२८ भाद्र २०८३ आइतबार
image/svg+xml
प्रवास

नेपालको विपत्तिमा नरउडमा बल्यो आशाको दीप

 नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि जन्मभूमिको पीडामा नेपाली समुदाय पनि एकजुट भएको छ। बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै अमेरिकाको म्यासाचुसेट्सस्थित नरउडमा हिमालयन लायन्स क्लब, डिस्ट्रिक्ट ३३के, म्यासाचुसेट्सले शोकसभा तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ।

नरउड टाउन कमनमा आयोजित कार्यक्रममा नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरिएको थियो।

कार्यक्रममा क्लबले विपत्तिमा परेका नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै २ हजार अमेरिकी डलर नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाउने घोषणा गरेको छ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर क्रिष्टिन, डिस्ट्रिक्ट डिग्नेटरिज स्टिभन तथा डा. उषा शर्मा, पूर्व डिस्ट्रिक्ट गभर्नर म्याथु र नरउड टाउन मेनेजर टोनीको विशेष उपस्थिति थियो।

त्यस्तै, प्याबफोनका संस्थापक अध्यक्ष विष्णुमणि आचार्य, निवर्तमान अध्यक्ष विरोचन नेपाल, बोस्टन मेट्रोवेस्ट नेपाली कम्युनिटीका अध्यक्ष सुरेश ढकाल, बीडीए म्यासाचुसेट्स स्टेट कमिटीका अध्यक्ष राम थापा, क्रिएटिभ वुमन ग्रुपकी अध्यक्ष सानु बर्मा, हिमालयन लायन्स क्लबका उपाध्यक्ष विजय शर्मा तथा क्लबका अन्य पदाधिकारी र सञ्चालक समिति सदस्यहरूको सहभागिता थियो। स्थानीय नेपाली तथा अमेरिकी समुदायका विभिन्न व्यक्तित्वको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको नरउड टेलिभिजनले विशेष कभरेज गरेको थियो।

कार्यक्रमको सहजीकरण बीडीए अमेरिकाका केन्द्रीय अध्यक्ष तथा हिमालयन लायन्स क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्तले गरेका थिए।

शोकसभामा हिमालयन लायन्स क्लबका अध्यक्ष थानीरत्न कँडेलले सहभागी सबैलाई धन्यवाद दिँदै नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाएकोमा आभार व्यक्त गरे। उनले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

सोही अवसरमा अध्यक्ष कँडेलले क्लबका सदस्यहरूबाट संकलित रकममा थप सहयोग जुटाएर कुल २ हजार अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा पठाउने घोषणा गरे। उनले जन्मभूमिमा परेको विपत्तिको पीडामा सहयोग र ऐक्यबद्धता जनाउने प्रतिबद्धतासहित दीप प्रज्ज्वलन कार्यक्रमको शुभारम्भ गरे।

दीप प्रज्ज्वलनका क्रममा सहभागीहरूले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरे।

नेपालमा आएको विपत्तिको पीडा सातासमुद्रपारि पनि उत्तिकै अनुभूत भइरहेको सन्देश दिँदै नरउडमा आयोजित कार्यक्रमले नेपाली समुदायको जन्मभूमिप्रतिको आत्मीयता, मानवीय संवेदना र विपत्तिको घडीमा एकजुट हुने भावनालाई उजागर गरेको छ।

प्रकाशित: २८ भाद्र २०८३ २१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App