हजुरबासँग बाल्यकालदेखि नै धेरै खेल्न मन पराउँथेँ तर अरू साथीका हजुरबाजस्तै मेरा हजुरबा नातिसँग खेल्न त्यति मन पराउनुहुन्थेन। उहाँ अन्तरमुखी स्वभावको भएर होला। जागिरबाट अवकाश भएको पनि धेरै नै भइसकेको थियो। अहिले आएर नातिले आफ्ना कुरा सुनिदियोस् भन्ने उहाँको आशय देखिन्छ तर अहिलेको प्रविधिजन्य व्यस्तताले उहाँका धेरै कुरा सुन्ने फुर्सद कम मात्र हुन्छ। अवकाशपछिको करिब २३ वर्ष उहाँले काठमाडौंमा रहेको १.५ रोपनीको पर्खालभित्र सीमित चौघेरामा नै अधिकांश समय व्यतीत गर्नुभयो।
हुन त आफ्नो बाहुबलले बनाएको यसै घरमा जीवनका धेरै उतारचढाव पार गर्नुभयो होला। आफ्नो पुख्र्यौली जन्म घर कास्कीको त्यो गाउँमा खासै जान मन गरेको पाइँदैन। मेरा लागि यो रहस्यको विषय सधैं नै रहिरहेको थियो। उहाँको म नाति केटो गाउँमा नजन्मिएर काठमाडौंमा जन्मिएर यतै रमाएको भए पनि आफ्नो पुर्ख्याैली घर गाउँमा रहेको थाहा पाएपछि कसैले मेरो घर सोध्दा कास्कीकै त्यही गाउँको नाम लिने गर्छु। समय मिल्नेबित्तिकै गाउँ फर्कन मन लाग्छ तर हजुरबा किन गाउँको कुरा गर्न चाहनुहुन्न? गाउँ जान पनि किन खासै चासो राख्नुहुन्न भनेर धेरै पटक जिज्ञासा राखेको थिएँ तर उहाँले कहिल्यै पनि चित्त बुझ्दो उत्तर दिनुभएन।
धेरैपछि आज हजुरबाको चाउरी परेको अनुहारमा खुसी देखेको थिएँ किनकि आज उहाँको बाल्यकालको साथी पच्चिस वर्षपछि चितवनबाट भेट्न आउनुभएको थियो। प्रायः गहन चिन्तनमा डुबेजस्तै देखिने र कमै मात्र हाँस्ने हजुरबाको अनुहारमा प्रसन्नता स्पष्टै देखिन्थ्यो। म आज घरमा चाँडै नै फर्किएको हुनाले त्यो देख्न पाएको थिएँ। हजुरबा र हजुरबाका साथी घरको पूर्वतिरको बगैंचामा राखिएको कुर्सीमा बसेर बाल्यकालदेखिका अन्तरङ्ग कुरा गरेजस्तो लाग्थ्यो किनकि दुई बुढाहरू मजासँग हाँस्दै रमिरहेका थिए।
हजुरआमा बितिसकेपछि पहिलो पटक हजुरबा यसरी खुसी भएर गफ गरेको देख्ने अवसर प्राप्त गरेको थिएँ। जीवनभर देशको प्रशासन र कानुनको क्षेत्रमा काम गरेका मानिसहरू अवकाशपछि पनि खासै खुल्न नसक्ने, अहमता केही बढी हुने र अनावश्यक मानसम्मानको धङधङी बाँकी नै रहन्छ भनेर कसैकसैले भनेको कुरा कताकता हजुरबाका क्रियाकलापले झल्काएजस्तो महसुस हुने गथ्र्यो।
एक दिन बसेर फर्किनुभएका हजुरबाका साथीलाई शिष्ट तरिकाले सत्कार गर्दै उहाँले सोधेका जिज्ञासाको उत्तर दिनुका साथै मैले पनि केही जिज्ञासा राखेको थिएँ। हजुरबाका बाल्यकालका अत्यन्त मिल्ने जिग्री दोस्त रहेछन्। जिल्ला न्यायाधीश भएर अवकाश भएका हजुरबाका साथी विश्वराम शर्मा बाल्यकालमा गाउँमा हुँदा हजुरबा सँगसँगै बेँसी खेतको गोठमा बस्दाका गोठाले पार्टनरसमेत रहेछन्। ‘बाल्यकालमा हामी दुई जना मिलेर गाउँमा धेरै रमाइला एवम् उटपट्याङ काम पनि धेरै नै गरियो नि बाबु’ मैले राखेका केही जिज्ञासाको उत्तर दिने सन्दर्भमा उनले बताए। जाने बेलामा नाति केटो टाठो रहेछ भन्दै गएका थिए।
