१९ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

टेक्सासको अस्टिनबाट नेपथ्यको अमेरिका यात्रा सुरु

नेपथ्यले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ।

टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो।

नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो। नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे । यो प्रस्तुतिसँगै यो गीत अब युट्युबमार्फत सबैले निःशुल्क सुन्न र हेर्न पाउने घोषणा ब्यान्डले गरेको छ। यसअघि एक सातासम्म नेपथ्यप्रेमीले यो गीत पैसा तिरेर सुन्दै आएका थिए। 

दुई घण्टा लामो नेपथ्य कन्सर्टमा सपरिवार उपस्थित हुने दर्शक उल्लेख्य थिए। अमेरिकाका सात वटा सहरमा शृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजनासाथ ब्यान्ड यसै साता टेक्सास आइपुगेको हो। अस्टिनमा नेपथ्यको यो पहिलो कन्सर्ट हो। टेक्सासको अर्को सहर डालासमा भने ब्यान्ड यसअघि पनि दुई पटक प्रस्तुत भइसकेको छ।

अमेरिका यात्राको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट क्यानाडासँग सिमाना जोडिएको उत्तरी वासिङटन राज्य पुग्दै छ। उक्त राज्यको सबै भन्दा ठुलो सहर सियाटलमा मे २३ मा नेपथ्य प्रस्तुत हुने तयारी छ। त्यो दिन त्यहाँको ‘मुर थिएटर’मा बेलुकी ठिक ७ बजे हलका ढोकाहरू खुला गरिनेछन्।

त्यसपछि ब्यान्ड मे २६ मा क्यालिफोर्नियाको लस एन्जलस, ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, ११ मा म्यासाचुसेट्सको बोस्टन हुँदै अन्तिममा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा प्रस्तुत हुनेछ।

प्रकाशित: ५ जेष्ठ २०८२ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App