५ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

नियात्राकार सलोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ समर्पण

पर्वतीय साहित्य समाज नेपालले नियात्राकार सलोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ अर्पिएको छ।

जयन्ता-पवित्रा ढकाल स्मृति कोषका संरक्षक तथा पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष प्रतीक ढकालको अध्यक्षता तथा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा नियात्राकार कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ अर्पिएको हाे।

कार्थक मूलत: नियात्राकार हुन्। उनले नेपाली र शिक्षाशास्त्र विषयमा स्नातकोत्तर गरेका छन्। समुद्रवारि समुद्रपारि (१९७६), विदेशतिर रिङ्दै जाँदा (१९९६), पदयात्रा गाउँको फन्को विदेशको (२०००), विदेश एउटा पल्लो गाउँ (२०१३) र गोलार्द्ध घुमाइका रङहरू (२०१७) उनका नियात्राकृति हुन्। उनी नियात्रा लेखनकै माध्यमबाट भारतीय अकादमी पुरस्कार जित्न सफल भएका हुन्।

‘प्रतीक ढकाल नियात्रा सौरभ’ पुरस्कारको राशि ५५ हजार नगद रहेको छ। ‘जीवित छँदैको सम्मान, स्रष्टाको वास्तविक सम्मान’ मूल नाराकाे साथ समाजले पहिलोपटक उक्त पुरस्कार डा. तारानाथ शर्मा (२०७६) लाई प्रदान गरेकाे थियाे। त्यस्तै डा. सत्यमोहन जोशी (२०७७), देविचन्द्र श्रेष्ठ (२०७८), भुवनहरि सिग्देल (२०७९), गीता खत्री (२०८०) र घनश्याम राजकर्णिकार (२०८१) लाई पनि यो पुरस्कार प्रदान गरिएको थियाे।

त्यस्तै यायावर तथा युवा कूटनीतिज्ञ प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमानी यायावर सम्मान’ ले सम्मान गरिएको छ। उक्त पुरस्कारको राशि ५१ हजार नगद रहेको छ। पर्वतीय साहित्य समाज नेपालले यो पुरस्कार पहिलो पटक खनाललाई प्रदान गरेको हो।

पुरस्कृत खनाल एक वर्षको अवधिमा नेपाल, भारत, चीन, पाकिस्तान, बाङ्लादेश र श्रीलङ्का गरी छ देशका ॐकार परिवारभित्रका चार सय पचासभन्दा बढी तीर्थस्थलको भ्रमण गरी अद्वैत दर्शनका व्याख्याता आदि गुरु, आदि शङ्कर वा आदि शङ्कराचार्य र शिख मतका संस्थापक, यस पन्थका दशमध्येका प्रथम महागुरु बाबा नानकले राखेको र हालसम्म अतुलनीय मानिएको तीर्थयात्राको कीर्तिमान समेत उछिनेर अगाडि बढ्दै एसियाली रेकर्ड बुकमा अभिलिखित रहेकाे छ।

नियात्राविद् प्रतीक ढकालकै जन्मदिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्राडा खगेन्द्रप्रसाद लुइटेल, प्राध्यापक डा. सावित्री कक्षपती, वरिष्ठ नियात्राकार तथा कथाकार इल्या भट्टराई, खिमलाल गौतम, पूर्वप्रशासक तथा उपन्यासकार केदार पनेरू, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कवि दिनेश अधिकारी, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईं, आरोहण व्यवस्थापन संघका महासचिव तथा पर्यटनविद् ऋषिराम भण्डारी, पुरस्कार संस्थापक सदस्य प्रज्ञा ढकाल लगायतको दर्जनाैं साहित्यकारको उपस्थितिमा उक्त पुरस्कार समर्पण गरिएको थियो।

नियात्राविद् प्रतीक ढकालकै जन्मदिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईं, प्राध्यापक डाक्टर सावित्री कक्षपती र प्राडा खगेन्द्रप्रसाद लुइँटेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतीक ढकाल कीर्तिमानी यायावर सम्मानबाट सम्मानित प्रदीप खनालले आफूले भ्रमण गरेको विषयमा यसरी सम्मानित हुने मुकाममा पुग्ला भन्ने कल्पनै नगरेको भन्दै खुशी व्यक्त गरेका थिए।

पुरस्कृत नियात्राकार सलोन कार्थकले लैनसिंह वाङ्देल र ताना शर्माका नियात्राहरू पढ्दै जाँदा नियात्रा लेखनमा चासो बढ्दै गएको बताए। अचिनारू व्यक्ति र संस्थाबाट सोच्दै नसोचेको पुरस्कार पाएकोमा  खुसी व्यक्त गर्दै उनले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि लोकप्रिय नियात्राकार घनश्याम राजकर्णिकारले पर्वतीय नियात्राकारको रूपमा ख्याति कमाएका प्रतीक ढकालको नाममा पुरस्कार स्थापना हुनु खुसीको कुरा रहेको बताए। प्रतीक ढकाल जस्ता अथक नियात्राकारको नाममा स्थापित पुरस्कारबाट पुरस्कृत सलोन कार्थक र ‘प्रतीक ढकाल कीर्तिमानी यायावर सम्मान’ बाट सम्मानित प्रदीप खनाललाई उनले बधाई ज्ञापन गरेका थिए।

अध्यक्ष प्रतीक ढकालले भारतको दार्जिलिङदेखि पुरस्कार ग्रहण गर्न आएका सलोन कार्थकप्रति आभारी रहेको र संस्थापक जीवनसङ्गिनी लक्ष्मी ढकाल र कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्ने सम्पूर्ण साहित्यकार तथा परिवारका सदस्यलाई धन्यवाद गरेका थिए।

प्रकाशित: १४ जेष्ठ २०८२ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App