कताकता लाग्यो, मेरा हजुरबाभन्दा त हजुबाका साथी पो नातिनातिनासँग धेरै बोल्नुहुँदो रहेछ। हजुरबाले पनि मसँग आफ्ना बाल्यकालका कुरा खुलेर गरे हुन्थ्यो जस्तो लागेको थियो। हजुरबाका साथी चितवन फर्केपछि हजुरबासँग केही नजिक भएर पुराना कुरा सोध्ने प्रयास गरेको थिएँ। उहाँ नाति केटा अब पुराना कुरा सुनेर फाइदा छैन, नयाँ नयाँ प्रविधि र विश्वमा विकास भएका नवीनतम कुराबारे जान्नुपर्छ भनेर पुराना कुराबाट पन्छिन खोज्नुहुन्थ्यो। ‘हिजो विश्वराम हजुरबाले त तपाईंहरू सानो हुँदा त भूतले खुब दुःख दिन्थ्यो भनेर भन्दै हुनुहुन्थ्यो नि?’
हजुरबाबाट केही नयाँ कुरा आउँछ कि भनेर अघिल्लो दिन भएका कुरालाई जोड्न खोजेँ। यस प्रश्नले हजुरबाको ध्यानलाई केही मात्रामा भए पनि आकर्षित गर्न सफल भएको जस्तो भान भएको थियो। ‘हो, हाम्रो पालामा अहिलेका जस्ता मनोरञ्जन र अन्य माध्यम थिएनन्, बुढापाकाले जहिले पनि भूत, प्रेत, बोक्सी, किचकन्नी, मुर्कट्टा, तर्साउने भूत आदिका डरलाग्दा कथा सुनाउँथे,’ हजुरबाका कुराले मलाई अत्यन्त कुतूहल सिर्जना गरिरहेको थियो।
‘गाउँघरका बा, हजुरबा, काका र दाइहरू मेलापात, जङ्गल वा अन्य ठाउँमा जाँदा भूतसँग साक्षात्कार भएको र तिनीहरूबाट छुटकारा पाउनका लागि गरेका साहसी, जासुसी र तिलस्मी खालका कहानी सुनाउँथे। हामी ती कुरा अत्यन्त चाख दिएर सुन्थ्यौं। कुनै कुनै बुढाहरू त कहिले मेला, बजार, हाट, ससुराली वा अन्य ठाउँबाट राति ११–१२ बजे घर फर्कंदा कुनै बाटो वा खोल्साका रुखहरू भुइँमा लडेको देखिन्थे तर भोलिपल्ट उज्यालोमा जाँदा त त्यो रुख ठाडै रहेको देखेर अचम्म परेको कुरासमेत बताउँथे।’ यी कुरा भन्दै गर्दा बल्ल आज हजुरबा मसँग खुल्दै हुनुहुन्थ्यो।
मैले हजुरबासँग उत्साहित हुँदै फेरि जिज्ञासा राखेँ– ‘हजुरबाले पनि भूतलाई प्रत्यक्ष देख्नुभएको छ?’
हजुरबा केहीबेर रोकिएर केही सोचेझैं गरेर ‘प्रत्यक्ष त देखेको छैन तर अप्रत्यक्ष रूपमा गाउँमा गोठमा बस्दा अनुभव गरेको छु।’
‘अप्रत्यक्ष रूपमा भन्नाले ?’ मेरो मनमा जिज्ञासा बढ्दै गएको हुनाले केही नयाँ कुरा आउँछ कि भनेर सोधेँ।
‘जङ्गलको बिचमा रहेको पहिरेको खेतको गोठमा बस्दा पारि जङ्गलमा राति ११ वा १२ बजेतिर राँके भूत राँको बालेर दौडिरहेको देखिन्थ्यो भने कहिले सेउला घिसारेर हिँड्ने सेउले भूत देखिन्थ्यो। कहिलेकाहीं खेतका गरा वा डोरेटोमा सेतो वस्त्र लगाएका झाँक्री, भगेर हिँडेका देखिन्थे।’
‘हजुरबा ती के साच्िचकैका भूत हुन् त ?’
