१) बराबर
बूढो घरबाट कार्यालयतिर निस्किनै खोज्दा बुढीलाई अङ्कमाल गर्याे, म्वाइँ खायो र भन्यो, ‘राम्ररी बस है!’
बुढीले पनि उसै गरिन् र भनिन्, ‘आज दिउँसो समय मिलाऊ है! म उतै आउँछु। सपिङ जाऔँ ल!’
‘म अवस्था हेरेर कल गर्छु नि!’ उसले आश्वासन बाँड्दै बाइक चलायो र आँखाबाट ओझेल भयो।
उनी चिटिक्क परेर घरबाट बाहिर निस्किन्। साथी भनाउँदाको बाइकमा बसेर हावामा उडिन्। एउटा रेस्टुरेन्टमा बन्द कोठामा दुई साथी मस्तीमा हराउँदै थिए। फोनमा घण्टी बज्यो।
बुढाले भन्यो, ‘सरी डार्लिङ! आज मिटिङ छ। घर आउन अलि ढिला हुन्छ। भोलि निस्कौँला है।’
साथीको अँगालोमा बेरिंदै बुढालाई फोनमा नै सोधिन्, ‘आज तिमीलाई के खान मन छ? भन त! बेलकालाई त्यही पकाउँछु नि!’
‘आज साधा खाना खाने है?’ उसले मस्किदै भन्यो।
एकछिनको कुराकानीपछि कल कट्यो।
उनले भनिन् ,‘अब फर्किने होइन?’
उसले जिस्किदै भन्यो, ‘के हतार छ र? तिम्रो बूढो मिटिङमा होइन र?’
‘हो तर काम सकिएपछि यहाँ किन बसिरहनु नि?’
उनीहरू बाहिरिदै थिए। उताबाट अर्को जोडी भित्रिदै थियो। आउने र जाने दुवैले नियालेर हेरे। उनीहरूका आँखा चार भए। आउने यात्री उनकै बुढा थिए।
२) प्राथमिकता
निस्किएपछि मनमनै गुनेँ ,‘आज तलब आएको छ। बुढाको दबाई, फलफूल लिएर जानुपर्ला।’ लमकलमक लम्किदै थिएँ, छिमेकी दिदी बाटोमा भेटिइन्।
मलाई देख्नासाथ ठाडै प्रश्न गरिन्, ‘आज साउनको सोमबार, ब्रत बसिनौ जस्तो अनुहार देख्छु त! न रातो टीका न त हरियो चुरा! किन गति छाडेकी होला?’
मैले हाँस्दै भनेँ, ‘घर, काम, बच्चा, बिरामी बुढा! म एक्ली मान्छे कताकता भ्याऊँ? भोकै बसेपछि त म आफैँ कमजोर हुन्छु नि! मलाई त यी ब्रततीर्थ भनेको कानो गोरुलाई औँसी र पूर्णेजस्तै भाको छ, दिदी!’
उनले सम्झाउँदै भनिन्, ‘हेरहेर, बोलेकी! घरमा लोग्ने सधैँ भने जस्तो ओछ्यानमा परेका छन्। उनको दीर्घायुको लागि पनि व्रत बस्नुपर्छ नि!’
म चूपचाप लागेर पसल छिरेँ। किनमेल गरेँ। उनी मेरैपछि लागिरहिन्। घर आउनै लागेको थियो।
उनले कुरा कोट्याइन्, ‘आफ्ना पितापुर्खाले चलाएका धर्म, संस्कार हामीले छोड्नु हुन्न है,बहिनी!’
आफूलाई चाहिँ उनीसँग तर्क, विवाद गर्न मन थिएन तैपनि औषधिका पोका देखाउँदै प्वाक्क बोलेँ, ‘दिदी, बिरामी बुढालाई महिनाभरि खाने यी दबाई चाहिने हो कि मेरो ब्रत!’
३) साथी
विद्यालयबाट फर्किएपछि रोहणले पढ्ने टेबलभरि किताब फिँजायो र खुरुखुरु गृहकार्य गर्न थाल्यो। लेख्दा लेख्दै झमक्क साँझ पर्यो।
उसले आमालाई सोध्यो, ‘आज बाबा कतिबेला आउने हो?’
आमाले मायालु भावमा भन्नुभयो, ‘बाबा त आज सधैंभन्दा अलि ढिलो आउने रे! बाबु आज खेल्न नगएर किन बाबा खोजेको?’
उसले हैरान हुँदै भन्यो, ‘आज म खेल्न जाँदिन, आमा। गृहकार्य धेरै छ। एउटाचैँ अलि गाह्रो छ, बाबालाई सोधेर मात्र गर्नुपर्छ।’
आमाले छोराको कपाल सुमसुम्याउँदै भन्नुभयो, ‘कठैबरा १/५ कक्षा पढ्ने बाबुलाई पनि मिस सरले कत्ति धेरै र गाह्रो काम दिएको होला? म भोलि विद्यालयमा कुरा गर्छु है त!’
