१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

उमेश लुइटेलका ५ कविता

कविता

उमेश लुइटेल

छोरीलाई कविता

मेरो जन्मदिनको कामना गर्दै

जब तिमीले शुभकामनाका तागतिला शब्दहरू व्यक्त गछ्र्यौ  

सोच्छु, तिनै शब्दका सामथ्र्यले म बाँचिरहेछु ।

 

जिन्दगीका हरेक एकाङ्कीमा तिम्रो फूलजस्तो अनुहार

मेरो मगजभरि छमछमी नाचिरहन्छ

म एकाएक उल्लासको उपत्यकामा

भुर्रभुर्र उडिरहन्छु।

 

म बेस्कन सम्झन्छु

ती दिनहरूमा मैले कैयन पटक

अक्षरको बगैँचामा शब्दका पातहरू चुमेर

तिम्रो नाम लेख्न सिकाएँ

ती अबोध जिद्दीहरूमा प्रेमिल रिस देखाउँदै

कुनै शासकलेझैँ कलिला हातहरू च्याप्प समाउँदै

तिमी हिँड्ने बाटोमा सँगसँगै रमाइरहेँ।

 

जब म कविता लेख्न बस्छु नि

मेरा हरेक बिम्बहरूमा तिम्रा चञ्चल आँखाहरूले  

प्रेम गरिरहे जस्तो लाग्छ

कविताका हरेक बान्कीहरूमा  

तिम्रै माधुर्य प्रकाशित भए जस्तो लाग्छ।

हो, मेरी परम् प्रिय छोरी

वर्षौँदेखि तिमी मसँगै हुनुको मिठो सत्यता

तिम्रो रगतमा मेरो भावना बहनु

मेरो ढुकढुकीमा तिम्रै चित्र ढुकढुकिरहनु

कति प्यारो लाग्दो रहेछ !

 

हेर त ! आज पनि आकाशको त्यो जूनले

तिम्रै मुस्कान सापटी लिएर मुस्कुराइरहेछ

घामले तिम्रो आक्रोश सहन नसकेर

काला बादल च्यातेर उदाइरहेछ

तिम्रा स्पर्शले निराशाका चट्टानहरु धुलो धुलो भइरहेछन् ।

 

तिमी हुनु भनेकै जीवनको सम्पूर्णता हो रहेछ

जुन दिन तिमी आफ्ना गतिशील हिँडाइले

प्राप्तिको शिखर टेक्छ्यौ

बुझिदिनु

त्यसदिन म त्यहीँ मुस्कुराइरहेको हुनेछु

खुसीले मग्न हुँदै तिम्रै कविता लेखिरहेको हुनेछु ।

 

नदीभित्र आगो

म अस्वाभाविक, असामान्य

क्रोमाटोग्राफीको अभावले छुट्टिन नसकेको एक रङ।

 

मेरो आकाश शब्द बर्साउँछ

धरातल बिम्ब उमार्छ

मिथकहरू जब्बर रात उधारेर

फूर्तिला झिसमिसे झुल्काउँछन्

यद्यपि म अनुभूत गर्छु आफूलाई

छालले हिर्काएको किनारमा रूपान्तरित भइरहेको।

 

अनिर्णित आवश्यकताहरूको माला पहिरिँदै

यहाँ जिन्दगीको दियो धिपधिप छ

यसबेलै भोक पनि सुतुरमुर्ग प्रतीत हुन्छ

अपसोस! भावना वर्तन बन्न सक्तैन

भोजन हुन सक्तैन

तर पनि मित्र! म त्यस्तो स्पर्श दिनेछु

जस्तो कि मरूभूमिमा चिसो बतासले देओस्

पीडादायक घाउमा मल्हमले देओस्।

 

तिमी अद्र्धनग्न नाच्दै पुलकित हुन्छौ

म पातमा टल्किरहेको शीत हेरेर पुलकित हुन्छु

हामीमा फरक यत्ति हो

तिमी यन्त्रवत् चल्छौ मदिरालयमा

र नङ्ग्य्राइरहन्छौ सभ्यतालाई

म धुम्धुम्ती कविता खोप्छु

त्यस्तो परिवर्तनका लागि

जस्तो कि पानी बर्सनासाथ खडेरी बिलाउँछ

बादल फाट्नासाथ आकाश उज्यालिन्छ ।

 

बादल आकाशमा तैरिएसरि

यसबेला म भरियाको पीडामा तैरिरहेछु

उता तिमी उपेक्षाका तरबार चम्काउँदै

टुक्र्याइरहेछौ कलमलाई

त्यसैले होशियार मित्र !

