गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सेसेल्सका संस्थापक, निवर्तमान अध्यक्ष तथा अफ्रिका क्षेत्रका पूर्व उपसंयोजक रामप्रसाद पन्त (आरपी) ले लेखेको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘अफगानिस्तानको आगो’ को पोर्चुगलमा भव्य लोकार्पण भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयोजनमा आयोजित भव्य समारोहमा राजदूत प्रकाशमणि पौडेल, दोस्रो सचिव रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक पन्तको संयुक्त उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि राजदूत पौडेलले पुस्तकलाई आप्रवासी नेपालीको सङ्घर्ष र अनुभवको दस्तावेजको रूपमा उच्च मूल्याङ्कन गरे। लेखक पन्तले कार्यक्रममा बोल्दै अफगानिस्तानमा बिताएको झन्डै सात वर्षको बसाइका अनुभवलाई पुस्तकको मुख्य कथ्य बनाएको बताए। उनले युद्धग्रस्त भूमिमा काम गर्दा भोगेका कठिनाइ, मानवीय पक्ष र आफ्ना अनुभूतिलाई शब्दमा व्यक्त गरेको उल्लेख गरे।
कार्यक्रममा वक्ताहरूले नेपालीको अनुभवलाई शब्दमा उतार्नु उत्कृष्ट कार्य भएको भन्दै यो पुस्तक सङ्घर्ष र अनुभवको दस्तावेज भएको बताए। पोर्चुगलमा रहेका विभिन्न नेपाली सङ्घसंस्था, साहित्यकार र समुदायका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रकाशित: २३ जेष्ठ २०८२ १५:५२ शुक्रबार





