नेपालीमा त लुप्तप्रायः भइसकेको सेमीकोलन (अर्धविराम) अंग्रेजी भाषाबाट पनि हराउन थालेको भन्दै चिन्ता गर्न थालिएको छ। भाषाविज्ञहरूले अर्धविराममाथि अनुसन्धान गर्दा के पाए भने, २५ वर्षअघिसम्म यस्ता अर्धविरामहरू किताबमा प्रशस्त देखिन्थे। अध्येताहरूले सन् २००० ताका सेमीकोलनहरू प्रत्येक दुई सय पाँच शब्दपछि अनिवार्य रूपमा देख्थे। अहिले आएर त्यो शब्दसीमा बढेर तीन सय ९० शब्दमा उक्लिएको छ।
यो अध्ययन गरेकी हुन्, लिशा म्याकलेन्डनले। द पर्फेक्ट इंग्लिश ग्रामर वर्कबुक की लेखिकाका अनुसार बेलायतमा ६७ प्रतिशत विद्यार्थीहरूले जीवनमा विरलै वा कहिलेकाहीँ मात्र सेमीकोलन प्रयोग गर्ने गरेको स्वीकारेका छन्।
उनले ठूलो संख्यामा विद्यार्थीहरूमाझ गरेको शाब्दिक सर्भेमा यो कुरा देखिएको हो। जम्माजम्मी ११ प्रतिशत विद्यार्थीहरूले मात्र स सेमीकोलनलाई आवश्यकता अनुसार अझै पनि प्रयोग गर्ने गरेको बताएका थिए। भाषा प्रशिक्षण सफ्टवेयर बनाउने कम्पनी बाबेलले हालै लेखिका लिशालाई हराउँदो सेमीकोलनका बारेमा विद्यार्थीहरूमाझ सोध्न आग्रह गरेको थियो।
लिशाले पनि पाँच लाखभन्दा बढी विद्यार्थीहरूमाझ पुगेर सोको अनुसन्धान गरेकी थिइन्। तीमध्ये आधा वा त्योभन्दा बढीले शब्दमा उपयोग हुने विभिन्न किसिमका संकेत, चिह्न, विरामहरूका बारेमा कि त पूरै थाहा नपाएको, थोरबहुत थाहा पाए पनि तिनलाई कहाँ र कसरी प्रयोग गर्ने भन्नेबारे पूर्ण जानकारी नभएको भनी स्वीकार गरेका थिए।
लिशा भन्छिन्, ‘मचाहिँ यो सेमीकोलनको भयंकर प्रशंसक हुँ। यसले जुन विराम र अर्थ दिन्छ, त्यसको कुनै जोडा छैन। यो सानो चिह्न वास्तवमा ठूलो सोचको परिचायक हो। कमा र थोप्लो मिलेर बन्ने यो चिह्नले बेग्लै किसिमको भाषामा निकै भव्य भाव दिने गरेको छ। यो हराउँदै जानु चिन्ताको विषय हो।’
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ८ जेष्ठ २०८२ ०८:१५ बिहीबार