर्न

आफ्ना आँखाहरू आफ्ना हुँदैनन्  

साँच्चै दिदी !

बिना मन्जुरी  

आफ्ना लागि आफ्नो केही नहुने  

अर्काको अधियाँ खेत बनाए जस्तो

चेलीको जिन्दगी

आधामात्रै आफ्नो हुँदो रहेछ

आधा जिन्दगीमा हक जमाउने त अरुनै हुन्छन्।  

प्रकाशित: ७ श्रावण २०७७ १६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App