१२ असार २०८१ बुधबार
image/svg+xml
कला

स्कुल भवन बनाउन ‘नेपथ्य साँझ’ हुने

काठमाडौं – नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले आगामी फागुन १७ मा राजधानीमा कन्सर्ट गर्ने भएको छ। मंगलबार नेपालयले प्रेस विज्ञप्तिमार्फत नेपथ्यले भृकुटीमण्डपमा आगामी फागुन १७ मा ‘शिक्षाको लागि संगीत’ कन्सर्ट गर्ने जानकारी गराएको थियो।

भूकम्पपछि निर्माणाधीन अवस्थामा रहेको दोलखाको एउटा सरकारी स्कुलको भवन पुनर्निर्माणको लागि रकम जुटाउन आयोजना हुन लागेको कन्सर्टमा नेपथ्यले आफ्ना नयाँ र पुराना गीतहरू प्रस्तुत गर्नेछन्। कन्सर्टबाट उठेको रकम दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणमा उपयोग गरिने जानकारी ब्यान्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले दिए।

‘यसअघि विसं. २०७२ सालको विनाशकारी भुइँचालोका बेला नेपथ्यले प्रधानमन्त्री राहतकोषमा दुईपटक गरेर सोझै दस लाख रुपैयाँ र विदेशका केही कन्सर्टहरुबाट उठेको रकमसमेत गरी झण्डै चालिस लाख रुपैयाँ सहयोग गरेको थियो। यो कन्सर्ट त्यसैको निरन्तरता हो,’ उनले भने। ब्यान्डले अस्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित कन्सर्टबाट उठेको रकमलाई भूकम्प पीडितहरुकै सहयोगका लागि समर्पित गरेको थियो। यस कन्सर्टमा हेल्प नेपाल नेटवर्कले नेपथ्यसँग सहकार्य गरिरहेको छ।

नेपथ्यसँग सहकार्य गरी ‘शिक्षाका लागि संगीत’ कार्यक्रम आयोजना गरी दोलखाका बालबालिकाको शैक्षिक भविष्य उज्यालो पार्ने काममा जुट्न पाउँदा खुसी लागेको हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले बताए।

दोलखाको सो सरकारी स्कुल पुनर्निर्माण कार्यको विसं.२०७३ चैत १५ मा औपचारिक उद्घाटन भएपनि अझ निर्माणाधिन अवस्थामा रहेको छ। स्वीकृति प्राप्त डिजाइनअनुसार यो स्कुल भवन बनेपछि यसबाट तीनसय जना विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन्। आधारभूत सुविधायुक्त यो भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ।

‘नेपथ्यले आफूलाई मनोरन्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि संलग्न हुँदै आएको छ,’ ब्यान्डका गायक अमृत गुरुङले भने, ‘स–साना नानीहरुका आधारभूत शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने यो कन्सर्टमा गाउन उत्साहित छु।’

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App