१) मनोभावना
“आर्या किन उदाश? के काम परेर यो साँझको बेला आएकी?” दिक्षाले प्रश्न गरी।
“मलाई विलखबन्दनमा पारिन खोजिंदै छ दिक्षा। म मास्टर डिग्री सकेर मात्रै विवाह गर्छु भन्दै छु। तर बाबाममी मलाई विवाह गर्न कर गरिरहनुहुन्छ। म के गरौ? तैले सम्झाइदेन दिक्षा।” आर्याले दुखेसो पोखी।
आर्या र दिक्षा मिल्ने साथी हुन्। उनीहरूको कलेज एउटै हो। उनीहरू विविएस थर्ड इयरमा पढ्छन्। दिक्षालाई पनि सजिलो छैन। ममीबाबाले उसलाई पनि विवाहको कुराले हैरान पारिरहनुभएको छ।
आर्या र दिक्षा अन्तरमुखी स्वभावका छन्। उनीहरू धेर बोल्न रूचाउँदैनन्। उनीहरूको विवाहबारे एउटै धारण छ। कम्तीमा मास्टर डिग्री सकेर आफ्नो खुट्टामा आफैँ उभिन सक्ने भएपछि विवाहबारे सोचविचार गरौला।
विवाह कसैको जोर जबर्जस्तीले गरिने विषय बन्नु हुँदैन। करकापको वैवाहिक जीवन दुर्घटनामा पर्न सक्छ। कस्ले कसलाई कसरी सम्झाउने? उनीहरू रनभुल्लमा छन्। आर्या र दिक्षा एउटै समस्याबाट पीडित छन्। आर्याले दिक्षालाई र दिक्षाले आर्यालाई सहयोग गर्नुपर्ने परिस्थिति छ।
विवाह नारी स्वतन्त्रतासँग गाँसिएको विषयवस्तु पनि हो। विवाह गर्ने, नगर्ने कोसँग कसरी गर्ने? भन्ने मुद्धाको छिनोफानो नारी स्वंयले गर्न पाउनुपर्छ। खासमा केटीहरूले योग्य वर रोज्न आफैले पाउने वातावरणको सिर्जना गरिनुपर्छ।
हाम्रो सामाजिक परिवेश त्यति उदार भैसकेको छैन। अभिभावकको इच्छा अनुसार नै विवाह भैरहेको छ। कतिपय सन्दर्भमा विवाहबारे सोद्धै नसोधी निर्णय लिँदा अप्रिय घटना भएकाे थुपै उदाहरण छ। विवाह जिन्दगी बिताउने लामो यात्रा हो। सँगै यात्रा गर्न उमेर मिल्नुपर्यो। मन मिल्नुपर्यो। विचार र सिद्धान्त मिल्नुपर्यो। कुनै एक कुरा नमिलेमा त्यो वैवाहिक यात्रा फलदायी नहुन सक्छ। जीवन बर्बाद हुन सक्छ। तसर्थ विवाहबारे निर्णय लिनुपूर्व अभिभावकका छोरीहरू मनोभावना बुझ्ने हो कि? छोरीहरूसँग परामर्श गर्दा के नै विग्रन्छ र?
सामाजिक परिवेशमा केही लचकता आए पनि त्यो पूर्ण भने भइसकेको छैन। पूर्णता प्राप्तिका लागि नारी स्वरहरू बुलन्द पार्ने हो कि?

२. आत्मसमीक्षा
“दिक्षान्तजी बैठक बोलाउने चाँजोपाँजो मिलाउनोस् है। आकस्मिक बैठक बसी देशको राजनैतिक अवस्थाबारे विचारविर्मश गर्नुपर्ने छ।” अध्यक्ष नवीनले सचिवलाई उर्दी जारी गरे।“
कहिलेलाई बोलाऊ? अध्यक्षज्यूको राय पाउ न।” दिक्षान्तले जिज्ञासा राख्यो।
बोलाउनोस् न जति सक्दो चाँडो, अँ यसो गर्नोस न चैत्र १ गते बोलाउँदा कसो होला?” अध्यक्षले एउटा प्रस्ताव राखे।
दिक्षान्त वामपन्थी पार्टीको केन्द्रीय सचिव हो। अध्यक्षको रायअनुसार चैत्र १ गते नै बैठक बोलाउने तयारी गरी पदाधिकारी तथा सदस्यहरूलाई उसले पत्राचार तथा फोन सम्पर्क गर्ने निर्णय लियो। समसामयिक प्रस्तावहरू पनि टिपोट गर्यो। अध्यक्षको प्रतिवेदनमा छलफल चलाउन उसले समय समेत निर्धारण गर्यो।
मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ। जनआकाङक्षाहरू पूरा हुन सकिरहेका छैनन्। कमिशन र भ्रष्टाचारले देशलाई गाँजिरहेको छ। जनताले परिवर्तन आत्मसात् गर्न सकिरहेका छैनन्। बेरोजगार, अशिक्षा र गरिबी चुनौती बनेर ठडिएको छ। राजनीतिमा खुट्टा तानातान छ। कसले कसलाई कति खुइल्याउने? होड चलिरहेको छ।
समृद्ध र सुखी मुलुक बनाउन परिवर्तनकारी शक्तिहरू एकै हुनु जरूरी भैसकेको छ। प्रतिगमन सल्बलाउँदै छ। प्रतिगमन निस्तेज पार्न पनि एउटै मोर्चामा लामबद्ध हुन जरूरी छ।
परिवर्तनबाट जनताले जे अपेक्षा राखेका थिए। त्यो प्राप्त नभएपछि जनआक्रोश बढ्नु स्वभाविकै हो। मौकामा चौका हान्नेहरू छिद्र खोजिरहेका हुन्छन्। छिद्र खोज्ने मौका किन दिने? के राम्ररी शासन व्यवस्था चलाउन सकिंदैन? जनतालाई सकारात्मक परिणाम दिने गरी काम गर्न सकिदैन?
