१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

पोखरामा ईश्वरमणि अधिकारीको ‘सानु साथी’ लोकार्पण

पाेखरेली युवा सांस्कृतिक परिवार, पाेखराले कवि ईश्वरमणि अधिकारीको चाैथाे कृति ‘सानु साथी’ लोकार्पण गरेको छ।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित उक्त कृति साहित्यकारहरू सरूभक्त, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, सरस्वती प्रतिक्षा, लक्ष्मण थापा, ईश्वरमणि अधिकारी, अध्येता तथा विश्लेषक विश्व सिग्देल सहित डा. अस्मिता अधिकारीले एकसाथ लोकार्पण गरेका हुन्।

कृतिमाथि आफ्नो दृष्टिकोण राख्दै विश्लेषक विश्व सिग्देलले सानु साथी कविताको विविध आयामहरूको चर्चा गर्दै डा. अधिकारीका कविताले बोकेको विचार तथा दर्शनको  क्षितिजको व्याप्तीलाई मुक्तकण्ठले प्रशंसा गर्दै पूर्वीय दर्शनका उपनिषद् र वेदका सुक्तिहरूझैं न्यूनतम शब्द खर्चेर गहन अनुभूतिजन्य कवितामा संवाद गर्न सक्ने कविका रूपमा कविलाई अर्थ्याए।

कविताको बुनोट, बनोट र भाषा सरल भैकन पनि अर्थगत तथा अनुभूतिगत रूपमा संवेदनाका अनेक मूर्त अमूर्त विम्बहरूको सुन्दर माला उनेर उच्च  बौद्धिक र हार्दिक बनेर आएको सानु साथी वास्तावमै एक सफल काव्य कृति रहेको ठहर सुनाए। उनले आफूले कविता नलेखे पनि वर्षौदेखि काव्य रुचिपूर्वक पढ्दै आएको र सानु साथीका कतिपय कवितामा आफ्नै अनुभूति भेटेकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा सानु साथीबाट कवि अमृतले सम्बोध्य शैलीको प्रेमगीत सम्झाउने कविता ‘सम्बोधिका’ वाचन गरे भने साहित्यकार जीवनसागर भण्डारीले जीवनबोध, मृत्युबोध, प्रेम, संवेदना तथा दर्शनले भरिएको ‘इच्छापत्र’ वाचन गरे।

काव्यिक शुभकामना सहित २१ वर्षपछि आफ्ना पूर्ववर्ती काव्यकृतिहरूलाई धेरै उछिनेर अत्यन्त सुन्दर र शक्तिशाली कविताहरू सहित गौरव गर्न लायक काव्य कृति नेपाली कविताले प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै साहित्यकार सरस्वती प्रतीक्षाले ‘आमा: विश्वविद्यालय’ वाचन गरिन्। शुभकामनाका शब्दहरू सहितका यी काव्य वाचनले खचाखच भरिएको विद्वान् काव्यप्रेमीहरूको हल सम्पूर्ण रूपमा काव्यिक देखिन्थ्यो।

शुभकामनाकै क्रममा लामो समयदेखि कविता र कलाका क्षेत्रमा एकोहोरो लागिरहेका अर्का काव्य पारखी विम्ब कवि रमेश श्रेष्ठले आफूले कवि ईश्वरमणिलाई समयको पृथक् चेतना बोकेको बौद्धिक तथा दार्शनिक कविको रूपमा वर्षौदेखि चिन्दै र सङ्गत गर्दै आएको बताउँदै उनीभित्रको हार्दिकता र बौद्धिकताले उनलाई कवि बनाएको बताए।

अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयबाट उच्च छात्रवृत्तिमा औषधी विज्ञानमा विद्यावारिधि गरेर हाल क्यालिफोर्नियास्थित जोन्सन एण्ड जोन्सन कम्पनीमा अनुसन्धान वैज्ञानिकका रूपमा कार्यरत कवि पुत्री डा. अस्मिता अधिकारीले जब बाबासितका अन्तरङ्ग विषयहरूको कुन्तुरो खोलिन्। कार्यक्रमले गम्भीर र रोचक मोड लियो।

छोरी अस्मिताले आफ्नो जीवनको रोलमोडल र रियल हिरो आफ्नो बाबा भएको, बाबाको जीवन सङ्घर्ष, अध्ययनअध्यापन कौशल र उनको आफ्नो विषय तथा अन्य अन्तरविषयक ज्ञानको सानैदेखि आफू साक्षी र साथी दुवै भएको बताउँदै सानैमा पनि सबैले जेमा पनि बाबाजस्तै भन्ने गरेको सुनाउँदै बाबाको छोरी भएकोमा गर्व गर्दै बाबाले सुरुमा र विचविचमा अनिच्छापूर्वक गणितको पिएचडीमा लागे पनि पछि त्यसलाई कुशलता र गुणवेत्ताका साथ टुंग्याएर अब त्यतैत्यतै पो लागिरहनुहुन्छ कि भन्ने आशंका भैराखेको बेला पिएचडीपछि लगातार दुइ वर्षमै दुइटा सफल कृति आएको देखेपछि ईश्वरले साहित्य र साहित्यले ईश्वर नछोडेकोमा खुसी व्यक्त गरिन् र बाबाआमालाई साहित्य सेवामा जुटिरहन आफूले हरतरहले सघाउने बताइन्।