ऊ अलि डरायो र भन्न थाल्यो, ‘नाइँ, नभन्नु आमा नत्र म विद्यालय जान्न। तपाईजस्तै घरमा बसेर घरकै काम गर्छु।’
आमा उसको हाउभाउ देखेर हाँस्नुभयो र भन्नुभयो, ‘ल तिम्रो गृहकार्य सकेर बाबा नआउन्जेल आराम गर। म भात पकाउन जान्छु है त! ऊ आमा पछिपछि भान्सामा गयो। आमाको मोबाइल माग्यो। उहाँ सशंकित हुनुभयो।
‘कतै दुरूपयोग त गर्दैन?’
मोबाइल लिएर ऊ आफ्नै कोठामा आयो। आफ्नै तालमा मक्ख पर्यो। निकैबेरपछि आमा आएर भन्नुभयो, ‘ल बाबा आउनुभयो। पहिला गृहकार्य छिटो छिटो सकाऊ अनि खाना खानुपर्छ।’
उसले तत्कालै जवाफ फर्कायो, ‘अब सिकाउनु पर्देन। मैले गरिसकेँ बरू खाना खाऔँ। निन्द्रा लागिसक्यो।’
आमा छक्क पर्नुभयो र सोध्नुभयो, ‘गाह्रो छ भन्थ्यौ, कसरी गर्याै त?’
उसले खुसी हुँदै भन्यो, ‘आमाको फोनमा भएको गुगल साथीको सहयोगले सकाएँ नि!’
४) राजनीति
‘साँपसाँप!’ भुँराहरू पोखरीमा छट्पटाएर हारगुहार गर्न थाले। उनीहरूको जीवनलीला समाप्त हुँदै थियो। आफ्ना सन्तानहरू नासिएको देखेर वयस्क माछाहरू ठूलो चिन्तामा परे।
एउटाले सुझायो, ‘ठूलो माछालाई खवर गरौँ? आखिर हामी सबैको रक्षक उनी नै हुन्।’
कसै गरेर उनीहरू ठुलो माछाकोमा पुगे। ऊ शानसँग सत्ताको कुर्सीमा विराजमान थियो। उनीहरूले समस्या राखे।
सुन्नासाथ ऊ तात्तियो, ‘पोखरीमा सुरक्षाका सबै तरिका अपनाइएको छ तर सर्पहरू कसरी छिरे?’
वयस्कहरू निरीहझैँ चूपचाप बसे। उसले हुकुमी पाराले आदेश गर्याे, ‘जाओ, पत्ता लगाओ।’
उनीहरू सुराक पत्ता लगाउन त खटिए तर सफल भएनन्।
ठूलो माछा रन्किएर उनीहरूको झाँको झार्दै भन्यो, ‘यत्ति सानो काम गर्न सक्दैनौ? भोलि मेरो अवसानपछि पोखरीमा शासन कसरी गर्छौ?’
ठूलो माछा आफै मैदानमा उत्रियो। केहीबेरमै साँपहरू पोखरीबाट गायब भए। भुरा र वयस्क सबै माछा खुसी भए। संकट मोचन गरेकोमा उनीहरूले जयजयकार गरे। ठूलो माछा भने मुसुमुसु हाँसिरहेको थियो।
ठूलो माछाको सबै क्रियाकलाप हेरिरहेको एउटा माझीले सोच्यो, ‘सत्ता बचाइराख्न प्रतिद्वन्दीसँग कसरी मेलमिलाप गर्नुपर्छ भन्ने कुरा यी आलाकाँचाहरूलाई के थाहा?’
५) आक्रान्त
रामु एक्लै फत् फतायो, ‘केके को भार धानोस्? यो धरतीले पनि! उड्ने र गुड्नेको हल्लाले मेरो कान नै पाकिसक्यो।’
आमाले कराउनुभयो, ‘खाना खानु परेन? कलेज जान ढिलो पनि भएनछ कि?’
उसले आमा नजिक गएर भन्यो, ‘अलि बिस्तारै बोले हुन्न, आमा? पढन बसेको चारैतिरको हल्लाले कान बन्द, दिमाग शून्य भैसक्यो। यो तालले त म परीक्षामा असफल हुन्छु होला।’
‘व्यस्त सहरको बीचमा, सडकको छेउमा घर बनाएपछि यस्तै हो, बाबु! बानी पर्नुपर्छ। सबै सहज हुन्छ नि!’ आमाले सम्झाउनुभयो।
रामु झनक्क भयो, ‘वातावरण प्रदूषण, गरिबी, कमिशन, भ्रष्टाचार, प्राकृतिक प्रकोप, सामाजिक र राजनीतिक विकृति केके मा बानी पर्नुपर्ने हो कुन्नि?’
प्रकाशित: ५ वैशाख २०८२ १३:०० शुक्रबार