‘खोई बाबु ? ती साच्चैका भूत हुन् कि मान्छेलाई तर्साउन बनाइएका हुन् वा अरू केही कारण छ, त्यसबारे मलाई खासै जानकारी भएन।’ हजुरबाका कुराले कहिलेकाहीं चलचित्रका पर्दामा हेरेका भूतका कहानीका सन्दर्भ मानसपटलमा आउन खोज्दै थिए। हजुरबाले भनेका केही कुराले मलाई आकर्षित गर्दै थिए। मानिसले मानिसलाई तर्साउन नक्कली भूत बनेर पनि दुःख दिइरहेका हुन्छन्। यस्तो सिर्जनशील मानिस किन मानिसलाई नै तर्साउन भूत बन्छ होला भन्ने कुतूहल समाधान हुन्छ कि भनेर सोधेँ, ‘मानिसले मानिसलाई तर्साउन पनि भूत बन्छन् र हजुरबा?’
‘हुन पनि सक्छ।’
‘तपाईंलाई कसैले भूत बनेर तर्साएको वा तपाईं भूत बनेर कसैलाई तर्साउनुभएको छ?’
यो प्रश्न सुनेर हजुरबा पहिला मुसुक्क मुस्कुराउनुभयो अनि केही गहन तरिकाले सोच्न पनि थाल्नुभयो। मलाई लाग्यो, पक्कै पनि हजुरबासँग यससम्बन्धी अनुभव छ। मैले फेरि दोहो¥याएर जिज्ञासा राखेँ, ‘रातमा छानाबाट ढुङ्गा हान्ने, रातमा हिँड्दै गर्दा खोल्सामा ढुङ्गा हान्ने, जङ्गलमा राँको बालेर हिँड्ने, मध्यरातमा पिपलको फेदमा बसेर बत्ती बालेर बस्नेले कुनै न कुनै रूपमा त्यो बेलामा भूत बनेर तर्साए नि होइन त बाबु ?’ कुटिलता मिश्रित मुस्कानका साथ उहाँले प्रतिप्रश्न गर्नुभयो।
‘अनि हजुरबा तपाईंले कसैलाई भूत बनेर तर्साउनुभयो कि भएन नि ? हिजो त विश्वराम हजुरबाले खेतको गोठमा बस्दा तिम्रो हजुरबा र म मिलेर धेरै उटपट्याङ काम गरेका थियौं भनेर भन्नुभएको थियो त।’
मेरो कुतूहल राम्रैसँग थाहा पाएको भाव हजुरबाको अनुहारमा प्रस्टै देखिन्थ्यो। यो नातिसँग आफू सानो हुँदाका कुरा खुलेर गरौं कि नगरौं भन्ने दोधारमा हजुरबा हुनुहुन्छ भन्ने मानसिकता बुझिसकेपछि आफूले आफूलाई जिम्मेवार र विश्वासिलो पात्रका रूपमा उहाँलाई विश्वास दिलाउँदै उहाँका कुरा बुबालाई समेत नभन्ने प्रतिबद्धता जनाएको थिएँ।
मसँग पूर्ण विश्वस्त बनेपछि हजुरबा घरी मेरो अनुहार र घरी आकाशतिर हेर्दै कुरा अगाडि बढाउन थाल्नुभएको थियो।
‘अस्ति आएका विश्वराम हजुरबा र मलाई गाउँका अधिकांश बुढाले चलाख र निडर छौ भनेर मक्ख पार्थे। ११–१२ वर्षको उमेरदेखि नै हिउँदको समयमा गाउँदेखि दुई घण्टा टाढाको पहिरे खेतमा दिनभरि पशुचौपाया चराएर रातमा त्यहीं बनाएको गोठमा बास बस्थ्यौं। त्यो बेला खेतीपाती राम्रो होस् भनेर हिउँदमा अधिकांश गाउँलेहरूले त्यहीं गोठ बनाएर मलखादको व्यवस्था मिलाएका हुन्थे। सम्भवतः त्यो बेला नेपालका अधिकांश ग्रामीण क्षेत्रमा यस्तै खालको प्रचलन थियो।
