निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय नियात्राकार प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ दाेस्राे संस्करणकाे लाेकार्पण भएको छ।
नेपाली साहित्यकाे पाठक घटिरहेकाे बेला नियात्राकार सापकाेटाकाे ‘यात्राको लय’ काे दाेस्राे संस्करण प्रकाशित भएकाे छ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ काे अध्यक्षता र वरिष्ठ समालाेचक प्राडा लक्ष्मणप्रसाद गौतमकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे। कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तारा केसीले शब्द मार्फत अतिथिहरूलाई स्वागत गरेकी थिइन्।
प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा.सृजना शर्मा, छविरमण सिलवाल, लेखनाथ हुमागाईं, केशव पराजुली र नियात्राकार प्रदीप सापकाेटाले कृतिकाे लाेकार्पण गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि प्राडा गौतमले सापकोटाको नियात्रामा सरल र पाठक डोर्याएर लाने सामर्थ्य भएको बताए। लेखनीमा इमान्दार हुनुपर्ने भन्दै सापकोटाले नियात्राकार इमान्दार रहेको देखिएको बताए।
वरिष्ठ समालोचक प्रमोद प्रधानले सापकोटाको नियात्रा द्वन्द्वकालीन समयको चित्र भएको बताए। निजात्मक अनुभूति र जानकारीमूलक नियात्रा लेखनीमा लागेका सापकोटाको कृतिले ससाना दृश्यलाई अनुभूतिमय ढंगले लेखिएको उनले बताए।
त्यस्तै डा. सृजना शर्माले कृतिले विभिन्न यात्राका क्रममा भोगेका दुःखपीडा, राष्ट्रियता र छिमेकीका हेपाहा प्रवृत्तिबारे चर्चा गरिएको बताइन्।
कृतिले पाठकलाई सँगै घुमाउने उनको भनाइ थियो। 'यात्राको लयले पूर्वदेखि सुदूर पश्चिमसम्मका विभिन्न स्थानसम्म पाठकलाई लैजान्छ।'
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए। स्रष्टा नियात्रा मात्र नभएर निजात्मक निबन्ध लेखनीमा समेत क्रियाशील स्रष्टा भएको बताए।
कार्यक्रममा नियात्राकार सापकाेटाका गुरु लेखनाथ हुमागाईंले शुभकामना प्रस्तुत गरेका थिए। उनले आफ्नो शिष्यको साहित्यिक लगावबाट प्रभावित भएकाे बताउँदै सापकाेटाकाे विद्यालय जीवनको समेत जानकारी दिए।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजना तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ काे अध्यक्षतामा भएकाे कार्यक्रममा नियात्राकार सापकोटाले आफू लेख्न रहर गर्ने व्यक्ति भए पनि असल पाठक भएको बताए।
नियात्राकार पवन आलोकले सापकोटाको सरल र सबैसँग घुलमिल हुने बानी रहेको भन्दै कृतिको सफलताको निम्ति शुभकामना दिए।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालकाे सञ्चालनमा भएकाे कार्यक्रममा साहित्यकार किशोर पहाडीले सापकोटासँग चिनजानको प्रसङ्ग कोट्याए।
साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकालीले बहुआयामिक व्यक्तित्वको रूपमा सापकोटालाई चिनेको बताए।
भुँडीपुराणका प्रबन्ध निर्देशक केशव पराजुलीले सापकोटालाई आफूले परिवारको सदस्यको रूपमा लिएको बताए।
उक्त कार्यक्रममा ‘मधुपर्क’ का सम्पादक तुलसीहरि कोइराला, उपन्यास समाजका अध्यक्ष शंकर भारती, ‘शारदा’ का सम्पादक विमल भौकाजी, पुर्णबहादुर श्रेष्ठ, शुभद्रा अधिकारी, वसन्तराज अज्ञात, श्रीबाबु कार्की, दिलिप योन्जन, शोभा अधिकारी, सुमन संगम, राजेश खनाल, देविका तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।
भुँडीपुराण प्रकाशनले ‘यात्राको लय’ बजारमा ल्याएकाे हाे। यसको मूल्य रुपैयाँ ३०० राखिएकाे छ।
पनौती-१, काभ्रेपलाञ्चोकका नियात्राकार कानून, पर्यटन व्यवसायमा संलग्न छन्। नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य, सुनकोशी वाङ्मय प्रतिष्ठान, काभ्रेका महासचिव, इखबर नेट मिडियाका प्रधानसम्पादक जस्ता विविध संस्थामा उनी संलग्न छन्। यात्राको इन्द्रेणी रंग (नियात्रासङ्ग्रह, २०७७), मनको वारपार (मुक्तकसङ्ग्रह, २०७८) र यात्राको लय (नियात्रासङ्ग्रह, २०८१) उनका प्रकाशित कृति हुन्।
प्रकाशित: ८ माघ २०८२ ०९:०८ बिहीबार





