रेडियो नेपालले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सीमित देउडागीत र संस्कृतिलाई राष्ट्रिय स्तरमा परिचित गराउन सफल लोकसाधक नन्दकृष्ण जोशी र जनवादी गायक रामकृष्ण दुवाललाई पुरस्कृत गरेको छ। रेडियो नेपाल परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै जनालाई ५१ हजार रूपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरेका हुन्।
२००७ चैत २० गते तारणीप्रसाद कोइरालाद्वारा स्थापित रेडियो नेपाल देशको सञ्चार जगत्को जेठो संस्था मानिन्छ। यही पुस महिनादेखि रेडियो नेपाल र टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा एउटै संस्थाका रूपमा गाभिएका हुन्। आफ्नो हीरकजयन्तीको उपलक्ष्यमा रेडियो नेपालले जोशी र दुवाललाई पुरस्कृत गरेको हो।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देउडागीतलाई जनमानसमा पु¥याउन जोशीको योगदान उल्लेख्य रहेको साथै गरिब जनताका दुःखका गीत गाएर समाज परिवर्तन गर्न रामकृष्ण दुवालले महŒवपूर्ण भूमिका प्रदान गरेको बताए।
२०३४ सालदेखि गायक नन्दकृष्ण जोशीले रेडियो नेपालमा सुदूर र कर्णाली प्रदेशका भाका संकलन गरी गीत रेकर्ड गराउँदै आएका छन्। त्यसैगरी ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ गीतमा रामेश–रायनसँगै रामकृष्ण दुवालले पनि स्वर दिएका थिए। नेवारी गीतका जानकार दुवालका धेरै गीत रेडियोमा रेकर्ड भएका छन्। सोही अवसरमा संगीतकारद्वय रत्न बेहासी र रत्ना गुरुङ तथा आधुनिक गीतमा प्रथम, द्वितीय, तृतीय स्थान पाउन सफल कलाकारलाई पनि सम्मान गरिएको थियो।
प्रकाशित: २३ चैत्र २०८१ १२:११ शनिबार