अहिले मेरो कविताको नदीमा आगो बगिरहेछ ।

 

बुख्याचा  

तिमीले हेरचाह गरिरहेको खेतबारीमा

चराहरू निस्फिक्री उडिरहेको देखेर

असीमित बधाई दिन मन लाग्छ–

प्रिय बुख्याचा !

 

यो सत्य हो, पिताकोझैँ सुरक्षित ठानेर

तिम्रा काँधहरूमा चरा रमाइरहन्छन्।

 

झोलुङ्गा जस्ता हातहरूमा आरोही बनेर  

शिरको सगरमाथामा पाइतालाले तबला बजाउँदै

चुच्चाको सनाही घन्काएर  

निश्छल सङ्गीत गुन्गुनाइरहन्छन्।

 

यति हुँदासम्म

तिमीमा मौनता र शालीनता देखेपछि

मलाई लाग्छ

म मान्छेकै प्रतिलिपि बनेर

बलजफ्ती बुख्याँचाका नाममा  

डरको बदनाम प्रतिबिम्ब ठड्याइरहेछु।

 

आज तिमीदेखि कृतज्ञ हुँदै सोचिरहेछु

वर्षौँदेखि भ्रमको सिँहासनमा बसेर

अभिमानी मुटु धड्काइरहेछु

या त मेरै कुरुप हृदयको पुत्ला उभ्याइरहेछु।  

 

झरी

झरी नपथ्र्यो त

म एक्लो हुन्थेँ ।

 

झरीले रुझाउँदा मलाई

चुकचुकाउँछौ तिमीहरु

र सम्झाउँछौ आफ्ना नानीहरुलाई

त्यो दुखीयारी मनुवा भिजेजस्तै भिज्नु हुँदैन ।  

 

म दृष्टान्तै सही

यद्यपि बुझ्छौ के

झरीसँगै म हिँड्छु

र तिमीहरु निथ्रुक्क भिज्नु र काँप्नुको पीडा अनुभूत गर्छौ ।

 

यो दूर सद्भाव हेरेर खुसी हुन्छु

बरन्डाबाट बर्सिरहेका  

तिमीहरुका सहानुभूतिका नजरका कारण

म मान्छेकै बस्तीमा छु जस्तो लाग्छ ।

 

तर बिन्ती छ  

सम्झाइदेऊ भर्भराउँदा ती नानीहरुलाई

कि छानुहीनहरु मात्र झरीमा बेपरवाह भिज्छन् ।

 

यथार्थत: तिमीहरुसँग होइन

उनीहरुप्रति मेरो आशा अझै जीवितै छ ।

 

साँध

बलेसी आँखाहरू  

भागा नहुने अवसर खोज्दै

गुणन मात्रै भइरहने पीडा बगाइरहन्छन्।

 

अभावका यानमा खलपत्र परेका जिन्दगीका

धरमर उडानहरू

आशातीत शिखर चुम्न सक्तैनन्।

 

बस् ! यही प्रकरण बीच  

राहत गुञ्जाउने वादका हिमायतीहरू

चोकचोकमा नयाँ आयामको कम्पास बोकेर

पातलिएको आँसुमा हेलिँदै

भोकका मुखमा लात्ती बजारिरहन्छन्।

 

सायद, विभेदको एउटा नदी

वर्षौँदेखि यसरी नै साँध बनेर

हामीलाई अलग्याउँदै हुनहुनाइरहन्छ।

प्रकाशित: ३ श्रावण २०७७ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App