७ वैशाख २०८१ शुक्रबार
कला

एसइईपछिको अध्ययन

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई)को नतिजा प्रकाशण भएपश्चात् उच्च शिक्षा अध्ययनका लागि कुुुन विषय, कहाँ, किन, कसरी, कहिले पढ्ने भन्ने खुलदुली विद्यार्थी र अभिभावकमा हुनु स्वाभाविकै हो। विद्यालय शिक्षाको महŒवपूर्ण खुड्किलाका रूपमा लिइने यस परीक्षा पासपछि अध्ययन गरिने विषयले भविष्यको बाटो तय गर्छ। एसइई उत्तीर्ण भएपछि भविष्यमा अपनाउने पेसागत दक्षताका लागि आवश्यक उच्च शिक्षा अध्ययनका लागि विषय र शिक्षण संस्था छनोटमा सावधानीपूर्वक विशेष ध्यान दिनुपर्छ। 

अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ‘वल्लो घाट न पल्लो तीर’ भएर हन्डर खाएका धेरै उदाहरण छन्। त्यसकारण एसइई पार भएका विद्यार्थीलाई श्रमबजारमा सहज प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमै  सल्लाह र सहयोग गर्न सरकार र सरोकारवाला पक्षले कन्जुस्याइँ गर्नु हुँदैन। श्रमबजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसरका साथसाथै चुनौती थपिँदै गएका छन्। यस्तो बदलिँदो परिवेशको श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न समयको मागअनुसार अध्ययन गर्ने विषयको छनोट होस पु-याएर गर्नुपर्छ। 

कुन विषय, किन र कहाँ पढ्ने ? अभिभावक र अनुभवीका सल्लाह–सुझाव विद्यार्थीलाई मार्गदर्शन बन्न सक्छन्। विद्यार्थीको चाहनाअनुसार पठनपाठन व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकहरूको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ। गुणस्तरीय पठनपाठनका लागि सहज वातावरण तर्जुमा गर्न क–कसले के–के भूमिका निर्वाह गर्नुपर्ला ? यस्ता प्रश्नका जवाफ खोज्न  विद्यार्थी, अभिभावक, शिक्षण संस्था तथा राज्यबीच सहकार्य र समीक्षा गरी गम्भीरतापूर्वक समयमै  दूरदर्शी निष्कर्षमा पुग्नु बुद्धिमानी हुन्छ। उच्च शिक्षाको खुड्किला टेक्न तयार भएका विद्यार्थीलाई सरकार र सरोकारवाला पक्षले इमान्दारीपूर्वक उचित सल्लाह र सक्दो सहयोग गर्ने आआफ्ना जिम्मेवारी निर्वाह गर्न चुक्नु हुँदैन।

अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ‘वल्लो घाट न पल्लो तीर’ भएर हन्डर खाएका धेरै उदाहरण छन्। त्यसकारण एसइई पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा प्रदान गर्नेतर्फ सरकार र सरोकारवाला दुवै पक्षले समयमै उचित सल्लाह र सहयोग गर्नुपर्छ।

वास्तवमा विद्यार्थी आफैँलाई मात्र आफ्नो खुबी थाहा हुन्छ। त्यसकारण आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा मात्र उच्च शिक्षाका लागि विषय छान्ने निर्णय गर्नुपर्छ। कुनै पनि विषय सानो हँुंदैन। आफूले पढेका विषयमा सतही ज्ञान मात्र हासिल नगरेर विशेषज्ञता नै हासिल गर्नुपर्छ। पढ्ने विषय रोज्दा आफ्नो रुचि, क्षमता, शिक्षण संस्थाका साधन–स्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि कुरामा विशेष ध्यान दिनुपर्छ। शिक्षण संस्थाका विज्ञापन तथा ब्रोसियरमा लेखिएका कुरामा मात्रै विश्वास नगरी त्यसका शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधन–स्रोतको पर्याप्तता, मानवीय सुसम्बन्ध, भौतिक संरचना, फराकिलो विद्यालय हाता, खानेपानी, शौचालय, सरसफाइ आदिको स्थलगत अवलोकनले मात्र वास्तविकता बुझ्न सकिन्छ। भविष्यमा अपनाउने पेसा, त्यसको श्रमबजार तथा आफूले छानेको विषय पढ्न आवश्यक लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताका विषयमा यर्थाथपरक भएर गम्भीर विश्लेषण गर्नाका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनोटको निष्कर्षमा पुग्नु उचित हुन्छ।

विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरूलाई भन्दा उनीहरूकै अभिावकलाई बढी थाहा हुन्छ। छोराछोरीको इच्छाविपरीतका विषय जबर्जस्ती पढ्न लगाउँदा निरन्तर असफलता हात लाग्दा हुने मानसिक तनावले आत्महत्याजस्ता अप्रिय घटनासमेत हुने गरेको पाइन्छ।  छोराछोरीको क्षमता र रुचिअनुसारका विषय छनोट गर्न बाबुआमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ। उनीहरूको भावना कदर गर्दै अध्ययन गरेका विषयगत उपलब्धिका आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहन गरिनुपर्छ। जसका कारण भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न उनीहरू सक्षम होउन्। छोराछोरीको विगतका शैक्षिक उपलब्धिको पृष्ठभूमि जान्न सम्बन्धित शिक्षण संस्थासँग सम्पर्क गरे अझ सार्थक हुन्छ। त्यस्तै एक जिम्मेवार अभिभावकले आफ्नो आर्थिक हैसियत ख्याल गर्दै पढाउने शिक्षालयको शिक्षण संस्थाको प्रचारप्रसारको वास्तविक धरातलसमेतको अध्ययन–अवलोकन गरेर मात्र छनोेट गरेको खण्डमा पछि पछुताउनु नपर्ला।

शिक्षा प्रदान गर्ने सामाजिक एवं परोपकारी दायित्व लिएका शिक्षण संस्थाले पनि आफ्नो साधन–स्रोत र शैक्षिक उपलब्धिको हैसियतबारे नढाँटी इमान्दारीपूर्वक जानकारी गराउनुपर्छ। किनकि मानवीय संशाधन विकास गर्ने अभिभारा भएकाले यदि त्यसमा हेलचक्र्याइँ गरिए व्यक्ति, समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ।  त्यसकारण त्यस्तो दूरगामी असर पार्ने शिक्षण संस्थाले क्षणिक लाभका लागि बेइमानी गरेमा प्रकारान्तरमा स्वयंका लागि आत्मघाती कदम नहोला भन्न सकिन्न। अतः प्रचलित नीति, नियम इमान्दारीपूर्वक अनुसरण गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्था निश्चय नै भविष्यमा ख्याति कमाउन सफल हुन्छ। सार्थक, दूरदर्शी सोच राखेर मात्रै अनुशासित वातावरणमा शिक्षण संस्था सञ्चालन गर्नुपर्छ।

भनिन्छ– ‘बाली लगाउन कम्तीमा ६ महिना, फलफूल रोप्न १० वर्ष र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन सय वर्षको योजना बनाउनुपर्छ।’ देखासिकी गरी धुरी चढ्नुको साटो गम्भीरतापूर्वक संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भावना अध्ययन, अनुसन्धानपछि मात्र शिक्षण संस्था सञ्चालन गर्ने निष्कर्षमा पुग्दा फलदायी हुन्छ। शिक्षण संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासिल गर्न व्यवस्थापन चुस्त–दुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नुपर्छ। विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रका रूपमा संस्थालाई स्थापित गर्ने उद्देश्यका साथ व्यवस्थापन निर्देशित हुनुपर्छ। विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरि मानेर शैक्षणिक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ। त्यसका लागि राज्यको सहयोग र सकारात्मक नीति–नियम अपरिहार्य हुन्छ।

सरकारी/गैरसरकारी तथा राष्ट्रिय÷अन्तर्र्राष्ट्रिय विभिन्न संघसंस्थाबाट प्रदान गरिने छात्रवृतिबारे जानकारी राख्न अल्छी गर्नु हुन्न।  तोकिएका सेवा–सर्तअनुसार शिक्षण संस्था सञ्चालन भएका छन् कि छैनन् नियमनका लागि सरोकार निकायबाट निरन्तर अनुगमन निरीक्षण अपरिहार्य हुन्छ। मनोमानी शुल्क लिने प्रवृति निरुत्साहन गर्न पारदर्शी र औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ। शिक्षण संस्थालाई विद्यार्थीका उपलब्धिप्रति जवाफदेही बनाउन राज्य र स्वयं सेवाग्राही चनाखो हुनुपर्छ।
पूर्व जिल्ला शिक्षा अधिकारी

प्रकाशित: १० असार २०७६ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App