८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘चलचित्र मनोरञ्जन मात्र होइन, संस्कृति र पहिचानको सशक्त माध्यम’

चलचित्र सशक्त माध्यम हो। यसले भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्छ र सांस्कृतिक पहिचानलाई विश्वभर चिनाउँछ। पछिल्लो समय चलचित्रलाई ‘सफ्ट पावर’ पनि मानिन्छ, जसले हाम्रो सोच र भाष्य निर्माणमा सूक्ष्म तरिकाले प्रभाव पार्छ।

‘टल्कजङ्ग भर्सेस टुल्के’ र ‘पशुपति प्रसाद’ जस्ता चलचित्रबाट चर्चित अभिनेता खगेन्द्र लामिछानेले चलचित्रको प्रभाव आफैँले महसुस गरेका छन्। ‘मेरो परिवारमा एकजना छन्, जो दक्षिण कोरियाका चलचित्र हेर्छन्। उनले कोरिया नदेखे पनि भाषा बोल्छन्, उनको पहिरनमा कोरियन शैली झल्किन्छ। यो सबै चलचित्रको प्रभाव हो। त्यसैले चलचित्र केवल मनोरञ्जनमा सीमित छैन, यसले कला, संस्कृति र भाषाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने।

नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा चलचित्र सशक्त माध्यम बन्न सक्ने उनको बुझाइ छ। विशेषगरी स्वदेश र विदेशमा रहेका नयाँ पुस्तालाई नेपाल र नेपाली संस्कृतिसँग जोड्न चलचित्रले ठूलो भूमिका खेल्न सक्छ।

‘विदेशी चलचित्रले हामीलाई प्रभाव पार्न सक्छ भने हामीले किन सक्दैनौँ? तर, यो प्रयासमा चलचित्रकर्मी एक्लैले सफलता पाउन सक्दैनन्। राज्यले नीति र प्रोत्साहन दिनुपर्छ। अन्य उद्योगजस्तै चलचित्रलाई प्राथमिकता दिएर प्रोत्साहन गरे चलचित्रकर्मीको सक्रियता बढ्छ,’ लामिछानेले भने।

अभिनेता हरिवंश आचार्यले भारतीय चलचित्र र टेलिशृङ्खलाको प्रभावलाई महसुस गरेका छन्। उनले विशेषगरी विवाह संस्कार र संस्कृतिमा प्रभाव परेको बताए। ‘भारतीय टेलिभिजनका शृङ्खला र चलचित्रले हाम्रो संस्कृतिमा बिस्तारै प्रभाव पारिरहेको छ। यसले भाषामाथि पनि प्रहार गरेको छ। उदाहरणका लागि, पहिले र अहिलेको वैवाहिक कार्यक्रममा सहजै फरक देखिन्छ। यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन्,’ उनले भने।

शृङ्खला र चलचित्रलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रूपमा बुझेर सहयोग गर्नुपर्ने उनको जोड छ। नेपालमा शृङ्खला निर्माण कम हुनुको कारण लागत बढी र प्रतिफल कम हुनु रहेको उनको बुझाइ छ। ‘चलचित्र निर्माणमा व्यक्ति र समूहको योगदान छ, यसले आफ्नै गति लिइरहेको छ। तर, पछिल्लो समय शृङ्खला निर्माणमा कमी आएको मैले महसुस गरेको छु। लागत बढी र लाभ कम भएकाले शृङ्खला निर्माणमा कमी आएको हो। विदेशमा उद्योगले प्रायोजन गरेर शृङ्खला बनाउँछन्, तर यहाँ त्यस्तो अवस्था छैन,’ आचार्यले भने।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले गणतन्त्रपछि नेपाली चलचित्रमा समाज र समुदायका कथा उठान भएको बताए। ‘विषयवस्तुमा परिवर्तन आएको छ, जनतासँग जोडिएका विषय चलचित्रमा देखिन्छन्। अभिनेताको भाष्यमा परिवर्तन आएको छ। व्यक्तिगत प्रयासबाट बनेका चलचित्रलाई प्रवर्द्धन गर्न सरोकारवाला निकाय सक्रिय हुनुपर्छ। किनभने चलचित्रले विदेशमा हुर्किएका नयाँ पुस्तालाई देश, कला र संस्कृतिबारे जानकारी दिइरहेको छ,’ उनले भने।

अभिनेत्री केकी अधिकारीले पछिल्लो समय चलचित्रमा भावना व्यक्त गर्न सजिलो भएको बताइन्। ‘हामीले कलालाई विद्रोह र स्वतन्त्रताका रूपमा बुझ्छौँ। लोकतन्त्र र गणतन्त्रअघि अभिव्यक्तिलाई कलामार्फत व्यक्त गर्थ्यौँ। अहिले अभिनेताको भाष्यमा परिवर्तन आएर चलचित्रमा महिला पनि ‘हिरो’ बन्न थालेकी छन्, जुन केही वर्षअघि सम्भव थिएन,’ उनले भनिन्।

विसं २०८१ मा अभिनय गरेको चलचित्र ‘बोक्सीको घर’ले सामाजिक कुप्रथालाई उजागर गरेको थियो। यो चलचित्रले सामाजिक चेतना बढाउन सहयोग गरेको उनको विश्वास छ। पछिल्लो समय विदेशी चलचित्रले इतिहास, योद्धा र देशको गौरवलाई समेटेर निर्माण गर्ने क्रम बढेको छ। यसले इतिहास, उपलब्धि र वीरताको गाथालाई दर्शकसम्म पुर्याउँछ। रासस

प्रकाशित: १८ जेष्ठ २०८२ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App