नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् दाङ सहआयोजनामा घोराहीमा ‘दाङमा वादी समुदायको सामाजिक, सांस्कृतिक अवस्था र रूपान्तरणका चुनौती’ विषयक प्राज्ञिक गोष्ठीमा वादी समुदायले भोग्नुपरेको समस्या र अबको निकासबारे छलफल गरिएको थियो।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठान सामाजिकशास्त्र विभाग प्रमुख प्राडा कौशिला रिसालको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद्का पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हाे।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्ययनकर्ता जनक विकले वादी समुदायले यौन व्यवसाय अपनाएको नभएर यौन उत्पीडनमा पारिएको उल्लेख गरेका थिए। जसका कारण वादी समुदायको सामाजिक, आर्थिक र शैक्षिक उन्नति हुन नसकेको उल्लेख गरे।
संस्थाका कोषाध्यक्ष सुशीला आचार्यले सञ्चालन गरेकाे कार्यक्रममा वादी समुदायका अगुवा निर्मल वादीले कार्यपत्रकाे समीक्षात्मक टिप्पणी गरेका थिए। वादी समुदायको उत्थानका लागि उनीहरूको समाजमा पुनः स्थापना र उनीहरूको प्रवर्धनमा स्थानीयदेखि केन्द्र सरकार र सरोकारवाला पक्षले ध्यान दिनुपर्ने पनि उनले बताए।
कार्यक्रममा राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेले अतिथिहरूलाई शब्द स्वागत गरेका थिए।
राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा, नेपाल पत्रकार सङ्घ केन्द्रका सचिव सविन प्रियासन, सिस्नोपानी नेपाल दाङका अध्यक्ष लोकराज पराजुली, वादी समुदायकी जनप्रतिनिधि सितारा नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए।
प्रकाशित: ५ माघ २०८२ १३:३५ सोमबार





