१) बदलाव
हिंड्दै जाँदा बाटो मिल्दै गयो
पैतालामा रोपिने काँडा
फूल बन्दै गए
ठेस लाग्ने पत्थर
स्वयम् देवता बन्दै गए
अचेल!
यात्रामा
न काँडा भेटिन्छ
न ढुंगा भेटिन्छ
भेटिन्छ त खालि
फूलै फूलको मुस्कान
मुस्कुराएका
देवता जस्ता मान्छे!
२) संवाद
बाेलेर कहिले
नसकिने रहेछ
संवाद
थपिने मात्र रहेछ
अचेल थालेको छ
मौनताले मनसँग संवाद
जबदेखि थाल्यो मौनताले
संवाद
आत्मा बुद्ध भएको छ
बुद्ध आत्मा
घुमाउँदै छ माने
ऊ मौन मन हुँ!
प्रकाशित: ७ वैशाख २०८२ १२:२९ आइतबार





