गोरखाले नेपालको विशेष इतिहास बोकेर बसेको छ। गोरखाको यात्रा मेरो पहिलो हो। २०५२ सालमा एक महिना आँबु खैरेनी बस्दा पनि जान सकेकी थिइनँ गोरखा दरबार। हरेक कुराको समय आउँछ भन्छन्।
गाडी आफ्नै रफ्तारमा गुडिरहेको छ। मेरो मनभरि अतीतको गीत अनुगुञ्जित भएको छ। समयले लामो फड्को मारे पनि मेरो मन उस्तै छ। आँबु खैरेनी पनि उस्तै देख्छु तर त्यो समय छैन। फरक छ अहिलेको मेरो जीवन। वास्तवमा हामी बाँचेको भनेको त समय पो रहेछ। जुन समय बगिरहरको छ निरन्तर।
गीता रेग्मी दिदीले घरबाट काटेर ल्याएको सलाद बाँड्दै हुनुहुन्छ गाडीभित्र। गोरखाको भूमिमा हामी सलाद चपाउँदै गुडेका छौं। अहिले मेरा आँखा बसभित्र बस्नै मान्दैनन्, बाहिर फाल हाल्छन्। पहाडको टाकुरामा सहर देखिन थाल्यो। घरहरू, बजारहरू आउँदै स्वाट्ट स्वाट्ट जान थाले। सल्लाको जंगल। पहाडका तरेली। विविधता बोकेको खोँच।
पहाडकी सुन्दर रानी रहिछन् गोरखा त। परपर देखियो गोरखा बजार। पहाडको टुप्पोमा पो देख्दैछु झुरुप्प परेको बस्ती। तरेली परेको पाखोमा घरहरू टल्किन थाले। घरहरू लड्लान् कि जस्तो देखियो। अचानक २०७२ सालको भुइँचालो आँखाअगाडि नाच्न थाल्यो। अगाडि गोरखाकी बुहारी गीता दिदी बस्नुभएको छ। मैले हतारिँदै सोधेँ, ‘दिदी, हामी बारपाक पनि पुग्छौँ?’ दिदीले भन्नुभयो, ‘अहँ उ तलैको बाटोबाट बारपाक जाने हो।’ झ्यालबाट चियाउन खोजेँ बारपाक जाने बाटो। गाडी बत्तियो।
हुरुरु स्मरणमा आयो २०७२ को त्यो विनाशकारी भूकम्प। काठमाडौं त त्यसरी हल्लिएको थियो भने यहाँको जमिन झन् कसरी हल्लिएको थियो होला? मनको वेग थामिसक्नु छैन। हैट ! मनमा कुरा पनि कति नाचेका ? घरी भुइँचालोमा हल्लिएका घरहरू देख्छु, घरी त्यो दिनको त्रासले कराएका मान्छेहरूको अनुगुञ्जन सुन्छु। डर, आतङ्क र हतासमा कराएका समूह देख्छु।
मन निकै विचलित भएपछि भारती दिदीको खल्तीबाट चुइगम झिकेर चपाउन थाल्छु। दाँतले काम पाएपछि जिब्रो पनि रसिलो भयो अनि बल्ल भुइँचालोको पराकम्पन रोकियो।
अर्जुन विनयी भएर श्रीकृष्णलाई भनेका थिए रे, ‘हे केशव, बरु म सियोले भूमि खनेर पानी निकाल्न सक्छु तर मनलाई वशमा राख्न सक्दिनँ।’ मेरो हालत पनि अर्जुनमय भएको छ। मनमा एकपछि अर्को कुरा उब्जिन्छ। फेरि अहिले आँखामा नाच्न थाले हँसिला, रसिला अनि ऊर्जाशील उज्याला पृथ्वीनारायण। म सोच्न विवश हुन्छु, कसरी हिँड्थे होलान् यो विकट भूमिमा ? कसरी एकीकरणको अभियानमा यी भीमकाय पहाडहरू पार गरे होलान् ? कल्पँदै छु पृथ्वीनारायण शाहको एकीकरण युग।
हामी गोरखा बजारमै पो आइपुगेछौं। हाम्रो स्वागतमा निवर्तमान नगर प्रमुख विश्वम्भर कट्टेल सर गोरखा इन होटलअगाडि उभिइरहनुभएको छ। हृदय नतमस्तक भयो। अभिवादनमा हामी केहीबेर उभियौं। अनि सबै स्रष्टा पदयात्रीहरू हुरुरु होटलभित्र प्रवेश गर्यौं। हाम्रो बसोबासको व्यवस्था यहीं गरिएको छ। आँखाहरू उत्सुक बालकझैं भएका छन्। लाटिएकी छु। अलि अलि गाडी पनि लागेको छ।