आफ्ना कविताहरूले नै आवश्यक संवाद आफै गर्ने बताउँदै कृति आफ्नी सानुसाथी देव्यांशीलाई र समारोह आफ्नी मेधावी छोरी साथी अस्मितालाई समर्पण गर्दै दुवैमाथि लेखिएका आफ्ना दुइ थान कविता ‘सानु साथी’ र ‘छोरीका नाममा’ वाचन गर्दै कवि ईश्वरमणि अधिकारीले आफू कविताको प्रेमी भएको र जीवन रहुन्जेल कविताको आराधना गरिरहने बताउँदै आजकल त सास फेर्नु र कविता लेख्नु आफ्ना लागि उस्तैउस्तै लाग्न थालेको बताए।

बेलाबेलामा विभिन्न नामले प्रकाशन गृहहरू चाहारेको आफ्नो कृति पहिलो पाण्डुलिपि तयार भएको झन्डै डेढ दशकपछि सानु साथीको आगमनले तीव्र प्रकाशन सम्भव भएको बताउँदै छोरीकी जन्मदिन पारेर उसैलाई साक्षी राखेर लोकार्पण गर्न पाउँदाको खुसी र प्रकाशन संस्थाकी अध्यक्ष समेत रहेकी आफ्नी जीवनसाथी तथा कवि रिता अधिकारी ऋतु, सानु साथीसितै मुलुक बाहिर भएको बेलाको प्रकाशनको रिक्तता पनि एकसाथ व्यक्त गरे।

कार्यक्रमका विशेष आमन्त्रित साहित्यकार तीर्थ श्रेष्ठले कतिपय कवि लेखकहरू आफनै पूर्ववर्ती कृतिहरूको प्रतिस्पर्धा र राप तथा तापमा चेपिएर हराइरहेको चर्चा गर्दै कवि अधिकारीले आफ्ना हरेक कृति अघिल्ला कृतिहरूभन्दा सशक्त र प्रभावकारी ढंगले लामो सम्पादन र परिपक्कताका साथ पर्खेर, अत्यन्त इमान्दार भएर नेपाली साहित्यमा दिइरहेकोमा आफू  गदगद भएको सुनाउँदै उनलाई बाैद्धिक, दार्शनिक तर त्यत्तिकै हार्दिक र कोमल कविका रूपमा अर्थ्याए। अहिले उनी नेपाली समकालीन कविताको एक सारथी भैसकेकोमा खुसी व्यक्त गरे। 

कार्यक्रमका प्रमुख आमन्त्रित साहित्यकार सरूभक्तले एकसाथ कवि डा. अधिकारी, संस्थाकै अध्यक्ष तथा कवि रिता अधिकारी ऋतु हुँदै स्रस्टाकी पुत्री डा. अस्मिता अधिकारीलाई उनीहरूको अलगअलग क्षमता, विशेषता र सामर्थ्यहरूको विषद् चर्चा गर्दै झन्डै ३ दशकदेखि आफूले अत्यन्त नजिकबाट प्रेमपूर्वक सुन्दै आएका कवि अधिकारीको काव्य सामर्थ्यको प्रशंशा गरे। उनका  कृतिहरूमा वर्तमानका त्रासदी र कुरूप यथार्थहरूलाई पनि कथ्यको गहनताका साथ प्रस्तुत हुने बताए। स्पर्शीलता, गहनता, दार्शनिकता, बहुअर्थी र अन्तरविषयकता कवि अधिकारीको विशिष्टता  रहेको बताउँदै नेपाली साहित्यमा एउटा सुन्दर काव्य कृति आएकोमा खुसी व्यक्त गरे।

प्रकाशन संस्थाकै आयोजनामा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सचिव एमडी काफ्लेले संचालन गरेको उक्त लोकार्पण समारोहामा संस्थाकै साहित्य संयोजक केशु शर्माले स्वागत गरेकी थिइन्।

धन्यवाद ज्ञापन सहित सभा विसर्जनका क्रममा अध्यक्ष थापाले कवि अधिकारीलाई न्यूनतम शब्दमा अधिकतम भाव र जादुमय  गाम्भीर्य पोख्न सक्ने कवि अधिकारीका कविताहरू पढ्दा आफूलाई ध्यानमा  बसे जस्तो महसुस हुने बताउँदै आफ्नो संस्था मार्फत यस्तो गहन कृति प्रकाशन गर्ने अवसर प्रदान गरेकोमा आभार व्यक्त गरे।

प्रकाशित: २८ वैशाख २०८२ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App