coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रयाग न्यौपानेका २ कविता

कविता

प्रयाग न्यौपाने

गतिलो पाठ सिकायौ कोरोना तिमीले  

सर्वसाधारण मात्र होइन

संसारका मै हुँ भन्ने

साम्राज्यवादी साँडेहरू पनि

त्रसित छन् यतिबेला ।

 

मंगल ग्रहमा घडेरी किन्नेहरू

ठूलाठूला बिमान, रकेट बनाउनेहरू

अणु बम र मिसाइल पड्काउनेहरू

आत्म समर्पण गर्दैछन् तिमीसँग ।

 

आज आफ्नो हैसियत र सामर्थ्य

पहिचान भएको छ उनीहरूलाई

पैसा र शक्तिको होडमा

मानव अस्तित्व बेचबिखन गर्नेहरू

आफैं छट्पटाइरहेछन्

मरूभूमिको काकाकुल बनेर ।

 

राजनैतिक शक्तिको आधारमा

जातपात, लिङ्ग र धर्मको नाउँमा

मानव - मानव बीचमा

लक्ष्मणरेखा कोर्ने दुष्टहरू

आज आफैंदेखि आफैंसँग

टाढा टाढा भाग्दैछन्

कायर भएका छन् यतिबेला

थर्कमान् छन् तिनीहरू ।

 

संसारलाई आफ्नै हत्केलामा

नचाउँछु भन्नेहरू

सर्प, बिच्छी, चमेरा पचाउनेहरू

तिम्रो अगाडि उखलेको मूला भएका छन्

आफूलाई भीमकाय हात्ती संझिनेहरू

मुसो भएर दुलोभित्र पसेका छन् ।

 

प्राकृतिक सम्पदाको दोहन गर्नेलाई

प्रकृतिलाई आफ्नो बसमा पार्छु भन्नेलाई

दरो झापड दिएको छौ

एउटा गतिलो पाठ सिकाएका छौ ।

 

अब फिर्ता जाउ कोरोना !

स्थिति झन् झन् भयावह हुँदैछ

मानव अस्तित्व नै संकटमा पर्दैछ

यस्तो परिस्थितिमा

अब तिमी शान्त हुनैपर्छ

के धनी, के गरिब, के ठूला, के साना

सबै सबै आतंकित छन्

अब फिर्ता जाउ कोरोना ।

 

मासु र साग

तिम्रो उपस्थिति

हरेक पार्टीमा

वनभोजमा

या

यस्तै विशेष समारोहमा

अनिवार्य देख्छु आजकल ।

लाग्छ

संसारका महत्त्वपूर्ण

वस्तु भन्दा पनि

तिमी विशिष्ट हौ ।

तिम्रा प्रिय साथीहरु

ह्विस्की, ब्राण्डी, रम, वाइन

अथवा घरचुवा

तिमीसँगै रमाउँछन् ।

मानौ

तिमी विना उनीहरू

अपूर्ण छन् ।

 

पार्टी होस् या रेष्टुरेन्ट

डान्सबार होस् या कुनै सामान्य भट्टी

हरेक ठाउँमा तिमी हुन्छौ ।

कहिले कवावमा, कहिले भुटनमा

कहिले सेकुवामा, कहिले ब्वाइलमा

अथवा

छोइला, कचेला केके हो केके ।

 

तिमी दंग छौ

आफ्नै परिकारको घमण्डले

बेलुन फूले झैं डम्म फूलेका छौ

दम्भ छ तिमीलाई

आफू मासु हुनुमा

रमेका छौ

आफ्नै लोकप्रियताको

क्षणिक उन्मादमा ।

तर याद गर प्रिय मासु

समय सधैं एकनास कहाँ हुन्छ र !

तिमी कुहिएको दिन सिनो बन्नेछौ

गह्नाउनेछौ डङ्डङ्ती

र वस्ती नै दुर्घन्दित पार्ने छौ

तर ........

म कुहिएर पनि गुन्द्रुक बन्नेछु

र प्रत्येकको भान्सामा

मगमगाई रहेको हुनेछु ।

प्रकाशित: ६ श्रावण २०७७ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App