इच्छा शक्ति भए जनअपेक्षा क्रमश: पूरा गर्दै जान सकिन्छ। संविधानमा अधिकार लेखिदिएकै छ भनी संविधानको पाना पल्टाएर मात्रै हुँदैन। संविधानमा उल्लिखित अधिकारहरू जनताले निर्बाध रूपमा उपयोग गर्ने वातारवरण छ कि छैन? के साँच्चै नागरिक अधिकार सम्पन्न छन् त? समाजवाद उन्मुख अर्थ नीति लागू भयो के त? भन्ने जस्ता सवालमा बहस हुनु जरूरी भैसकेको छ। हामीले आफ्नो आत्मसमीक्षा गर्ने कि नगर्ने? आत्मसमीक्षा गर्दै जनअपेक्षा अनुसार राजनैतिक दलहरू जनताकै काममा सहयोगी बन्दै सुशाशन दिनेतर्फ उन्मुख हुनपर्ने छ। अन्यथा प्रतिक्रान्तिको खतरा बढी प्राप्त अधिकारहरू खोसिन सक्छ।
३. रेमिट्यान्स
“बुबा सन्चै हुनु हुन्छ? औषधि खानु भो?” म्यासेन्जरबाट छोरी प्रज्ञाले जिज्ञासा राखी।
“सञ्चै छु त। औषधि भर्खरै खाइसकेँ। त्यता के छ? ज्वाइँको पढाइ चल्दै छ कि छैन? तेरो काम कस्तो छ?” म्यासेन्जरमै मैले पनि जवाफ फर्काएँ।
म नियमित डिप्रेशनको औषधि खान्छु। आमाले औषधि खाने बेला सम्झाउनुहुन्छ। डिप्रेशनको औषधि ठिक समयमा सेवन नगरे औषधिले काम गर्दैन रे। कहिले फिनल्याण्डबाट छोरीले त कहिले क्यानडाबाट छोराबुहारीले औषधि खाकोनखाकोबारे साेधखाेज गर्छन्। म ठिक समयमै औषधि सेवन गर्ने गर्छु।
प्रज्ञा जेठी छोरी हो। उसले भनेअनुसार नै उसको विवाह भएको हो। विवाहपछि फिनल्याण्ड जाने तयारी विवाहअघि नै प्रज्ञाले जानकारी गराएकी थिई। विदेश जानु बाध्यता कि रहर? यो प्रश्नले मेरो दिमाग गिजोलिरहेको छ। लाखौं खर्च गरे र किन विदेश जान्छ मान्छे? किन देश छोडिरहेछन् दिनका दिन लाखौं युवा? प्रश्नहरू अनुत्तरित नै होलान्।
“प्रज्ञा फिनल्याण्ड नगए हुन्न? मास्टर्स गर्दै गरेकी मान्छे किन जानुपर्यो विदेश? ज्वाइँको पढाइ नेपालमै हुँदैन र? मास्टर्स सकेपछि यही काम पाइँदैन र? ज्वाइँ पनि एक्लो छोरो हुनु हुँदो रहेछ। नेपालमै पढाइ सकेर लोकसेवाको तयारी गरे हुन्न? दुनियाँले नेपालमै काम पाउँदा तिमीहरूले नपाउने भन्ने हुन्छ र?” मैले जिज्ञासा राखें।
“नेपालमा खै रोजगार? नेपालमा खै गुणस्तरीय शिक्ष? मास्टर्स गरेर प्लसटु र कलेज धाउने त हो नि। यहाँको तलबले जीवन धान्नै कठिन हुन्छ। ज्वाइँको मास्टर्स नेपालमा राम्रो छैन नि त। रहरले कोही विदेश जान चाहन्छ र? आफ्नो देशको माया कसलाई हुँदैन र? विदेशिनु बाध्यता हो बुबा।” प्रज्ञाले मेरा जिज्ञासा मेटाउन कोसिस गरी।
मैले सोचे वास्तवमै मेरो देशमा खोई अवसर र रोजगार? खै गुणस्तरीय शिक्षाको प्रत्याभूति? देश के भइसक्यो? महिला, बालबालिका, वृद्धवृद्धाहरूको चौतारीजस्तै भएको छ। न मलामी पाइन्छ न जन्ती नै। देशलाई कसरी आत्मानिर्भर बनाउने? राजनैतिक दलले नीति ल्याउनु पर्दैन र? अब पनि रेमिट्यान्सले नै देश चलाउने हो र?
प्रकाशित: २४ वैशाख २०८२ १०:०४ बुधबार





