सुनकोसी वाङ्मय प्रतिष्ठानले कवि जुमन किरणको कवितासङ्ग्रह ‘यादहरूको बहिर्गमन’ लाेकार्पण गरेकाे छ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार, कलानिधी दाहाल, कृष्ण प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’, छविरमण सिलवाल, प्रोल्लास सिन्धुलीय लगायतले ‘यादहरूको बहिर्गमन’ कवितासंग्रहकाे लोकार्पण गरे।
प्रमुख अतिथि शैलेन्द्र साकारले कृति लोकार्पण कार्यक्रममा बोल्दै कविताको क्रियशनले आफूलाई तानेको बताए। उनले कवि जुमन किरणलाई प्रयोगशील कविकाे रूपमा चित्रण गरे। कविताहरू सौम्य व्यङ्गचेतले भरिएका आफूले पाएको बताए।
लाेकप्रिय कवि कृष्ण प्रधानले कवि समयसँग सम्बाद गर्न सिपालु भएको बताए। उनले कविता कृतिको शीर्षक मन परेको बताउँदै भने, ‘जुमनका कविताहरू लघुकविताको रूपमा आएका छन्। जसमा सशक्त रूपमा मौन र गम्भीर विद्रोहको पक्ष समेटिएकाे छ। कविताहरू नयाँपनले भरिएको छ।’
उनले कतैकतै कविताहरूमा दार्शनिक चेत आएको पनि बताए। गम्भीर बिम्बहरूको प्रयोगले कविताहरू सुन्दर भएको उनको धारणा थियो।

मन्तव्य व्यक्त गर्दै वरिष्ठ कवि कलानिधी दाहालले भने, ‘साहित्यमा निरन्तरता, संकल्प र समर्पणको जरुरत पर्छ। जुमनमा यी सबै देखिएको छ।’
उनले बिम्ब छनौटबाट आफू प्रभावित भएको र कवितामा चेतनाको तीव्रता पाएको भन्दै निरन्तरतामा जोड दिए।
त्यस्तै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले भने, ‘स्रष्टाहरू सबै उत्सव पारेर मात्र ल्याउँदैनन्। कृति प्रकाशन भैसकेपछि उसै पनि सार्वजनिक उत्सव हो। जन्मदिनको दिन नयाँ कृति ल्याउनुभयो बधाई छ।’
कवि किरणले आफूलाई सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्दै पुस्तक पढेर रचनात्मक सुझाव दिन अनुरोध गरेकी थिइन्।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार छविरमण सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्रोल्लास सिन्धुलीयले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रममा लोकार्पित कृतिबाट रुविना राना, विनोद खत्री आकाश र बसुन्धरा चौहानले कविता वाचन गरे।
प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य पूर्णबहादुर श्रेष्ठ ’ह्रदयङ्कृत’ ले गरेका थिए।
कार्यक्रमको मिडिया पार्टनर इखबर नेट रहेको थियो। यादहरूको बहिर्गमन’ लाई सुनकोसी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो। यसको मूल्य ३ सय रूपैयाँ राखिएको छ।
प्रकाशित: १३ असार २०८२ ०९:३६ शुक्रबार





