वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकले ‘समकालीन नेपाली कविताका स्वरहरू’ नामक कविता वाचन कार्यक्रम गरेको छ। कोटेश्वर बहुमुखी क्याम्पस, जडिबुटीमा आयोजित उक्त कार्यक्रममा २३ स्रष्टाले आफ्ना सशक्त कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन कवि रमी प्रियाले गरेकी थिइन्।
बुद्ध जयन्तीको पावन अवसरमा वाचन गरिएका कविताहरू शान्ति, अहिंसा, समकालीन राजनीति, सामाजिक आचार व्यवहारमाथिको व्यङ्ग्य, वातावरणीय चेतना र मानवीय मूल्यका विषयमा केन्द्रित थिए।
प्रमुख कवितात्मक प्रस्तुतिहरूमा रजनी मिलाको ‘प्रेम भिक्षा’, सोझो गाउँलेको ‘मान्छेलाई मर्ने सुविधा पनि छैन’, र कृष्ण बाउसेको ‘हित बुद्ध जायते’ (अहिंसाका विषयमा आधारित कविता) रहेका थिए। विश्व सिग्देलको ‘जोकर जब तानाशाह बन्छ’ शीर्षकको राजनीतिक व्यङ्ग्य कविताले दर्शकहरूबाट विशेष प्रशंसा प्राप्त गरेको थियो।
चन्द्रबहादुर लामाले युद्ध र शान्तिका विषयमा लेखिएको ‘युद्ध र शान्तिको बीच’ कविता वाचन गरे भने राजेन्द्रप्रसाद अधिकारीको ‘मृत्यु एक भ्रम, एक कथा’ ले अस्तित्वको गहन प्रश्नहरू उठायो। दिपक सापकोटाको ‘मान्छे हुनुको दोष’ र धन्वन्तरी मिश्र ‘कात्यायन’ को ‘ककारोको फूल’ ले मानव अस्तित्व र प्रकृतिसँगको सम्बन्ध उजागर गरे।
लीलाराज दाहालको ‘घाउ’ र अमर आकाशको ‘रुखको हाँगा पनि नकाट्नुहोस्’ जस्ता कविताले तीव्र सामाजिक व्यङ्ग्य प्रस्तुत गरे। दीपक लोहनीको ‘दुःखको आँसु’ र केशव ज्ञवाली ‘आगत’ को ‘मौन वृक्ष’ मा दुःख, मौनता र मानवीय ढोंगको गहिरो चित्रण गरिएको पाइयो।
कार्यक्रममा तीर्थराज भट्टको ‘बुद्धको छायाँसँग’, सुनिल पुरीको ‘अपील’ र सेडु नाथ ढकालको ‘कहाँ हरायो बुद्ध’ जस्ता कविताले शान्तिको खोजीमा लेखिएका भावनात्मक स्वर प्रस्तुत गरे। हिसिलिना शाक्यको ‘चेतावनी’ र रहेना नकर्मी मानन्धरको ‘शान्तिको आश’ ले सामाजिक जागरण र समर्पणको सन्देश दिँदै दर्शक झकझक्याए।
सुबाससिंह पराजुलीको अङ्ग्रेजीमा ‘ओम् मणि पद्मे हुँ’ र रमी प्रियाको नेपालीमा वाचन गरिएको ‘ओम् मणि पद्मे हुँ’ शीर्षकको कविताले बुद्धको शान्तिलाई आव्हान् गरेका थिए। एन्जल नीलुले मैथिली भाषामा कविता प्रस्तुत गरेर भाषिक विविधता समावेश गरिन्।
केशव भट्टराईले आफ्नो मधुर स्वरमा गजल वाचन गर्दा श्रोता मन्त्रमुग्ध भए। धीरकुमार श्रेष्ठको ‘पवित्र क्रान्ति’ कविता वातावरणीय चेतनाले भरिएको सचेत बनाउने कविता थियो। त्यस्तै कवि राधा कार्कीको उन्मुक्ति कविताले जीवन सुन्दर बनाउन मान्छेमा मानवता हुनुपर्ने सुन्दर भाव बोकेको थियो।
वर्तमान कविता समूहका विगतका कविताका विशेष कार्यक्रमझैं समयमै सुरु भएको कार्यक्रममा कुनै मन्तव्य नरहेको र एक घण्टाको समयावधिमा कार्यक्रम समापन भएको यस कार्यक्रमले भगवान् बुद्धको शान्ति र अहिंसालाई मात्र खोजेन, समकालीन नेपाली कविताको गहिरो साहित्यिक चेतना र विविध भावनात्मक स्वरहरूलाई पनि स्थान दिएको थियो। कविहरूका शब्दहरूले शान्ति, करुणा र सामाजिक न्यायप्रतिको सामूहिक चाहना उजागर गरेकाे थियाे।
प्रकाशित: १ जेष्ठ २०८२ १२:१२ बिहीबार





