७ वैशाख २०८१ शुक्रबार
कला

विवश वस्तीका दुई कविता

१) मदन ढुंगेलको सुसाइट नोट

 

दुःखद् खबर सुनेँ एकदिन,

‘मदन ढुंगेलले आत्महत्या गरे’ ।

पत्याइनँ मैले सुरुमा,

‘सपना देख्ने मानिसहरू आत्महत्या गर्दैनन्’ ।

थिएन उनमा आत्महन्ता चरित्र ।

 

मतदाताहरूले पनि अचम्म मान्दै भने,

‘अठ्चालीस सालमा मैले भोट दिएको मान्छेले  

कसरी यस्तो अप्रिय काम गर्न सक्छन् ?’

 

तर, सत्य थियो खबर

उनले वर्षौंदेखि सुमसुम्याउँदै आएको विचारको डोरीलाई  

एकदिन

निरंकुश दलिनमा झुन्ड्याए  

र, बेरे उनले आफ्नै घाँटीमा निर्ममतापूर्वक सुर्केनी

गरे सहजै आत्महत्या ।

 

आत्महत्या गर्नु सामान्य विषय थिएन

विस्तारै खुल्दै गए–

उनको आत्महत्याका कारणहरू ।

 

अठ्चालीस सालदेखि नै चिन्छु म उनलाई

निम्छरो गाउँ–बस्तीहरूमा डुल्दा

दुना–टपरीमा  

भात पस्किएको छु मैले उनलाई

हात्ती छाप चप्पलको जमानामा

जङ्गलका डेबर, अररी, क्यात्तुकेका तिखालु काँडाहरू छिचोल्दै

उनीसँगै नापेको छु मैले सयौं पाइला

कुनै डान्सबारमा छमछमी नाच्ने नर्तकीको

भावभंगिमा भन्दा हजारौं गुना बढी थियो,

उनको सौन्दर्य–शोभा

जसले भोगिरहेछन् आज स्खलनका गहन पीडा

 

के भन्न सकिँदो रहेछ र मान्छेको जिन्दगीलाई ?

तर गरे उनले आत्महत्या,

र, लेखे एउटा मार्मिक सुसाइट नोट,

जसमा धेरै कुरा अंकित थिए–

जीवन

घर–व्यवहार

धूप, नैवेद्य

आकाश पातालका कुराहरू...।  

 

उनको सुसाइट नोट पढेर आतंकित भए–

उनकै इमानदार मतदाताहरू

उनले प्रशिक्षण दिएर फलामझैं दह्रा भएका कार्यकर्ताहरू

उनले नापेका डाँडा, पाखा र पखेरीका ऊर्जावान मस्तिष्कहरू ।

 

यो युगकै एउटा ठूलो दुर्भाग्य ठान्छु म,  

मदन ढुंगेलको सुसाइट नोटलाई ।

 

२) दाँत

 

अचेल मेरा दाँतहरू कीराले खाइरहेका छन् ।

प्रत्येक दिन सानदार ब्रस

र, अनगिन्ती जडिबुटीको समिश्रणयुक्त पेस्टले माझ्छु म आफ्ना दाँतहरू

राख्छु सधैँभरि सफा,

घोट्छु कहिले निमका हरिया डाँठले  

पखाल्छु कहिले खरानी–पानीले

तपाईंहरूले यत्ति बुझ्नुस्–

म दाँतलाई असाध्यै माया गर्छु ।

 

केही दिनयता भने

केही मामुली कीराले सताइरहेका छन् मेरो दाँतलाई

सलबलाइरहेका छन् ती कीराहरू दाँतको भित्री तहसम्मै

(धेरैले भनिरहेका छन्, ती घरेलु कीरा होइनन्

कुनै आमन्त्रित कीराहरू हुनुपर्छ  

तिनले दिने पीडा अथाह हुन्छ, अथाह ।)

दाँतको शक्तिप्रति उठाइरहेका छन् तिनले थुप्रै प्रश्नचिह्न

खाइरहेका छन् मेरो दा“तलाई– कट्कट्, कट्कट्, कट्कट् ।  

शरीरको सबैभन्दा चमकदार वस्तु नै दाँत हो ।

 

तपाईं हाँस्नुस्,

तपाईंको हाँसोको प्रतिनिधित्व गर्छ दाँतले

रुँदा पनि दाँत नै भावविव्हल बन्छ आरम्भमा

दाँतले पछ्याए भने कठोरताको यात्रा

रेट्न सक्नु हुन्न तपाईंले

–जीवनको प्रिय भ्वाइलिन ।

 

देख्छु, देशका नामुद राजनेताहरूलाई

देख्छु, देशको कायाकल्प गर्ने संकल्प बोकेकाहरूलाई

देख्छु, कथित सेलिबे्रटी अनुहारहरूलाई

अफसोस,

अचेल सबै–सबै नै तल्लिन छन्– आफ्नो दाँत सफा गर्न  

क्रियाशील छन्– आफ्नो दाँत चमक्क चम्काउन ।  

दाँत फेर्नेहरूको त ठूलै ताँती लागेको छ अचेल ।

 

दाँत फेर्न धेरै सजिलो पनि छ

तपाईं कीराले खाएको बहाना खोजेर दाँत फेर्न सक्नु हुन्छ

दाँतको जह्रा कमजोर भएको हल्ला फिँजाएर

फेर्न सक्नु हुन्छ तपाईं

बाल्यकालदेखिकै आफ्नो प्रिय दाँत

अथवा,

साइज नमिलेको निहँु झिकेर हुन्छ कि

वा, गिजालाई हैरान खेलाएको बहानाबाजी थोपरेर हुन्छ

तपाईं कुनै पनि अनुकूल समयमा

आफ्नो दाँत फेर्न सक्नु हुन्छ

तर, दाँत फेर्नुअघि सावधान †

अचेल दाँतभन्दा धेरै नै सजिलो भएको छ,

–विचार फेर्न ।

000

प्रकाशित: ६ असार २०७७ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App