बालबालिकाको क्षमता प्रस्फुटन र इलामको सौन्दर्यप्रति फिल्मकर्मीको आकर्षण बढाउन इलाममा बाल चलचित्र महोत्सव सुरु भएको छ । जेठ १० सम्म चल्ने महोत्सव सदरमुकाममा उद्घाटन गरिएको छ ।
महोत्सवमा बाल चलचित्र निर्माण प्रशिक्षण कार्याशाला, घुम्ती चलचित्र प्रदर्शनी, बाल चलचित्र प्रदर्शनी, सेलिब्रेटीसँग बालबालिकालगायत कार्यक्रम राखिएका छन् । इलाम नगरपालिकाको सहयोगमा नेपाल चलचित्र विकास बोर्डले आयोजना गर्ने महोत्सव इलाम नगरमै उद्घाटन गरिएको हो । बोर्ड अध्यक्ष दिनेश डिसीका अनुसार इलाम नगरका विभिन्न स्थानमा महोत्सवअन्तर्गतका कार्यक्रम हुनेछन् ।
नेपाल चलचित्रकर्मी संघले स्थानीय सहकार्य गरेको महोत्सवको प्रवर्धन नेपाल पर्यटन बोर्डले गरेको छ । महोत्सवमा धेरैभन्दा धेरै बालबालिका र अन्य सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । इलाम नगरका मेयर केदार थापाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि कला महत्त्वपूर्ण माध्यम भएकाले बाल चलचित्र महोत्सव इलाममै आयोजना हुनु गर्वको विषय भएको बताए । ‘बालबालिकालाई कला क्षेत्रमा प्रोत्साहन गर्न र समग्र इलामका पर्यटकीय क्षेत्रलाई कलामार्फत् प्रवर्धन गर्न यो महोत्सवले सघाउने आशा छ,’ उनले भने, ‘चलचित्रकर्मीलाई इलाममा फिल्म छायांकन गर्न आकर्षित गर्दा यहाँको प्रचार बढ्छ ।’
इलाम प्रकृति, संस्कृति र कलामा धनी रहेकाले यहाँको प्रचारप्रसारका लागि चलचित्र विकास बोर्डले पनि सघाउन महोत्सव आयोजना गरिएको बोर्ड अध्यक्ष डिसीको भनाइ छ । ‘इलाम त्यसै पनि सुन्दर र पर्यटकीय छ,’ उनले भने, ‘यो सौन्दर्यलाई फिल्मका माध्यमबाट प्रचार गरी संसारभर छर्नुपर्छ । बोर्डले यसमा आफूले सकेको सहयोग गर्नेछ ।’
इलाम नगरकी उपमेयर विष्णुकुमारी लिम्बू दाहालले बालबालिकाले उमेरै नपुगी बिहे गर्ने, शिशु जन्माउनेजस्ता कार्यमा फिल्मका माध्यमबाट चेतना अभिवृद्धि गर्न सहज हुने बताइन् । ‘बालबालिकाले लागु औषध प्रयोग गर्ने, छिट्टै बिहे गरेर डिभोर्स गर्नेजस्ता विकृति रोक्न पनि चलचित्र बनाउनुपर्छ,’ उनले भनिन्, ‘बालबालिकाले भिडियोमा निकै ध्यान दिन्छन्, त्यही माध्यमबाट उनीहरूमा चेतना फैलाउनुपर्छ ।’
बोर्डअन्तर्गत अन्तर्राष्ट्रिय चलचित्र प्रवर्धन समिति सदस्य तथा नेपाल चलचित्रकर्मी संघको कोशी प्रदेश समिति अध्यक्ष केबल तामाङले इलाममा विभिन्न फिल्म छायांकन हुनेगरेको बताए । ‘अब बालबालिकालाई पनि फिल्म, कला र अभिनयमा आकर्षित गर्नुपर्छ,’ उनले भने, ‘बालबालिकाका माध्यमबाट समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्नुपर्छ ।’
तामाङका अनुसार इलाम सदरमुकामको अरनिको सांस्कृतिक संग्रहालयमा चलचित्रसम्बन्धी कार्यशाला चलिरहेको छ । कार्यशाखामा १२ देखि १५ वर्षसम्मका ३० बालबालिका सहभागी छन् । महोत्सवअन्तर्गत इलाम चोक बजारमा कन्सर्ट हुनेछ भने ‘एन्जिला’ फिल्मसमेत प्रदर्शन गर्ने तयारी छ ।
प्रकाशित: ६ जेष्ठ २०८२ १८:०८ मंगलबार