३० पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

कवयित्री

कविता

कवयित्री कलमको काइँयोले

कपाल होइन, अक्षर कोर्छिन्

कवयित्री भाषाको नाङ्लोमा

चामल होइन, अक्षर केलाउँछिन् 

कवयित्री

भावको पोखरीमा नुहाउँछिन् र

विचारको सरफले अभिव्यक्तिहरू धुन्छिन्

संवेदनाले निथ्रुक्क भिजेका पंक्तिहरू

कागजमा फिँजाएर

साहित्यको घाममा सुकाउँछिन् 

कवयित्री

परेलामा मस्कारा लाएझैं  

अक्षरहरू सिँगार्छिन्

तिहारको टीकाझैं

शब्दहरू सजाउँछिन्

सयपत्रीको मालाझैं

वाक्यहरू मिलाउँछिन्

कवयित्री आफूलाई भन्दा कवितालाई

हृदयको ऐनाअघि उभ्याएर सिँगार्छिन्

कवयित्री

बिम्बहरूको विपश्यना ध्यान गर्छिन्

प्रतीकहरूको पूजा गर्छिन्

उपमाहरूको आराधना गर्छिन्

कल्पनासँग प्रेमालाप गर्छिन्

अनुभूति गर्भाधान गर्छिन्

कवयित्री

गर्भाधानको गर्व

प्रशवको पीडा मिलाएर

कविता जन्माउँछिन्।

प्रकाशित: १४ असार २०८२ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App