हरितालिका तीज पर्व-२०८३ का अवसरमा पशुपतिनाथ मन्दिर तथा आसपासको क्षेत्रमा दर्शनार्थीहरूको सुरक्षाका लागि करिब २ हजार ५ सय प्रहरी जनशक्ति परिचालन गरिएको छ।
भक्तजनको ठूलो भीडलाई मध्यनजर गर्दै समग्र सुरक्षा व्यवस्थापन तथा आवश्यक तयारी पूरा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन कुल जनशक्तिलाई दुई सिफ्टमा विभाजन गरिएको छ। प्रत्येक सिफ्टमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा करिब १ हजार २५० जना प्रहरी खटिने व्यवस्था मिलाइएको छ।
सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनको प्रभावकारी अनुगमन, निर्देशन र समन्वयका लागि आइतबारदेखि नै पशुपति क्षेत्रमा छुट्टै कमान्ड पोस्ट स्थापना गरिएको छ।
समग्र सुरक्षा परिचालन तथा व्यवस्थापनको कमान्ड जिल्ला प्रहरी परिसर, काठमाडौंका अपरेसन कमान्डर प्रहरी नायब उपरीक्षकले सम्हाल्नेछन्। सुरक्षा व्यवस्थाको उच्चस्तरीय अनुगमन तथा आवश्यक निर्देशन भने प्रहरी उपरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकबाट हुने व्यवस्था गरिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले सम्बन्धित तालुक कार्यालयहरूको समन्वय र सहकार्यमा यो विशेष सुरक्षा योजना लागू गरेको हो।
दर्शनार्थीहरूको सहज आवागमन, भीड व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, चोरी तथा पाकेटमारी नियन्त्रण, ट्राफिक व्यवस्थापन, आकस्मिक उद्धार तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कमान्ड पोस्टबाट चौबीसै घण्टा निगरानी गरिनुका साथै संवेदनशील स्थानहरूमा सीसीटीभी क्यामरा जडान गरिएको छ।
सूचना प्रवाहका लागि पब्लिक सर्भिस अनाउन्समेन्ट (पीएसए), हराएका व्यक्ति तथा बालबालिकाको खोजतलास गरी पारिवारिक पुनर्मिलन गराउने डेस्क तथा प्राथमिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविरको समेत व्यवस्था मिलाइएको छ।
भीडभाडमा हुन सक्ने सम्भावित चोरी, पाकेटमारी तथा अन्य आपराधिक गतिविधि रोक्न उल्लेख्य संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
सुरक्षा अवस्थाको निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार थप मद्दत टोलीसमेत परिचालन गर्न सकिने प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले पशुपतिनाथ दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आफ्नो, आफन्तजन तथा साथमा रहेका सामान-सामग्रीको सुरक्षामा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
दर्शनका क्रममा कुनै समस्या आइपरेमा नजिकैको प्रहरी हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गर्दै प्रहरीले सभ्य, सहयोगी र सौहार्दपूर्ण वातावरणमा तीज पर्व मनाउन सम्पूर्णमा अपिल गरेको छ।
प्रकाशित: २८ भाद्र २०८३ २१:४५ आइतबार





