तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिम ट्रेनिङ सेन्टरले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुरुषतर्फ रुकुम पश्चिम ट्रेनिङ सेन्टरले शनिबार बुढानीलकण्ठ भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो। तीन टोली रहेको समूह ‘सी’ मा जित निकाल्दै रुकुम पश्चिम ट्रेनिङ सेन्टरले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
रुकुम पश्चिमबाट पाकिस्तानका माजर अली, वालिद खान र अहमद खान खेलेका छन् तर रुकुम पश्चिम खेलमा पूर्ण हाबी हुन भने सकेन। रुकुम पश्चिमले पहिलो खेलमा बुढानीलकण्ठ भलिबल क्लबको चुनौती सहजै पन्छ्यायो। रुकुमले बुढानीलकण्ठलाई २५–१९, २५–२१ र २५–२१ ले हरायो।
पुरुषकै खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि जित निकाल्यो। आर्मीले सोझो सेटमा जित निकाले पनि कोशीले तीनै सेटमा निकै चुनौती दियो तर कोशी सेटमा अन्तिम समय लय गुमाउँदा असफल भयो। पहिलो सेटमा आर्मीले २५–२३ ले आफ्नो पक्षमा राख्यो।
दोस्रो सेटमा भने कोशीले दबाब बनायो तर कोशीले म्याच पोइन्टनजिक पुगेपछि गल्ती गरेपछि आर्मीले फाइदा लियो। अन्तत् यो सेट पनि आर्मीले २७–२५ ले आफ्नो बनाउँद्र बलियो आत्मबल बटुल्यो। तेस्रो सेटबाट कोशीले खेलमा फर्कने प्रयास गर्यो तर सफलता पाउन सकेन। आर्मीले फेरि २७–२५ ले खेल आफ्नो पक्षमा राख्यो।
समूह ‘डी’ मा जितसँगै आर्मीले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। महिलातर्फ न्यु डायमण्ड युथ स्पोटर्स क्लब र एपिएफले जित आत्मसात् गर्यो। चुली युवा क्लबमाथि २५–१०, २५–५ र २५–१५ ले सहजै हराउँदै सुखद सुरुआत गरेका छन्।
दोस्रो खेलबाट न्यु डायमण्डले चर्चित स्पाइकर प्रतिभा मालीको साथ पाउनेछिन्। महिलामा कुल आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ। समूह ‘ए’ मा यु डायमण्ड र चुली युवासँगै त्रिभुवन आर्मी क्लब र एभरेस्ट महिला भलिबल क्लब छन्।
आर्मीले पहिलो खेलमा एभरेस्टलाई हराउँदै सुखद सुरुआत गरिसकेका छन्। शनिबार नै भएको अर्को खेलमा समूह ‘बी’ एपिएफले मधेश प्रदेशमाथि ३–० का सोझो सेटमा जित निकाल्यो। विभागीय टोलीसँग मधेशले सन्तोषजनक प्रदर्शन गर्न सकेन। एपिएफले मधेशलाई २५–४, २५–५ र २५–४ ले सहजै हरायो।
यस समूहमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश स्पोटर्स काउन्सिल छन्। पहिलो दिन पुलिसले पनि सुदूरपश्चिमलाई हराउँदै सुखद सुरुआत गरिसकेको छ। यस च्याम्पियनसिपमा महिलातर्फ आठ र पुरुषमा १२ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
यस प्रतियोगिताबाट पुरुषमा शीर्ष आठ र महिलामा शीर्ष ६ क्लबले प्रधानमन्त्री कप एनभिए लिग खेल्नेछन्। पुरुषमा समूह ‘ए’ मा हेल्प नेपाल, एपिएफ स्पोटर्स क्लब र मणिमुकुन्द क्लब, समूह ‘बी’ मा पुलिस, ढोरपाटन र खिल्जी युवा क्लब, समूह ‘सी’ मा रुकुम पश्चिम ट्रेनिङ सेन्टर, बुढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल क्लब तथा समूह ‘डी’ त्रिभुवन आर्मी क्लब, कोसी र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र छन्।
प्रकाशित: १३ पुस २०८२ ०८:०१ आइतबार





