३१ चैत्र २०८१ आइतबार
image/svg+xml १६:१६ अपराह्न
कला/संस्कृति

एक कप चिया

लघुकथा

अफिसबाट घर आइपुगेको थिएँ। मूलढोका अगाडि टक्क अडिएँ। कारण थियो घरभित्रको अजीवको संवाद। जुत्ता खोल्नुअघि बाहिर उभिएरै एकछिन कान थापेँ।

 “हावा कुन दिशामा चलेको छ त्यो पत्ता लगाउन एकदमै जरुरी छ” यो मेरी श्रीमतीको आवाज थियो।

“होहो… हावा चलेकै दिशातिर आफ्नो शक्तिलाई केन्द्रित गर्न सकियो भने आधा शक्ति मात्रै खर्च हुनेछ” मेरी आमाको आवाज पनि प्रष्ट चिनिहालेँ।

“त्यसो हो भने तपाईंहरू दायाँबायाँ कुनाहरूमा फैलिनुस्, म बीचको मोर्चा सम्हाल्छु। र जब हावा तेज हुनेछ। हामी एकैसाथ हावाको दिशातिर अघि बढ्ने छौं।” ठूली छोरीको आवाज झनै संकल्पित सुनियो। अरू धैर्यधारण गर्न नसकेर ढोका खोलेर भित्र छिरेँ। बैठक कोठामा आमा, श्रीमती र ठूली छोरी हातहातमा झाडु लिएर तैनाथ थिएँ। पल्लो कुनाको सोफामा बसेर ठूलो छोरो भिडियो खिच्दै थियो।

बुझिहालेँ यहाँ सासू, बुहारी र नातिनातिनीको टिकटक छायांकन चलिरहेको रहेछ र मलाई पूरा विश्वास थियो कि यो गह्रौंगह्रौं संवाद बोल्न लगाएर झाडु लगाएको दृश्य खिच्ने उटपट्याङ दिमाग मेरै ठूलो छोराको हुनुपर्छ।

एकमन त बेस्सरी रिस पनि उठेर आयो तर केही नबोली सरासर आफ्नो कोठातिर लम्किएँ। दिन यति धेरै व्यस्त भइदियो कि चिया पिउने फुर्सद समेत भएन आज। पूरै दिनभर चियाको तलतल लागिरह्यो। अब यो घरमा कोही छ त मलाई एक कप चिया पिलाउने?

प्रकाशित: २४ चैत्र २०८१ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App