सिरहाको मिर्चैया नगरपालिका-७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तरार्द्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा थिएन। विगत सात वर्षदेखि उनको संसार अन्धकारमा बितेको थियो।
छोराहरूले वास्ता गरेनन्। सहारा दिने छोरीको समेत मृत्यु भएपछि उनी झनै बेसहारा भएका थिए। तर, आफ्नै आँगनमा सञ्चालित आँखा शिविरले उनको देब्रे आँखाको मोतियाविन्दु हटाइदिएपछि उनले पुनर्जन्म पाएझैँ अनुभूति गरेका छन्।
‘आँखा नदेखि नै मर्छु जस्तो लागेको थियो, अहिले छयाङ्गै देख्न पाउँदा साह्रै खुसी लागेको छ’, सदायले हर्षका आँसु पुछ्दै भने। सदाय मात्र होइन, मिर्चैया-१ का ८२ वर्षीय गोपाल कापर र ७३ वर्षीया एकल महिला जानकीदेवी साहको कथा पनि उस्तै छ। जानकी देवीको आँखामा लागेको ‘बादल’ जस्तो मोतियाविन्दु पनि शिविरमा उपचार गरी हटाइएको छ। उनले अब आफ्नो दैनिकी चलाउन सजिलो हुने बताइन्।
मिर्चैया नगरपालिका र तिलगंगा आँखा अस्पतालको सहकार्यमा यही चैत २ गतेदेखि ८ गतेसम्म चलेको बृहत् आँखा शिविरमा ३१२ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको हो। नगरका सबै वडा र मिर्चैया अस्पतालमा गरिएको ‘स्क्रिनिङ’का क्रममा चार हजार ५५० जनाले सेवा लिएका थिए।
तिलगंगा आँखा अस्पतालका नेत्र अधिकृत वासुदेव अधिकारीका अनुसार अस्पतालमा यही उपचार गराउँदा शल्यक्रिया शुल्क, औषधि र आवतजावत गर्दा करिब २८ देखि ३० हजार रुपैयाँ खर्च हुन्छ। विपन्न परिवारका लागि यो ठूलो रकम हो। तर आँखा शिविरमा निःशुल्क शल्यक्रिया गरिएको हो।
नगरभित्रका दलित, विपन्न र वृद्धवृद्धा आँखाको समस्याले पीडित भएको जानकारी पाएपछि विशेष पहल गरेर शिविर सञ्चालन गरिएको नगर प्रमुख श्रवणकुमार यादवले जानकारी दिए। स्वास्थ्य शाखा प्रमुख राजनकुमार साहका अनुसार बिरामीको एक रुपैयाँ पनि खर्च नहुने गरी शल्यक्रिया, औषधि र चश्मासमेत निःशुल्क वितरण गरिएको छ।
आर्थिक अभावले दृष्टि गुमाउन बाध्य भएका मिर्चैयाका सयौँ नागरिकका लागि यो शिविरले जीवनमा उज्यालो दिएको छ। रासस
प्रकाशित: १२ चैत्र २०८२ ०७:५४ बिहीबार





