२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

वैकल्पिक व्यवस्था बिना बस्ती हटाए देशभर आन्दोलन चर्काउने भूमिहीन–सुकुम्बासीको चेतावनी

वैकल्पिक व्यवस्था नगरी भूमिहीन तथा सुकुम्बासी बस्तीमा डोजर चलाइए देशव्यापी आन्दोलन चर्काउने चेतावनीसहित भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले आइतबार बुटवलमा विशाल प्रदर्शन गरेका छन्।

चर्को गर्मीका बीच सयौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफूहरूको बाँच्न पाउने अधिकारमाथि हस्तक्षेप भए प्रतिरोधमा उत्रिने चेतावनी दिएका हुन्।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले “अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर”, “गाँस, बासको सुनिश्चितता गर”, “डोजर आतंक बन्द गर”, “गरिबलाई बाँच्न दे” जस्ता नारासहित प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले बुटवलको राजमार्ग चौराहाबाट नाराबाजी गर्दै ट्राफिकचोक पुगेर कोणसभा गरेका थिए।

सभामा बोल्दै संघर्ष समितिका अगुवाहरूले वैकल्पिक व्यवस्था नगरी गरिब बस्तीमा डोजर चलाउनु अन्यायपूर्ण हुने बताएका छन्।

उनीहरूले नागरिक भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै समस्या समाधान नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।

संघर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्र पौडेलले सरकारले आफ्नै नागरिकमाथि अमानवीय व्यवहार गरिरहेको आरोप लगाए।

“दीर्घकालीन योजना र विकल्पबिनै गरिबका घरटहरा भत्काएर उठीबास लगाउन खोजिएको छ,” उनले भने, “त्यसैले आन्दोलनमा उत्रिन बाध्य भएका हौँ।”

उनका अनुसार देशभर झण्डै १२ लाख परिवार वैकल्पिक व्यवस्था बिना बस्ती हटाउने सरकारी तयारीबाट प्रभावित भएका छन्।

“यदि सरकारले दमनकारी शैली नरोके आन्दोलन अझ कडा हुन्छ,” पौडेलले चेतावनी दिए।

संघर्ष समितिका अर्का अगुवा वीरेन्द्र विकेले सार्वजनिक जग्गा संरक्षणको नाममा गरिब र निमुखा नागरिकमाथि अन्याय भइरहेको दाबी गरे।

“महँगी र बेरोजगारीले थिचिएका बेला गरिब बस्तीमा डोजर चलाएर त्रास फैलाउने काम भएको छ,” उनले भने, “सरकारले गरिबलाई विस्थापित गर्ने होइन, रोजगारी र राहत दिने काम गर्नुपर्छ।”

उनले २०२८ सालदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई समेत राज्यले वैधानिकता दिन नसकेको भन्दै दीर्घकालीन समाधान खोज्न आग्रह गरे।

अर्का अगुवा नरेन्द्र दर्जीले राज्यले वर्षौंदेखि भूमिहीन र सुकुम्बासीबाट कर उठाए पनि जग्गाधनी पुर्जा दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे।

“हामीले खान–लाउन देऊ भनेका छैनौँ,” उनले भने, “आफ्नै मेहनतले बाँचिरहेका छौँ। तर यो देशका नागरिक भएकाले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ।”

कार्यक्रममा बागमती प्रदेशबाट सहभागी प्रतिनिधि लीजा राईले गरिबका भोटले सत्तामा पुगेकाहरूले डोजर आतंक नरोक्ने हो भने सत्तामा बस्ने नैतिक अधिकार गुमाउने चेतावनी दिइन्।

“जनता रहे सरकार रहन्छ,” उनले भनिन्, “जनताको साथ गुमे सत्ता टिक्दैन भन्ने कुरा सरकारले बुझ्नुपर्छ।”

अर्का प्रतिनिधि राजु शाहीले गरिब जनताको मतबाट बनेको सरकारले तिनै नागरिकमाथि डोजर आतंक मच्चाएको आरोप लगाए।

उनले काठमाडौंका सुकुम्बासी बस्तीमा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारबाट समेत वञ्चित गराइएको दाबी गर्दै देशका अन्य स्थानमा पनि त्यस्तै अवस्था दोहोरिए आन्दोलन अझ सशक्त बन्ने चेतावनी दिए।

आयोजकका अनुसार कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया लगायत २२ जिल्लाबाट भूमिहीन तथा सुकुम्बासी सहभागी भएका थिए।

यसैबीच सोमबार बुटवलमै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ।

देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू बुटवल पुगिसकेको आयोजकले जनाएको छ। सम्मेलनले आगामी आन्दोलनलाई थप प्रभावकारी बनाउने रणनीतिसहित राष्ट्रिय मोर्चा गठन गर्ने तयारी गरेको बताइएको छ।

भूमिहीन तथा सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था बिना विस्थापन नगर्न माग गर्दै गत वैशाख २४ गतेदेखि देशभर विरोध कार्यक्रम गर्दै आएका छन्। काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासी त्रसित बनेका छन्।

प्रकाशित: ३ जेष्ठ २०८३ २१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App