२० पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

सहकारी पीडितको आवाज उजागर गर्ने चलचित्र ‘महाभोज’

अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनको कथामा आधारित चलचित्र ‘महाभोज’ तयार भएको बताएकी छन्। 

नेपालको पहिलो चलचित्र ‘आमा’ मा अभिनय गरेकी भुसालले सहकारीका नाममा ठगिएका नागरिकको पीडा, राजनीतिक प्रभावको दुरुपयोग र सामाजिक असमानताका विषयलाई चलचित्रले सशक्त रूपमा उठाएको बताइन्।

उनले भनिन्, ‘सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवार र समाजमा पार्ने असरलाई देखाएका छौँ। म आफैँ सहकारी पीडित हुँ, मैले यसविरुद्ध आवाज उठाएँ, आन्दोलन गरेँ तर न्याय अझै पाएकी छैन। यो चलचित्र हामीजस्ता अन्यायमा परेका पीडितको आवाज हो। यसले एउटा बुलन्द आवाज उठाउँछ भन्ने मैले विश्वास लिएकी छु।’

भुसालले सहकारीमा जीवनभरको बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोगेको बताइन्। सहकारी अपचलनका कारण आफू र नजिकका नातेदारलाई समस्या परेकाले यो चलचित्रले समसामयिक सशक्त मुद्दा उठाएको उनको भनाइ छ। ‘चलचित्रलाई समाजको ऐना भनिन्छ, त्यसैले समसामयिक विषयलाई यो चलचित्रमा प्रस्तुत गरेका हौँ। तर, यो सहकारीको विषयमा मात्र केन्द्रित छैन,’ उनले भनिन्।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतले अभिनय गरेका छन्। ‘क्लकवर्क क्रियसन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेको यो चलचित्र आजदेखि प्रदर्शनमा आएको छ।

प्रकाशित: ३० जेष्ठ २०८२ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App