कहिलेकाहीं त हामी त्यहाँ बस्तासमेत हाम्रै नजिकबाट भैंसीका पाडापाडी र गोरुहरूलाई बाघले खाएको प्रत्यक्ष देखेका थियौं। त्यो टारी खेतमा चारपाँच वटा गोठ थिए। प्रत्येक खेतका धनीले आफ्नो खेतको सबैभन्दा माथिल्लो गरामा गोठ बनाएर बेलुका चौपायालाई बाँध्ने गर्थे अनि गोठको एउटा कुनामा खाट वा टाँड बनाएर गोठालाहरू सुत्ने गर्थे। प्रायः एउटा गोठमा एउटा मात्र गोठालो रहने गथ्र्यो। विश्वराम र हाम्रो पनि गोठ छुट्टाछुट्टै भए पनि हामी दुई जना पालैपालो कहिले उसको र कहिले हाम्रो गोठमा सँगै सुत्थ्यौं।
हामी कहिल्यै छुट्टै गोठमा सुतेनौं। ती गोठमा बस्नेमध्ये मङ्गल दाइको निद्रा अत्यन्त कडा थियो। निद्रामा परेपछि उनलाई उठाउन ज्यादै गाह्रो हुन्थ्यो। हामी कहिलेकाहीं हाँसोमजाक गर्दै भन्ने गथ्र्यौ कि गोठ कुर्न बसेको मान्छे बाघले आफैंलाई उठाएर लगे पनि यो दाइले त थाहा पाउँदैनन् होला। त्यो बेलाको बुद्धि र बल कहिलेकाहीं रमाइलो एवम् ठट्टा गर्नमा पनि खर्च हुन्थ्यो। एक दिन विश्वराम र मैले एउटा उटपट्याङ योजना बनायौ कि मङ्गल दाइलाई निदाएको बेलामा गोठबाट उठाएर बाहिर राखिदिऊँ, थाहा पाउँछन् कि पाउँदैनन्। हामी दुई उरन्ठेउला केटा, करिब राति १२ बजेतिर मङ्गल दाइको गोठमा गयौं। मङ्गले गोठको एउटा छेउमा रहेको सानो खाटमा मस्तसँग सुतिरहेका रहेछन्।
हामीले उनी सुतेको खाट जुरुक्क उठाएर बाहिर निकाल्यौं। बाहिर मजाले जून लागेको थियो। उनले हामीले उठाएको केही पत्ता पाएनन्। उनी निद्रामा भुस परेका थिए। जुनेली रातमा हामीले उनलाई उठाएर अगाडि बढाउँदा मजा आएको थियो। डर भन्ने कुरा कत्ति पनि लागेको थिएन। खाटसहित उनलाई उठाउँदासमेत हामीलाई कुनै भारीको महसुस भएको थिएन किनकि खाट सानो र मङ्गल दाइको शरीरको गाँठी पनि सानो भएकाले ओजन खासै धेरै थिएन। त्यो जुनेली रातमा एकातिर विश्वराम र एकातिर मैले उठाएर पहिरे खेतको पूर्वमा रहेको करिब १५ मिनेट पर पर्ने खोल्सोसम्म बोकेर लग्यौं। वर्षामा त त्यो खोल्सोमा धेरै नै पानी हुन्थ्यो। त्यो पूरै टारी खेतको सिँचाइ त्यहींको पानीले गरिन्थ्यो। हिउँदको बेला भएकाले त्यस खोल्सोमा पानी एकदमै कम थियो। खोल्साको बिचमा पुर्याएर मङ्गलेलाई त्यहीं छोडिदियौं तर उनले यत्रो कुरा गर्दासमेत केही चाल पाएनन्। उनको निद्रा कति कडा रहेछ भन्ने सजिलै बुझ्न सकिन्छ। त्यो उटपट्याङ काम गरेर हामी गोठमा आएर सुत्ने प्रयास गर्यौं तर सुत्न भने सकेनौं।’
हजुरबा आफ्नो विगतको कहानी एकनाससँग भनिरहनुभएको छ भने घरी घरी कोही आयो कि भनेर यताउति पनि हेरिरहनुभएको छ। मैले पनि टाउको हल्लाउँदै कुरा सुनिरहेको छु।
