१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ कृतिकाे लाेकार्पण

ओरियन्टल पब्लिकेशनले समालाेचक श्रीहरि फुयाँलकाे ‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ कृतिकाे लाेकार्पण गरेकाे छ।

वरिष्ठ समालोचक, साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराई, प्राडा कुमार कोइराला, डा. तुलसी भट्टराई, प्राडा शैलेन्दुप्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँल लगायतले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै प्राडा गोविन्दराज भट्टराईले लाकोजू मूलत: कवि नै हुन् र उनको कवि व्यक्तित्व छिमेकी राष्ट्रसम्म लोकप्रिय भएको सन्दर्भमा समालोचक फुयाँलको सूर्य लाकोजूका कवितामाथि समालोचकीय पुस्तक प्रकाशन हुनु सान्दर्भिक रहेको बताए।

अर्का वक्ता डा. तुलसी भट्टराईले  ‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ कृतिकाे सन्दर्भ जोड्दै श्रीहरि फुयाँल मोतिराम जस्तै बनेको र सूर्य लाकोजू भानुभक्तजस्तै भएको बताए। अग्रज पुस्ताले अनुज पुस्ताबारे यस प्रकारको पुस्तक तयार हुनु उल्लेखनीय र दुर्लभ रहेको र अनुज पुस्ताको शक्तिशाली कविताबारे समालोचनाको पुस्तक तयार हुनु गौरवको विषय भएको पनि उनले बताए।

प्राडा कुमार कोइरालाले पुस्तबारे बोल्दै समालोचनाका लागि उपयुक्त पात्रको चयन गरेको र विविध समालोचकीय दृष्टि समालोचक फुयाँलले अपनाएको विचार पोखे। साथै कवि सूर्य लाकोजूका कवितामा समालोचना गरेर उनको कवितामाथि न्याय गरेको विचार पनि व्यक्त गरे।

त्यस्तै समालोचक डा.तुलसी गौतमले सूर्य लाकोजूका कविता पढ्दा आफ्नै विचार, भावना व्यक्त भएको अनुभूति हुने, कविताले निरन्तर आकर्षित गरिरहने, थोरै शब्दमा धेरे भन्न सक्ने खुबी भएकाले  सूर्यका कविता उच्च स्तरका र हृदयस्पर्शी बनेको बताए।

कार्यक्रममा प्राडा शैलेन्दुप्रकाश नेपालले कवि लाकोजूको कवि व्यक्तित्वमाथि प्रकाश पार्दै लाकोजूका कविता सरल तर सरस भएकाले उनको कवि व्यक्तित्वको उचाइ चुलिएको र सबैतिर लोकप्रिय भएको विचार पोखे।

साहित्यकार युवराज मैनालीले कृतिकार समालोचक फुयाँल राम्रो समालोचक भएकै कारण आफूलाई ठिक नलागेको विषयमा समलोचना नलेख्ने, साहित्यका सबै विधामा सफल बहुमुखी प्रतिभाका भनी व्यक्तित्व भएको विचार पोखे।

समालोचक फुयाँलले लाकोजूका कविता स्तरीय र उच्चकोटिको भएकैले आफूले लाकोजूका कविताको प्रवृत्ति केलाएर विश्लेषण गर्दागर्दै एउटा पुस्तकै तयार भएको विचार पोखे।

त्यस्तै कवि लाकोजूले अग्रजहरूको आशीर्वाद, मित्रहरूको सद्भाव र अनुजहरूको स्नेह नै आफ्नो लेखनको प्रेरणा भएको बताए।

सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक पुस्तकमा समालोचक श्रीहरि फुयाँलले कवि लाकोजुका प्रकाशित छ कवितासङ्ग्रह स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम र घामको पर्खालको आधारमा कवि सूर्य लाकोजूको कविताहरूको विवेचना गरेका छन्।

कवि सूर्यप्रसाद लाकोजूका कविताहरूको विश्लेषण गरेर समालोचक फुयाँलले समालोचना कृति तयार पारेका हुन्। उक्त पुस्तक ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हाे।

प्रकाशित: ३१ वैशाख २०८२ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App