नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशले नै हार्ने बताएका छन्।
एमाले अध्यक्ष ओली उम्मेदवार रहेको झापाको कमल गाउँपालिकामा आइतबार आयोजित मोटरसाइकल र्यालीको उद्घाटनका क्रममा उनले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई विजयी गराउन आग्रह गरे। अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको र एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेकाले एमाले र ओलीको जित जरुरी रहेको भट्टराईले बताए।
झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जीवन दिएको उल्लेख गर्दै उपमहासचिव भट्टराईले झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफू ढुक्क रहेको बताए।
झापा क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिका वडा नं. ७ को गेउरीयामा आयोजित सभामा उनले यस क्षेत्रमा भएको विकासको मोडल देशकै लागि नमूना रहेको समेत उल्लेख गरे। उपमहासचिव भट्टराई पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई जिताउने चुनावी अभियानका क्रममा यस क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भएका छन्।
प्रकाशित: १७ फाल्गुन २०८२ १३:५७ आइतबार