उहाँले प्रसङ्गलाई निरन्तरता दिँदै भन्नुहुन्छ– ‘त्यो खोल्सामा छोडेको मङ्गलेलाई बाघले खायो भने त खत्तम हुन्छ भनेर फेरि हामी खोल्सातिर लाग्यौं। ऊ अझै पनि मस्त निद्रामा रहेछ। शुक्ल पक्षको दशमी वा एकादशीको रात थियो क्यारे। हामी खोल्सामा पुगेको केही बेरमा जून अस्ताइसकेको थियो। जून अस्ताइसकेपछि अँध्यारो भएकाले हामीलाई पनि डर लागिरहेको थियो। एक मन त उसलाई उठाएर गोठमा लिएर जाऊँ कि जस्तो लागेको थियो तर ऊ उठेपछि के गर्छ होला भन्ने उत्सुकताले उसलाई राखेको ठाउँभन्दा केही माथिको एउटा रुखमा हाँगाको छेल परेर कानेखुसी गर्दै हामी उसलाई कुरेर लामै समय बस्यौं। धेरैपछि झिसमिसे उज्यालो हुने बेलामा मङ्गले जुरुक्क उठ्यो।
हामी अत्यन्त चनाखो भएर उसका क्रियाकलाप हेर्न उत्साहित थियौं। उसले उठेर आँखा मिच्दै खाटमा नै बसेर यताउति हेर्यो, अस्वाभाविक रूपमा डरले काँपेजस्तो गरेर चिच्यायो र एकैचोटि थरर काम्दै खाटमा डङ्ग्रङ्ङ लड्यो। हामी पनि हतार हतार के भयो ? के भयो ? भन्दै उसको नजिकै पुग्यौं। तर उसले कुनै प्रतिक्रिया दिएन, उसलाई उठाउने धेरै प्रयास गर्यौं तर ऊ उठ्न त कुरै छौडौं, साससमेत फेरेको थिएन।
अब पूर्णतया फस्यौं भन्ने लाग्यो अनि विश्वराम र मैले सल्लाह गरेर यस घटनाबाट जोगिनका लागि विदेश भाग्नुपर्छ भनेर योजना बनायौं। केही बेरमा हामीलाई लाग्यो, यो घटना कसले देखेको छ र हामी भाग्ने ? अब हामीले यो घटना थाहा नपाएजस्तो गर्नुपर्छ भनेर बिरालाको चालमा आआफ्नो गोठमा गयौं र सुतेजस्तो अभिनय गर्यौं। केही बेरमा कुनै अर्को गोठ कुर्न बसेका पल्लाघरे साइँलाबा पानी लिन गएको बेलामा मङ्गलेको त्यस्तो अवस्था देखेपछि आत्तिँदै गोठहरूमा बसेका गोठालालाई खबर गरे। हामीलगायत त्यस टारीको गोठमा बस्ने चारपाँच जना त्यतातिर गयौं।
हामीले केही थाहा नपाएको अभिनय गर्दै कसरी मङ्गले दाइ खाटसहित खोलामा आइपुगे होलान् भनेर अत्यन्त मलिनो स्वरमा जिज्ञासा राख्यौं। पल्ला घरे साइँलाबाले भने– ‘पक्कै पनि पहिरे खेतको भूतले यस्तो गर्यो होला।’
यतिन्जेलसम्म बिहानी भइसकेको थियो। जताततै हल्लाखल्ला भइसकेको थियो। परिपरिको गाउँबाट मानिसहरू आइसकेका थिए। सबै जनाले आआफ्ना तर्क र विज्ञता प्रस्तुत गरिरहेका थिए तर गाउँबाट धामीझाँक्री नआइन्जेल मङ्गलेलाई बोलाइरहेका मात्र थिए, कसैले पनि उसलाई छुन सकिरहका थिएनन्। छोयो भने आफूलाई पनि भूत लाग्छ भन्ने डर थियो। सबै जना अत्यन्त त्रसित मुद्रामा थिए। केहीबेरमा धामीझाँक्री आएर मङ्गलेका दुईवटा नाडी छाम्दै उसको आत्मा भूतले खाइसकेको छ अर्थात् मरिसक्यो भनेर घोषणा गरे।
हामी अत्यन्त आत्तिएका थियौं अथवा गल्तीको महसुस गरिरहेका थियौं। कसैले शङ्का गर्यो भने के उत्तर दिने भन्नेसम्म पनि सोच्न सकिरहेका थिएनौं। त्यसैले बाहिरी आवरणलाई समाल्ने प्रयास गरिरहेका थियौं। त्यो समाजको अन्धविश्वासले गर्दा उनीहरूले हामीलाई त शङ्कासमेत गर्न सकेनन्। त्यो समाजले मङ्गलेको मृत्युको कारण भूतलाई नै ठहर्यायो। हाम्रो उटपट्याङ कर्मले यी सबै कुरा भएका थिए भन्ने कुरा कसैले भन्न सकेन।’
