१० वैशाख २०८२ बुधबार
image/svg+xml ८:२ पूर्वाह्न
कला/संस्कृति

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौ संस्करण सम्पन्न

चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौ संस्करण सम्पन्न भएको छ।

विमोन्स एरा मिडिया ग्रुप प्रालि नेपालको प्रस्तुति रहेको यो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ थाइल्याण्डको बैंकक र नेपालको काठमाडौंमा भएको हो।

केही दिनअघि थाइल्याण्डको बैंककमा विशेष समारोहबीच भएको अवार्ड काठमाडौंमा पनि एक विशेष कार्यक्रमको आयोजना गरी समापन भएकाे छ।

विभिन्न कारणले थाइल्याण्डमा नगएका स्रष्टा सर्जकलाई आयोजकले काठमाडौंमा विशेष कार्यक्रम गरी सम्मान तथा अवार्ड अर्पिएको हो।

बैंकको कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्य र थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्य तथा थाइल्यण्डमा विभिन्न क्षेत्रमा काम गर्दै आएका अन्य व्यक्तित्वको अतिथिमा कार्यक्रम भएको थियो भने नेपालमा पूर्वप्रहरी प्रमुख एवं सामाजिक अभियन्ता सर्वेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको विशिष्ट आतिथ्यमा अवार्ड समारोह भएको थियो।

कार्यक्रममा वरिष्ठ सर्जक खड्ग गर्बुजालाई दीर्घसाधना सम्मान अर्पिएको थियो। उनलाई नगद राशिसहित दीर्घ साधना सम्मान अर्पिएको थियो। ८ सयभन्दा धेरै गीत गाएका गर्बुजाका धेरै गीत लोकप्रिय छन्। उनले कार्यक्रममा आफ्ना भनाइ राख्दै गीत गाएका थिए। उनले हिृवलचेयरमा चढेर देशविदेशका मञ्चमा माइक समाउन पुग्ने आफू नेपालको पहिलो गायक भएको र उक्त सम्मानले जिम्मेवारी थपेको बताए।

समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौड्याल, म्यूजिक खबरका सुमन वैरागी र रिना श्रेष्ठलाई पत्रकारिता सम्मान अर्पिएको थियो। गायिका शोभा पाण्डे, फेशन डिजाइनर विभूषित रिमाल र राजु भट्टराईलाई सम्मान अर्पिएको थियो।

बैंककमा निर्देशक केशव कोइरालाले ‘जूनको किरण’ पप गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड, जीवन शर्माले ‘सुने मैले’ गीतबाट संगीतमा जुरी अवार्ड र बैंककमा ‘माया गर्‍यौ’ बाट राज लुईंटेलले नव मोडल लोक पपको पव्लिक च्वाइस अवार्ड पाएका थिए।

त्यस्तै राजु शेर्माले आधुनिक गीत ‘कालो प्रकाश’ सर्वोत्कृष्ट मोडल र मुकेश गुरुङले ‘तिमी बिना’ पप मोडलबाट सर्वोत्कृष्ट नव मोडलको अवार्ड, भिडियो सम्पादनमा पुजन लामिछानेले ‘दशैं आयो’ गीतबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड र मञ्जु लावतीले ‘आम्बि’ (पालम) गीतबाट सर्वोत्कृष्ट भाषाभाषीको अवार्ड पाएका थिए।

त्यसैगरी, मोडल पप आधुनिकमा नारायण विश्वकर्माले ‘आफ्नै स्वार्थ’बाट सर्वोत्कृट अवार्ड, शिला गजुरेलले ‘चुपचाप’ गीतबाट सर्वोत्कृष्ट अवार्ड, ईश्वरी बरालले ‘नैना रेशम’ गीतबाट सर्वोत्कृष्ट आधुनिक गायिकको अवार्ड, पूजना काफ्लेले ‘चुपचाप’ गीतबाट जुरी अवार्ड र विराज बास्कोटाले ‘कालो प्रकाश’ बाट आधुनिक गीत पुरुष मोडलको अवार्ड पाएका थिए।

नेपालमा भएको समारोहमा गायक चेतन राईले पप गीत ‘घुम्दै जादा’, टेक विसीले ‘नजरमा नजर’ पप मोडन, सूर्य कश्यपले ‘हाँसो खुसी’ आधुनिक गीत संगीत, रिदम कँडेलले ‘तिम्रो याद’ संगीत संयोजन, माधव भण्डारीले ‘यस्तै रित हो’ लोक तथा दोहोरी गायक र हरिभक्त बुढाथोकीले आधुनिक गीत ‘नजरमा नजर’बाट सर्वोत्कृष्ट गीतकारको अवार्ड पाएका थिए।

यस्तै नारायण भारतीले ‘झुटो बोल्दैन’ गीतबाट पप मोडन गीतकारको सर्वोत्कृष्ट अवार्ड, भीम बिसीले ‘रिती जाने’ गीतबाट पप मोडन संगीतको सर्वोत्कृष्ट अवार्ड, आरके विवशले ‘विदेशी संस्कार’ गीतबाट नव गायकको सर्वोत्कृष्ट अवार्ड र कृष्ण वमले ‘साइला दाई’ गीतबाट सर्वोत्कृष्ट लोकपप नव मोडलको पाएका थिए।

नेपालमा भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलाकार लय संग्रौला, वरिष्ठ गायिका देवीका वन्दना, वरिष्ठ गायक सीताराम प्रोखेल, गीतकार तथा पत्रकार शान्तिप्रिय, जिनियश म्यूजिकका अध्यक्ष रमेश पाठक लगायतले अवार्ड प्रदान गरेका थिए।

थाइल्यण्डमा भएको कार्यक्रमको सहजीकरण मिलापका सम्पादक कृष्ण भुसाल र नेपालमा भएको कार्यक्रमको निर्देशक माधव खरेलले सहजीकरण गरेका थिए।

विदेशी भूमि र मातृभूमिमा कलासंस्कृतिका सर्जकको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउँदै अवार्ड संयोजक गीता अधिकारीले नेपाली कला संस्कृति नेपाल बाहिर परिचत गराउनु र कला संगीतका सर्जकलाई उनीहरूको सिर्जनाको सम्मान गर्ने उद्देश्यले कार्यक्रम गरेकाे बताइन्।

मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूले गीतसंगीतका सर्जकको सम्मानका लागि हिमालयन अन्तर्राष्ट्रिय अवार्डले गरेका कार्यको सराहना गरेका थिए। 

प्रकाशित: २५ चैत्र २०८१ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App