आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने ‘सिटामोल’ सिनेमाको टिजर सार्वजनिक भएको छ। सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ।
‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट सुरु हुने सिनेमाको मर्मस्पर्शी टिजरबाट निर्देशक राज बहादुर सानेले कथावस्तुबारे प्रकाश पारेका छन्। टिजरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतारचढावले दर्शकमा उत्सुकता पैदा गर्न सफल देखिन्छ।
सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोलकुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्मातामा छन्।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।
प्रकाशित: १८ असार २०८२ १०:२४ बुधबार