मलाई गाडीको नसा लाग्छ। हिँड्दा ढुनुमुनु पनि हुन्छु। चारैतिर हेर्दैछु गोरखाको भूगोल। होटलबाट पर परसम्म देखिन्छन् गोरखाका बस्ती। डाँडै डाँडामा बसेको रहेछ गोरखा। अघि तलको बस्तीबाट हेर्दा गोरखा बजारका सबै घर पाखाभित्तोमा देखिएका थिए। अहिले त यहाँ आएपछि सबै सम्म देख्दैछु। अघि तल सम्मबाट देखेको ठाउँ अहिले यहाँबाट उतातिर हेर्दा पो पहाडको टुप्पा देखिन्छ त। हाम्रो पहाडको यो नै विशेषता हो। कति रहस्यमयी छन् हाम्रा पहाड। कति सुन्दर छन् यी विमुग्धकारी पहाडहरू।
होटलमा सामान थन्क्याएर अब हामी हिँड्दै छौं ठुलो आँगनतिर। आज कार्यक्रम आयोजना गरेको छ सिङ्गो गोरखाले। स्थानीय सरकार हाम्रो स्वागतमा उभिएको देखेर लेखनपठनप्रति अझ रुचि र जाँगर पलाउँदै पो आएको छ। आनन्दले भरिएकी छु। वरिपरि नाचेका छन् मेरा नयनहरू। बसपार्कबाट देखियो माथि डाँडामा गोरखा दरबार। जहाँ पृथ्वीनारायण शाहको जन्म भएको थियो। म झसङ्ङ भएँ। औंला ठड्याएर भन्दै थिए पृथ्वीनारायण, ‘साना दुःखले आज्र्या मुलुक होइन, सबैलाई चेतना भया।’
मैले पृथ्वीनारायणलाई नमन गर्दै भनेँ, ‘यो सिङ्गो मुलुकमा बस्ने विवेकी मान्छे अहिले खण्ड खण्डमा विभक्त भएका छन्। राष्ट्रियता, मानवताको खडेरी परेको छ। नेपालीहरू एकतामा रमण गर्न चाहँदैनन्। यो सिङ्गो नेपाल सजिलै प्राप्त भएको हो भन्ने ठान्छन्। खण्ड खण्डमा विभक्त भूमिलाई एक बनाउन तिमीले गरेको संघर्षलाई किन बिर्से तिम्रा सन्तानले ?’
प्रश्निल आँखाले पृथ्वीलाई हेर्दै थिएँ। उनी मुसुक्क हाँसेर पुनः बोले, ‘खण्ड खण्ड भएका मानव हृदयलाई एकताको सूत्रमा बाँध्ने अभियानमा हामी लागेका छौं। भूएकता सँगसँगै राष्ट्रियता र मानवता अपरिहार्य रहेछ। सहअस्तित्व अनिवार्य रहेछ। मानवतासहितको एकता मात्र पृथ्वीमा दिगो र सत्य रहेछ भन्ने बोध गराउन भर्खरै हामीले कोरोना पठाएका थियौं तर पनि अटेरी मान्छेले बिर्सिए।
माया, प्रेम, करुणा, संवेदना, सहयोग, सद्भावजस्ता मानवीय गुणले परिपूर्ण मानव निर्माण गरेर राष्ट्रिय एकताको सूत्रमा बाँध्न अब चाँडै अर्को दिव्योपदेश लेख्दै छु। नानी, तिमीलाई गोरखामा स्वागत छ। आज त आउन सक्दिनौ होला। भोलि माथि दरबारमा तिमीसँग नजिक बसेर कुरा गरौंला।’ पृथ्वीनारायण हेर्दाहेर्दै डाँडातिर ठमठम हिँडे। म सतर्क भएँ भ्रान्तिको कोलाजमा केहीबेर हराएकी पो रहेछु।
ढुङ्गा छापेको बाटोबाट हामी उकालिँदै छौं। इतिहास बोकेर बसेको गोरखा मुस्कुराएको आभास हुन्छ। बोटबिरुवा नवयौवना लाग्छन्। डाँडापाखा स्वच्छ देखिएका छन्। वसन्तको आगमनमा अङ्कुराएका आरु, आँप र लिचीहरू उमङ्गित छन्। सम्पूर्ण वातावरण उत्साहमय देखिएको छ। बोटबिरुवाहरूबाट आएको फूलको सुगन्ध बडो सुवासिलो भएर गोरखाको आँगनभरि फैलिएको छ।
हामी पोखरी थोकमा उभिएका छौं। आँखाअगाडि देखियो रानीपोखरी। पोखरी सफा थिएन। वरिपरि झ्याउ उम्रेको देखियो। छेउमा बडो आकर्षक मन्दिर देखेर हाम्रा गोडाहरू मन्दिरतिर तानिए। आकर्षक यो मानेमा कि गुम्बज आकारमा राजपुत शैलीमा निर्माण गरिएको मन्दिर रहेछ।
