नेपथ्यले दुई वर्षपछि काठमाडौं उपत्यकामा नेपथ्यले कन्सर्ट गर्न लागेको छ। यसअघि २०७९ पुसमा नेपथ्य भृकुटीमण्डपमा प्रस्तुत भएको थियो।
नेपथ्यले आउने साता गोकर्णेश्वरमा ब्यान्ड प्रस्तुती दिने तयारी गरिरहेको छ। मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ भन्छन्,'यसै चैत ३० गते शनिबार गोकर्णेश्वरको कन्सर्टमा नेपालभित्रका दर्शकसँग जम्काभेट हुनेछ ।'
कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोकनजिकै खुला मैदानमा हुनेछ । यसलाई स्थानीय तन्नेरीहरूको समूह 'ग्राउन्ड अफ इभेन्ट्स' ले प्रस्तुत गर्न लागेको हो ।
'काठमाडौँ उपत्यकाका नगरपालिकाहरू जनसंख्याका हिसाबले नेपालका अरू धेरै सहरभन्दा ठूला छन् । यी ठाउँमा पनि छुट्टै कार्यक्रम हुन सक्छ भन्ने अध्ययन गर्दै थियौं, गोकर्णेश्वरको प्रस्ताव आयो,' नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्,'विदेशका आधुनिक र प्रविधिसम्पन्न हलहरूको अनुभव लिएर आएको ब्यान्डलाई गोकर्णेश्वरका दर्शकमाझ पनि उत्तिकै स्तरमा उभ्याउने तयारीमा लागेका छौं ।'
प्रकाशित: २५ चैत्र २०८१ १२:०५ सोमबार