२८ भाद्र २०८३ आइतबार
image/svg+xml
अर्थ

आयल निगमले भन्यो: ग्यासको अभाव छैन, नआत्तिनू

नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको बताउँदै उपभोक्ताहरूलाई नआत्तिन र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।

मुख्य राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक मार्गमार्फत काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा दैनिक औसत ४० हजार सिलिन्डर ग्यास नियमित आपूर्ति भइरहेको निगमले जनाएको छ।

निगमका अनुसार भदौ २८ गतेसम्म ५२ हजार ७३७ मेट्रिक टन अर्थात् ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबरको एलपी ग्यास नेपाल आयात भइसकेको छ।

यसका साथै इन्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टहरूबाट सेप्टेम्बर १० सम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोड भइसकेको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको पहिरोले मुख्य सडक ठप्प भएपछि निगमले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगहरूमा ग्यास रिफिल गरी काठमाडौं पठाइरहेको छ।

भदौ १८ देखि २७ गतेसम्म त्रिभुवन राजपथ र विपी राजमार्ग हुँदै करिब ३ लाख ५९ हजार ५२९ वटा सिलिन्डर भित्र्याएर उपभोक्तालाई वितरण गरिसकिएको जनाएको छ।

गत भदौ १० गतेको विनाशकारी बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई प्राथमिकतामा राखेर ग्यास वितरणको समन्वय गरिएको निगमले बताएको छ।

कृष्णभीरको बाटो खुलाउन गृह मन्त्रालयलगायतका निकायसँग समन्वय भइरहेको र सडक सुचारु हुनासाथ नियमित रुटबाटै ग्यास बुलेटहरू आउने भएकाले आपूर्ति झनै सहज हुने निगमको भनाइ छ।

साथै, सिलिन्डर लुकाउने र कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध गृह मन्त्रालयसँग मिलेर उच्च निगरानी थालिएको छ। अनुगमनका क्रममा लुकाएर राखिएका करिब १ हजार २०० वटा सिलिन्डर नियन्त्रणमा लिएर उपभोक्तालाई वितरण गरिएको र अनियमितता गर्ने बिक्रेताहरूलाई दण्ड-जरिवाना गरिएको निगमले जनाएको छ।

ग्यास वितरणलाई थप पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकासको समेत भइरहेको छ। निगमको तथ्याङ्कअनुसार गत वर्षको भदौ महिनामा कुल ३३ लाख ५५ हजार ९६० सिलिन्डर बिक्री भएकोमा यस वर्ष भदौ २७ गतेसम्ममै ३७ लाख १३ हजार ८९४ सिलिन्डर बिक्री भइसकेको छ।

आपूर्ति प्रणाली चुस्त राख्न उच्चस्तरीय समन्वय टोली गठन गरिएको जानकारी दिँदै निगमका सह-प्रवक्ताले भनेका छन्, ‘आत्तिएर अतिरिक्त सिलिन्डर सञ्चय नगर्नुहोस्। तपाईंले खरिद गर्ने अतिरिक्त सिलिन्डर कुनै अर्को व्यक्तिलाई जरुरी परेको हुन सक्छ, तसर्थ आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न हार्दिक अनुरोध गर्दछौं।’

प्रकाशित: २८ भाद्र २०८३ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App