राम शाहले बनाउन लगाएका हुनाले यो मन्दिरको नाम रामेश्वर महादेव रहन गएको रहेछ। मन्दिरको गर्भ गृहमा जलहरी र शिवलिङ्ग पक्कै ध्यानस्त होलान्। मन्दिरअगाडि ठुलो ढुङ्गाको स्तम्भ छ। ५० फिट अग्लो स्तम्भ एउटै ढुङ्गाले बनेको जानकारी पाउँदा अचम्मित भएकी छु। स्तम्भको टुप्पामा पृथ्वीनारायण शाहका जिजुहजुरबुबा विराजमान हुनुहुन्छ।
पृथ्वीपति शाह आफैंले आफ्नो सालिक निर्माण गरेको इतिहास रहेछ। पृथ्वीपति शाहले निकै लामो समय शासन सम्हालेका थिए। काँसको धातुबाट पृथ्वीपति शाहको सालिक स्तम्भको शिरमा विराजमान देखियो। यो स्तम्भ १६९३ सालमा निर्माण गरिएको रहेछ। मन्दिरभित्र चियाएर हेर्यौं। सानो सानो प्वाल भएको ढोकाबाट ‘ओम नमो शिवायः’को मन्त्र उच्चारण गर्दा मन्त्र बडो सुन्दर तरिकाले अनुगुञ्जित भयो।
चारैतिर घुमेर हेरिकी छु। निमेषभर पनि बन्द भएका छैनन् आँखा। शिव मन्दिरको अर्को भागतिर जेष्ठ नागरिकहरूको दिवा कार्यक्रम हुँदै छ। अलि माथि गणेश मन्दिर पनि रहेछ। त्यहाँ पनि परिक्रमा लगाएर आएँ। ढुङ्गेछाप बाटो हुँदै ठुलो आँगनमा पुगियो।
कार्यक्रम सञ्चालनको तयारी हुँदै छ। आँगनमै देखेँ पृथ्वीनारायण शाहको भव्य सालिक। नजिकै गएर हेरेँ। ओहो! यो मूर्तिको मुहार त फरक किसिमको रहेछ। मलाई त मूर्तिमा कता कता जङ्गबहादुरको छाया पनि सलबलाएको आभास भयो। मैले देखेको पृथ्वीनारायण शाहको ह्यान्डसम मूर्तिभन्दा निकै फरक।
अनि झट्ट दिमागमा आयो ‘बहिनीको आँखामा अमर चित्रकार’ पुस्तक। २०२५ सालपछि अमर चित्रकारले बनाएको पृथ्वीनारायण शाहको सुन्दर तस्बिर मेरो चिनारीमा थियो। मैले पढेको किताबको पाना सरर पल्टिन थाले।
ताल्कालिक दरबारभित्रका धनशमशेरको तन्त्र विद्या स्मरण भयो। उनी दरबारका ठुला तान्त्रिक रहेछन्। पृथ्वीनारायण शाहको अहिले हामीले देखिराखेको जुन तस्बिर छ, त्यो कसरी कोरियो भन्ने पाना पल्टियो। २०२५ सालभन्दा अगाडि पृथ्वीनारायण शाहका तीनवटा तस्बिर निर्माण भएका थिए रे। त्यो पनि अलग अलग मुखाकृतिका। सायद यो सालिक पनि पुरानो हो कि ? जब अमर चित्रकारले ह्यान्डसम पृथ्वीनारायण शाह बनाए, तब मात्र पृथ्वीनारायण शाहको अनुहारमा एकरूपता आउन थालेको रहेछ।
थाहा छ, त्यो चित्र कसरी निर्माण भएको हो ? धन शमशेर साधनामा बसेको बेला शाहकालीन राजाहरूको सजीव छाया उनको मस्तिष्कमा अवतरित हुँदा रहेछन्। अनि धन शमशेरले आफ्नो मस्तिष्कमा आएका पृथ्वीनारायण शाहको छविलाई व्याख्या गरेर अमर चित्रकारलाई सुनाउँदा रहेछन्। त्यही आधारमा अमर चित्रकारले यस्तो जीवन्त चित्र बनाएका रहेछन्।
शाहकालीन राजाहरूका जीवन्त चित्रहरू यसैको प्रतापले निर्माण भएको रहेछ भन्ने जानकारी दिएर पुस्तकका पाना हाँसिरहे। यतिखेर मलाई बडो लोभ लाग्दै छ। अहिले यो समयबाट पृथ्वीनारायण शाहको समय मैले पनि हेर्न सके? आहा! सोच्दै मेरो सम्पूर्ण शरीर उत्साहले भरियो। मनभरि गोरखाको इतिहास चलमलाउन थाल्यो।
प्रकाशित: ३० चैत्र २०८१ १०:१४ शनिबार





