८ वैशाख २०८१ शनिबार
कला

प्रधानमन्त्री संसदमा बोलेपछि जन्मिएको गीत 'बेसार पानी'

बेसार पानीकाे बेजाेड व्यंग्य

यतिबेला ‘बेसार पानी’ लोक फ्युजन गीतको चर्चा सांगीतिक बजारमा चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना रोकथाम तथा नियन्त्रणका  विषयमा संसदमा बेसारको उपयोगिताबारे बोलेका थिए। प्रधानमन्त्रीको यही अभिव्यक्तिपछि 'बेसार पानी' गीत जन्मिएको यसका सर्जकहरु बताउँछन् । गीतले भ्रष्टाचारमाथि बेजोड व्यंग्य प्रहार गरेको छ।  

सर्जक प्रदीप त्रिपाठी, किशोर नेपाली र प्रदीप तिवारीले ४५ घण्टाभित्र  गीतको शब्द, संगीत,  रेकर्डिङ र  भिडियो निर्माण गरेका हुन्।  

गीत रचना

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बेसार पानी र तातो पानी खाएर तथा हाच्छिउँ गरेर कोरोना भगाउन सकिने अभिव्यक्ति दिए, जुन हास्यास्पद थियो । यसैलाई धेरैले ट्रोल बनाए।  बेसार पानीले  टिकटक रंगियो। फेसबुकमा बेसारे फोटाहरू पोस्ट गर्न थालियो।  

उनीहरूलाई पनि प्रधानमन्त्रीको अभिव्यक्तिले छोयो। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिमा लय भर्न थाले, शब्द थपथाप गर्न थाले। यसै क्रममा सिर्जना भयो–  

बेसार पानी खाको भए मर्ने थेनन् त्यति त

हामी जनता कति अल्छी गर्न सक्थ्यौं यति त

खानी रे खानी रे

केपी बाले भनेको

कोरोनाको औषधी त बेसार पानी रे

सन्देश दिनका लागि बेसार पानी गीत रचना गरिएको उनीहरूको भनाइ छ।  ‘ठट्टाले देश चल्दैन।  प्रधानमन्त्रीले त्यसरी अभिव्यक्ति दिएको सुहाएन,’ उनीहरू भन्छन्, ‘कलाकारले समाज तथा देशमा देखिएका विकृतलाई उतार्न पाउनुपर्छ। गीतमा त्यस्ता अपशब्द राखिएका छैनन्। भ्रष्टाचारका विषय समेटिएका छन् ।’  

समाजसेवा

कोरोना संक्रमण नेपालमा देखिएसँगै सरकारले बन्दाबन्दी  घोषणा गर्योद। मानिसमा एक किसिमको त्रास पैदा भएको थियो। बेरोजगारी बढ्दै गएको थियो।  उनीहरू पनि घरमै थुनिएर बस्नुपर्ने अवस्था आयो। कोरोना र भोकको  चपेटामा परेका मानिसहरू देखे, भेटे। जसले उनीहरू मन रोयो। यसरी नै हात बाँधेर बस्न सकेनन्।

‘सामाजिक सञ्जालमा राहत बाँडेको देखियो, यस काममा सरकारभन्दा सर्वसाधारण बढी सक्रिय भए। हामीले ‘थैली’ अभियान सुरु गर्यौंभ,’ उनीहरूले भने।

उनीहरू चितवन–मुग्लिनसम्म बाटोमा बेखर्ची भएकालाई खाना दिँदा  स्वेच्छामा १४ हजार रुपैयाँ खर्च गरेको सुनाउँछन्।

त्यस्तै, उनीहरूले थैली अभियानमार्फत  ९३ घरधुरीलाई राहत बाँडे। यो राहत पोखरा र तनहुँमा बाँडिएको हो।  पुलिस प्रशासनले राहत बाँड्न उनीहरूलाई रोक्यो। ‘जहाँ पनि राजनीति हुने रहेछ,’ किशोरले गुनासो गरे, ‘श्रमिकको रोजगारी खोसिएको छ। यस्तो बेला सरकारले राहत उपलब्ध गराउनुपर्ने हो, गराएन। तर, स्वेइच्छाले राहत बाँड्न पनि दिइएन।’

प्रदीप तिवारीले थपे, ‘हामीले बाटोमा बेखर्ची भएकालाई सकेको सहयोग गर्दै थियौं। तर, सहयोग गर्न दिइएन। एउटा युवा भएको नाताले संकटको बेलामा पनि समाजसेवा गर्न दिइएन। हामीमा एक किसिमले निराश भएका थियौँ।’

भेटघाट

किशोर नेपाली पहिलेदेखि नै कलाकारितामा थिए। उनी नृत्य सिकाउँछन्।  म्युजिक भिडियोमा अभिनय गर्छन्। ‘म सानैदेखि गीत गाउँथे। मलाई संगीतभन्दा अन्य क्षेत्रमा लाग्न मन लागेन। यसरी नै मेरो गीत संगीतप्रति मोह जाग्यो,’ उनले भने।  

किशोर नेपालीको बाल्यकाल तनहुँमा बित्यो। पोखरा खैरेनी चोकमा उनको आफ्नै स्टुडियो छ।  

प्रदीप त्रिपाठीले  कलाकारिताको यात्रा सुरु गरेको १५ वर्ष भयो। उनी लोक गीत गाउँछन्। उनका धेरै लोक गीतले राम्रैसँग बजारमा प्रभाव छोडेका छन्।  

त्यस्तै, प्रदीप तिवारी पोखरामा व्यवसाय गर्थे। साथीभाइको संगतले संगीत यात्रामा हाेमिए ।  

चितवनका त्रिपाठी, पोखराका तिवारी र तनहुँका नेपालीबीचको मित्रता तीज गीतको निर्माणले जुराइदिएको हो। उनीहरूको मित्रता अविछिन्न रूपमा अघि बढ्दै ‘बेसार पानी’ गीतसम्म आइपुगेको छ। यो मित्रताले लामो यात्रा तय गर्ने उनीहरूकाे भनाइ छ ।

प्रकाशित: १७ असार २०७७ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App