१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

असल मान्छे पर्दाभित्र रहिरहने किन? जसको शक्ति उसको भक्ति गर्नुपर्ने किन?

मुक्तक

१) मुक्तक

कविका कविताले स्वरहरू भरेर ल्यायो

बालक सानो भए पनि भाव बोकेर ल्यायो

पढ्नु छ उसको रस पिउने गलाहरू सधैं

साहित्यको गर्व अक्षरले बोकेर ल्यायो।

२) मुक्तक

फूल देख्दा सरसले टोलाइरहने आँखा

नशालु झैं परसम्म लोलाइरहने आँखा

झुम्मिन्छ सधैं भमरा रस चुस्ने आशामा

तिर्खाएको नजरले झैं बोलाइरहने आँखा।

३) मुक्तक

कोही रिसले जल्छन् भने जलिरहन देऊ

कोही कुरा काट्छन् भने काटिरहन देऊ

उसको विचार सुमार्ग छोडिन्छ त के भो

आफ्नो खुशीको आयतन बढिरहन देऊ।

४) मुक्तक

भोक, शोक पनि एक प्रकारको रोग रहेछ

संस्कार, संस्कृति पनि मिठो भोग रहेछ

बुझेर सही मार्गलाई रोज्न जान्यो भने

हिजोको दुःख त आजको संयोग रहेछ।

५) मुक्तक

श्रद्धा, सत्कार, मानव अनुभूति हुन सक्छ

ईन्द्रियले नदेख्ने सबै अनुभूति हुन सक्छ

थिचिएर दुखेको गहिरो नीलडाम हो भने

पाहुना–सत्कार मिठो प्रत्याभूति हुन सक्छ।

६) मुक्तक

म सबैको आश बनेर आएको छु

म कसैको खास बनेर आएको छु

म अभ्यागत हूँ, पाहुना हुँ, विश्वास हूँ

म समाजको ऐना बनेर आएको छु।

७) मुक्तक

असल मान्छे पर्दाभित्र रहिरहने किन?

जसको शक्ति उसको भक्ति गर्नुपर्ने किन?

इतिहासका पानाहरू पल्टाउन मन लाग्यो

छातीमाथि हातले थिची जिउनुपर्ने किन?

८) मुक्तक

म अतिथि हूँ, म सुवास हूँ

प्रकृतिमा रमाउने बिन्दास हूँ

मुटुका धड्कन बटुल्दै आएकी

योग्य ज्ञानको अटुट विश्वास हूँ।

९) मुक्तक

साँझका पाहुना हुन्छन् देवता समान

नयाँ भावले आएका हुन् देवता समान

मिठो स्वाद बोकेर प्रवेशद्वार भित्रिएका

सत्कार गर्न योग्य हुन्छन् देवता समान।

१०) मुक्तक

मायालु शब्दमा सुधारस औषधि रहेछ

प्रतिध्वनिले सारा शरीर जुरमुराउने रहेछ

लेखाजोखा हुन्न जहाँ पवित्रता बाँचको छ

मीठो स्वाद मान्नु आफ्नो चर्को खुबी रहेछ।

- शान्ता देवकाेटा

प्रकाशित: १२ वैशाख २०८२ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App