१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

वर्तमान राजनीति गलत दिशामा गए नेपालकै अस्तित्व संकटमा पर्छ : ई:ई

सामाजिक अभियन्ता ईःईले वर्तमान राजनीतिक अवस्थाले भविष्यमा नेपालकै अस्तित्व संकटमा पर्न सक्ने बताएका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्।  

उनले भदौ २३ मा भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिलाई स्मरण गर्दै उक्त आन्दोलन शान्तिपूर्ण प्रतिबद्धता र पवित्र उद्देश्यका साथ सुरु भए पनि सोही दिन नियन्त्रण बाहिर गएको बताएका छन्। भदौ २४ गते भएको विध्वंसपछि देश तरल अवस्थामा पुगेको, सरकार कमजोर बनेको तथा सुरक्षा संयन्त्र अस्थिर बनेको उनको विश्लेषण छ। 

साथै आन्दोलनका क्रममा केही समूहले आवेगमा भारतीय र अमेरिकी दूतावासलाई निशाना बनाउन खोजेको जानकारी जिम्मेवार तहसम्म पुगेको  ईःई को भनाइ छ। उक्त समयमा विदेशी नियोगलाई लक्षित गरी आक्रमण भएको भए भित्रबाट गोली चल्ने र त्यसको प्रतिक्रियास्वरूप अनपेक्षित ध्वंस, राज्य असफलता तथा सुरक्षा कायम गर्ने नाममा विदेशी सैनिक आगमनसम्म हुन सक्ने बताएका छन्।

विश्व राजनीति केही शक्तिशाली व्यक्तिको सनकका कारण चरम अनिश्चिततामा पुगेको भन्दै उनले अन्तर्राष्ट्रिय मूल्य–मान्यता कमजोर बन्दै गएको बताउँदै यस्तो परिदृश्यमा यो निर्वाचन नेपालकै इतिहासमा अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।

‘तपाईंको मतको ओज यति धेरै कहिल्यै थिएन, लोकतन्त्रमा स्वतन्त्रता सबैलाई छ, तर यसपटक स्वविवेक प्रयोग नगरे त्यसको मूल्य साह्रै महँगो पर्न सक्छ,’ उनले लेखेका छन्।  

प्रकाशित: १७ फाल्गुन २०८२ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App