यति कुरा भनी सक्दासम्म हजुरबाको अनुहारभरी पसिनै पसिना र त्यो घटनाका कारण उत्पन्न आत्मग्लानि स्पष्ट देखिन्थ्यो। मैले हजुरबालाई सान्त्वना दिने शैलीमा भनेँ– ‘हजुरबा हजुरहरूले यति दुःखद घटना होला भनेर गर्नुभएको होइन क्यारे, अनजानवश ७० वर्षअगाडि भएको घटनाको प्रायश्िचत्त गर्नेबाहेक बाँकी केही छैन।’
‘बाउबाजेहरू भन्ने गर्थे ‘भाग्यमानीको भूतै कमारो’ तर हाम्रो सवालमा हाम्रो गल्ती वा अपराध लुकाएर जीवनको यो अवस्थामा पुर्याउने साथै समाजबाट हामीलाई बचाउन ‘भूत’ नै सहयोगी वा देवता साबित भयो।’ उहाँ अगाडि थप्दै हुनुहुन्थ्यो– ‘त्यस दिनदेखि हामी पनि गोठमा जान परेन। केही समय जिल्लाकै विद्यालयम पढ्यौं अनि केही समयपछि काठमाडौं आएर पढ्ने अवसर प्राप्त गर्यौं र यो स्थानमा पुग्न सफल भयौं।’
हजुरबा मेरो कपाल मुसार्दै कुरा अगाडि बढाइरहनुभएको थियो भने म निर्दोष तरिकाले उहाँको अनुहार नियालिरहेको थिएँ। ‘जीवनको यो अवस्थामा आइपुग्दासमेत मनभित्र गडेर बसेको त्यस बेलाको गल्ती र डरले छोडेन बाबु। यो कुरा विश्वराम र मलाईबाहेक कसैलाई थाहा थिएन र हामी दुवैको जिन्दगीसँग जोडिएको हुनाले कसैलाई नभन्ने वाचा गरेका थियौं।’ मसँग पनि प्रतिबद्धताको अपेक्षा गरेझैं हजुरबा मलाई हेरेर भन्दै हुनुहुन्थ्यो– ‘अब त्यो कुराको वास्तविकता थाहा पाउने तीन जना भएका छौं। यदि तिमीले यो कुरा कसैलाई भन्यौ भने म बाच्नुको अर्थ हुने छैन।’ यी कुरा भन्दै गर्दा हजुरबा आफू ज्यादै कमजोर भएको महसुस गर्नुभएको थियो।
‘बाबु, जीवनमा कहिल्यै पनि कुनै कुरालाई मजाक एवम् उटपट्याङ नगर्नू है,’ आफ्नो मनमा नमेटिने कमजोरीबाट पाठ सिकेर हजुरबाले जीवनमा पहिलोपटक मलाई ठुलो सन्देश दिनुभएको थियो।
जीवनभरि एउटा अव्यक्त आत्मग्लानि र पीडाबोध बोकेर पनि नेपाल सरकारको उच्च पदमा पुग्नुभएका हजुरबाले यस संसार सधैंका लागि छोडेको पनि तीन महिना पुगिसकेको छ। बाहिरी समाजले सफल भनेको व्यक्तिको मनभित्र जीवनभरि के कुराले सताएको थियो भन्ने कुरा घरिघरि मेरो मानसपटलमा छचल्किन्छ। हजुरबाको सम्झना बोकेर पहिरे खेत र त्यसको सेरोफेरोमा पहिलो पटक पुगेको थिएँ।
भूतले मान्छे अपहरण गरेर खाएको त्यो दिनको घटनापछि त्यस खेतमा गोठ राखेर मानिसहरू रात बस्ने प्रचलन पूर्णतया हटिसकेको रहेछ। आजसम्म पनि पहिरे खेतमा भूतले मान्छेलाई खान्छ भन्ने मिथक प्रचलनमा रहेछ। सूर्यास्त नहुँदै मेलो छोडेर आजपर्यन्त पनि मानिसहरू आफ्नो घर फर्किन हतार गर्दा रहेछन्।
प्रकाशित: १० जेष्ठ २०८२ ०९:५३ शनिबार





